+
+
Shares

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १३:५१
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले हालसम्म चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग दोहोर्‍याएका छन् ।

भ्रष्टाचार विरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले यस्तो माग राखेका हुन् ।

‘…प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिए । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबीनको माग मैले संसद्को रोष्टमबाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु,’ प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

उनले सन्देशमा भनेका छन्, ‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ। तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह-पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरण लगायत ठूल-ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’

भ्रष्टाचार विरुद्धको लडाइँ एक दिनको अभियान नभएको भन्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताएका छन् ।

यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास प्रचण्डको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?