News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको बकैया गाउँपालिकामा चुनढुंगाको अवैध उत्खननमा खानी तथा भूगर्भ विभाग र डिभिजन वन कार्यालयले रोक लगाएका छन्।
- खानी विभागको टोलीले अवैध उत्खनन क्षेत्रको अध्ययन गरी कानुनविपरीत उत्खनन र बाहिरी निकासी भएको पत्ता लगाएको छ।
- डिभिजन वनले उत्खनन क्षेत्रको निरीक्षण गरी दोषीलाई वन मुद्दामा कारबाही गर्ने जनाएको छ।
२४ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा भइरहेको चुनढुंगाको अवैध उत्खननमा खानी तथा भूगर्भ विभाग र डिभिजन वन कार्यालय मकवानपुरले ‘एक्सन’ लिएका छन् ।
अनलाइनखबरमा ‘पालिका अध्यक्षको मिलेमतोमा चुनढुंगाको अवैध उत्खनन’ शीर्षकमा समाचार प्रकाशित भएपछि खानी विभागले अध्ययन तथा अनुसन्धान टोली खटाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय मकवानपुरले अवैध उत्खनन तथा बिक्रीमा रोक लगाएको हो ।
यसअघि गाउँपालिका कार्यालयकै मिलेमतोमा १२ नम्बर वडाको चपकी खानी क्षेत्रको पूर्वतर्फबाट निजी जग्गाको नाममा निरन्तर चुनढुंगा उत्खनन र बिक्री भइरहेको थियो । चुनढुंगा रहेको भूभाग सरकारको सम्पत्ति हुने र उत्खनन गर्न खानी तथा भूगर्भ विभागको स्वीकृति अनिवार्य रहेको कानुनी व्यवस्था रहेकोमा चुनढुंगाको अवैध उत्खनन भइरहँदा पनि सरकारले चासो लिएको थिएन ।
खानी तथा भूगर्भ विभागबाट खटिएको माइनिङ इन्जिनियर रामानन्द चौधरीको नेतृत्वको टोलीले चुनढुंगा उत्खनन भइरहेको क्षेत्रमा अध्ययन तथा अनुसन्धान थालेको छ । चौधरीले उत्खनन क्षेत्रको निरीक्षण गर्दा कानुनविपरीत उत्खनन भइरहेको र यहाँको चुनढुंगा बाहिरी निकासी समेत भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘हामीले उत्खनन भइरहेको क्षेत्र हेर्यौं । यहाँबाट चुनढुंगा निकालेर बाहिर पनि लगेको पाएका छौं । यस बारे उहाँहरूलाई खनिज नियम सम्झाएका छौं । बाँकी कुरा हामी अध्ययन प्रतिवेदन बनाएर विभागलाई बुझाउँछौं । यस सम्बन्धमा थप कारबाही विभागबाट हुन्छ,’ इन्जिनियर चौधरीले भने, ‘उहाँहरूले यो आफ्नै जग्गा हो भने पनि माटो सम्याउन मात्रै पाइन्छ, ढुंगा बिक्री गर्न पाइदैन भनेर बुझाएका छौं ।’
यता डिभिजन वन कार्यालय मकवानपुरले बकैया गाउँपालिकालाई निर्देशन दिँदै उत्खनन रोक्न लगाएको डिभिजन प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताए । डिभिजन वनले सव डिभिजन वन कार्यालय बकैयालाई चुनढुंगा उत्खनन गरिएको क्षेत्रको स्थलगत निरीक्षण तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न लिखित निर्देशन दिइसकेको छ । वन अधिकृत सरु श्रेष्ठको टोलीले उत्खनन क्षेत्रको निरीक्षण गरिसकेको छ ।
डिभिजन वनले नापी कार्यालय मकवानपुरलाई उत्खनन क्षेत्रलाई नम्बर जग्गा र वन क्षेत्रको सीमाना छुट्याउने कार्यको लागि प्राविधिक टोली खटाउन पत्राचारसमेत गरेको छ । वन क्षेत्रबाट उत्खनन भइरहेको पाइए दोषिलाई वन मुद्दामा कारबाही गरिने डिभिजन वन प्रमुख राकेशप्रसाद चन्द्रवंशीले अनलाइनखबरलाई बताए ।

डिभिजन वन प्रमुख चन्द्रवंशीका अनुसार २० कात्तिक २०८० मा कानुनी प्रक्रिया पूरा गरेर खानी विभागको सहमतिमा मात्रै उत्खनन गर्न गाउँपालिकालाई लिखित पत्राचार गर्दा पनि पालिकाले अटेर गरेको पाइएको छ ।
मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने चपकी खानी क्षेत्रको पूर्वतर्फबाट महिनौंदेखि अवैध रुपमा चुनढुंगा उत्खनन भइरहेको हो । मकवानपुरगढी गाउँपालिका–८ स्थित चपकी खानी निजी क्षेत्रको शिवम् सिमेन्टका नाममा दर्ता छ । खानी क्षेत्रको पूर्वतर्फ बकैया गाउँपालिका–१२ बाट चुनढुंगाको अवैध उत्खनन भएको थियो ।
गाउँपालिकाको २९ असोज २०८२ मा बसेको कार्यपालिका बैठकले वडा नम्बर १२ स्थित चपकी क्षेत्रको सुकलाल नेसुरको नाममा रहेको (कित्ता नम्बर १३२ को ११ रोपनी ६ आना २ पैसा ३ दाम) जग्गामा ढुंगामाटो भनेर चुनढुंगा उत्खनन तथा ढुवानी गर्न अनुमति दिएको छ । तर, जग्गा धनी नेसुरले निर्माण कम्पनी लगाएर माटो भन्दै चुनढुंगा उत्खनन गरी बिक्री गरिरहेका थिए ।
खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ मा ‘नेपालभित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमिनको सतह वा भूगर्भभित्र रहेको वा पाइएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पति हुनेछ ।’ भनिएको छ ।
खनिज उत्खनन कसले गर्न दिने भन्ने खानी तथा खनिज पदार्थ नियमावली २०५६ को नियम १४ को उपनियम (१) र (२) तथा अनुसूची ७ ले प्रष्ट पारेको छ । जसअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी उत्खनन अनुमति दिने एकमात्र आधिकारिक निकाय खानी तथा भूगर्भ विभाग हो ।
गाउँपालिकाले चुनढुंगालाई सामान्य ढुंगामाटो भनेर परिभाषित गर्न खोजे पनि कानुनले त्यसलाई अस्वीकार गरेको छ । खानी तथा खनिज नियमावली २०५६ को नियम ३ को अनुसूची १ अनुसार चुनढुंगा ‘अधातु खनिज’ अन्तर्गत पर्दछ र यसलाई महत्वको आधारमा बहुमूल्य खनिज मानिन्छ ।
प्रतिक्रिया 4