News Summary
Generated by OK AI. Editorially reviewed.- नारायण गोपालले आफ्नो जीवनभर १५० भन्दा कम गीत रेकर्ड गरे, तीमध्ये सबैजसो कालजयी बनेका छन्।
- उनी रेडियो नेपालका स्थायी जागिरे कलाकार थिएनन् तर राष्ट्रिय नाचघरमा बाद्यवादक र महाप्रबन्धकसम्म भए।
- उनले २०२७ सालमा दार्जीलिङकी पेमला लामासँग विवाह गरी भाइहरूको पढाइको जिम्मा पेमलालाई दिएका थिए।
नरायाण गोपाल, नेपाली संगीतको एक अमर नाम । कहिल्यै, कसैले बिर्सनै नसक्ने । नारायाण गोपाल नभइदिएको भए के हुन्थ्यो ? सायद नेपाली संगीतको एउटा अध्याय सधैं अपूर्ण हुन्थ्यो । संगीत कलामा उनको जादुयी उपस्थिति आफैंमा नेपालीको धड्कन बनिदियो । त्यसैले त मुटुको चालजस्तै अविराम धुन बनेर गुन्जिरहे, उनी ।
आज उनी छैनन् । तर, उनको स्वर र स्मृति उत्तिकै ताजा छ । विशेषत: उनको स्वभाव, प्रेम, व्यक्तित्व, संयोग, आरोहअवरोहका विभिन्न प्रसंगहरूको चर्चा भइरहन्छ ।
आज हामी उनीसँग जोडिएका केही रोचक प्रसंगहरूबारे चर्चा गर्दैछौं ।
१. वि.सं. १९९६ असोज १८ गते काठमाडौँको किलागल टोलमा जन्मिएका नारायण गोपालको पूरा नाम नारायण गोपाल गुरुवाचार्य हो । उनका पिता आशा गोपाल गुरुवाचार्य संस्कृतका विद्वान् र सङ्गीतप्रेमी थिए । अर्थात् उनको घरमा नै सङ्गीतको वातावरण थियो ।
२. १२ वर्षको उमेरमा नारायण गोपालले २००८ सालको इन्द्रजात्रापछि काठमाडौँको वसन्तपुर डबलीमा ‘किसान’ नामक नाटक खेलेका थिए । उनलाई नाटकका लेखक रहेका उनका ठूल्दाइ नन्दगोपालले त्यस नाटकमा मौका दिएका थिए ।
३. वि.सं. २०१६/१७ सालतिर पहिलो पटक गीत रेकर्ड गराएका उनले आफ्नो जीवनभर १५० भन्दा कम गीत रेकर्ड गरे । तर, तीमध्ये सबैजसो कालजयी बनेका छन् ।
४. नारायण गोपाल सानो छँदा उनले घरको दलानलाई तबला बनाएर आवाज निकाल्दै गीत गुनगुनाउँथे । उनले प्रायः बिहानपख त्यसो गर्थे । उनको त्यस्तो चर्तिकलादेखेपछि मात्र परिवारका अन्य सदस्यहरूले उनको गायन क्षमताबारे थाहा पाएका थिए ।
५. नारायण गोपाल रेडियो नेपालका स्थायी जागिरे कलाकार थिएनन् । उनी राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) मा बाद्यवादकका रूपमा जागिरे थिए । त्यसै संस्थामा पछि उनी महाप्रबन्धकसम्म भए । रेडियो नेपालमा भने उनले अन्यले जस्तै स्वर परीक्षा दिएर गीत रेकर्ड गरेका थिए । तर, कुनै पनि जागिरबाट राजीनामा दिएर उनी स्वतन्त्र कलाकार बनेनन् । सधैँ स्वतन्त्र रूपमा सङ्गीत सिर्जना र प्रस्तुति गर्दै आए । नाचघरसँग पनि जोडिए । निधन हुनुअघिसम्म उनी नाचघरसँग जोडिइरहेका थिए ।
६. त्रिचन्द्र कलेजमा पढ्दै गर्दा नारायण गोपालले कवि/गीतकार रत्नशमशेर थापासँग संगत गरेका थिए । रत्नशमशेरले लेखेको ‘स्वर्गकी रानी, मायाकी खानी’ गीत रेकर्ड गरेपछि नारायण गोपाल स्थानीय रूपमा मात्र नभई देशभरि प्रख्यात बनेका थिए । उक्त गीत हिट हुनु उनको सांगीतिक यात्राको पहिलो ठूलो सफलता थियो ।
७. एक समय रेडियो नेपालका निर्देशकसँगको चर्काचर्कीपछि नारायण गोपालले ‘रेडियो नेपालमा खुट्टै टेक्दिनँ’ भन्दै कसम खाएका थिए । तर, वासुदेव मुनालले २०३४ सालको आधुनिक गीत प्रतियोगितामा उहाँलाई निर्णायक बनाउनुपर्छ भन्ने जिद्दी लिएर उपनिर्देशकबाट स्वीकृति लिएपछि दुई दिनको अथक खोजीपछि इन्द्रेणी रेस्टुराँमा भेटेर उनलाई मनाएका थिए ।
८. नायारण गोपालले आफ्नो विवाह दार्जीलिङकी पेमला लामासँग २०२७ सालमा दार्जीलिङबाटै गरेका थिए। विवाहपछि उनले आफ्ना भाइहरू राम र लक्ष्मणको पढाइको जिम्मा पेमलालाई दिए । किनकि पेमलाको अङ्ग्रेजी राम्रो थियो ।
९.एक फेर नारायण गोपालले राति १२ बजतिर फोन गरेर दीप श्रेष्ठ, विश्वम्भर प्याकुरेल र कमलमान सिंहलाई हतार-हतार घर बोलाएका थिए । त्यसको कारण चाहिँ उनले भर्खरै तयार पारेका गीत सुनाउनु थियो।
१०. २०१८ सालतिर खिचापोखरीको एक रेकर्डिङ स्टुडियोले ‘जाग, लम्क, चम्क हे’ गीतको संगीत कम्पोज गरेबापत पारिश्रमिक दिन आलटाल गरेको थियो । त्यस कुराले नारायणगोपाल रिसाए । र, उक्त स्टुडियोमा रहेको हार्मोनियम बोकेर हिँडे । पारिश्रमिक लिए पछि उनले हार्मिनियम फिर्ता दिएका थिए ।
११. गम्भीर बिरामी भएर वीर हस्पिटलमा भर्ना हुँदा समेत नारायणगोपालले आफ्नो रुचिको खानेकुरा खान छाडेनन् । एकपटक उनको स्वीटर खोल्दा चुरोटको बट्टा भुइँमा खसेको थियो । उनी साँझ परेपछि अस्पतालको एउटा ढोकाबाट मेनरोडतिर लुकेर निस्किने र गल्लीमा पसेर मजाले रक्सी पिएर फेरि बेडमै आएर सुत्थे ।
प्रतिक्रिया 4