News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी २.० कर्णालीका युवाहरूले वीरेन्द्रनगरका मुख्य चोकहरूका खाल्टाखुल्टी पुर्ने अभियान सुरु गरेका छन्।
- युवाहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग सहकार्यमा वीरेन्द्र चोक क्षेत्रका खाल्टाखुल्टी दुई घण्टामै पुरेको जानकारी मोहन थापाले दिए।
- जेनजी २.० कर्णालीले वीरेन्द्रनगरमा क्लिन वीरेन्द्रनगर अभियान पनि सञ्चालन गर्दै आएको छ।
२१ मंसिर, सुर्खेत। जेनजी २.० कर्णालीका युवाहरूले प्रदेश राजधानी वीरेन्द्रनगरका मुख्य चोकहरूका खाल्टाखुल्टी पुरेका छन्।
युवाहरूले शनिवार देखी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतसँगको सहकार्यमा वीरेन्द्रनगरको वीरेन्द्र चोक क्षेत्रका खाल्टाखुल्टी पुरेका हुन्।
उनीहरूले यसलाई अभियानकै रूपमा सञ्चालन गर्ने बताएका छन् । खाल्टाखुल्टीका कारण दिनहुँ सवारी दुर्घटना हुन थालेपछि युवाहरूले सहयोग संकलन गरेर खाल्टा पुर्ने अभियान थालेको जेनजी २.० का कर्णाली प्रदेश सह–संयोजक मोहन थापाले जानकारी दिए।
‘वीरेन्द्रनगरमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिका गरी दुवै तहका सरकारहरू छन् । तर खाल्टाखुल्टी पुर्न तिर कसैको ध्यान गएन,’ सहसंयोजक थापाले अनलाइनखबरसँग भने, ‘ती ठाउँहरूमा दिनहुँ सवारी दुर्घटना बढ्न थालेपछि हामी युवाहरू मिलेर अभियान नै चलायौँ।’
नगरका व्यस्त चोकहरूमा लामो समयदेखि बिग्रिएका सडकका कारण स्थानीयहरूले दैनिक रूपमा सास्ती झेल्दै आएका थिए । ‘समस्या धेरै ठुलो हैन । तर राज्यको चरम लापरबाही भने हो,’ जेनजी २.० कर्णालीका सचिवालय सदस्य युवराज चपाई ले भने, ‘हामी ८‐१० जना युवाहरू र ट्राफिक प्रहरी मिलेर दुई घण्टामै निर्माण गर्यौँ।’
युवाहरूले पटक पटक वीरेन्द्रनगर नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराउँदा पनि स्थानीय तहले भने बेवास्ता गरेको उनीहरूले बताए । शनिवारबाट सुरु भएको यो अभियान निरन्तर चल्ने सचिवालय सदस्य चपाई ले बताए।
‘आगामी हप्तादेखि हामी मुख्य बजार क्षेत्रका मंगलगढी चोक, तीन कुने चोक, दैलेख रोड चोक लगायतका क्षेत्रहरूको खाल्टा पुछौँ,’ चपाई ले भने, ‘यसमा हामीलाई जिल्ला ट्राफिक, स्थानीय व्यापारी समाजसेवीहरूले सहयोग गर्दै आउनु भएको छ।’
जेनजी २.० कर्णालीले राजधानी वीरेन्द्रनगरमा ‘क्लिन वीरेन्द्रनगर’ अभियान समेत सञ्चालन गर्दै आएको छ । अभियान अन्तर्गत प्रत्येक शनिवार बिहान ८ बजेदेखि नगरका मुख्य बजार क्षेत्र र पर्यटकीय स्थलहरूमा सरसफाइ गर्दै आएको चपाइले बताए।
अहिलेसम्म दुई हप्ता सरसफाइ गरिएको छ । पहिलो साता वीरेन्द्रनगरको बसपार्क क्षेत्रमा सरसफाइ गरिएको थियो भने दोस्रो साता वीरेन्द्रनगरको यरी चोकमा गरिएको थियो।‘मान्छेको धेरै भिडभाड हुने, पर्यटकीय क्षेत्र र मुख्य बजार क्षेत्रलाई प्राथमिकता राखेर सरसफाइ गरिरहेका छौँ,’ उनले भने ।
प्रतिक्रिया 4