News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा बसोबास गर्ने कलाकार गोविन्द साह 'आजाद' को एकल कला प्रदर्शनी अक्टोबर ग्यालरीमा डिसेम्बर ४ देखि २०२६ जनवरी २४ सम्म चल्नेछ।
- प्रदर्शनीमा साहका ठूला तेलचित्र र एक्रिलिक कलाकृतिको नवीनतम शृंखला र साना आकारका कलाकृति प्रस्तुत गरिएको छ।
- साहले आफ्नो चित्रकलालाई आध्यात्मिक यात्रा भनी वर्णन गर्दै हिमालदेखि समुन्द्रसम्मको भित्री र बाह्य यात्रालाई कलामा उतारेका छन्।
लन्डन । बेलायतमा बसोबास गरिरहेका कलाकार गोविन्द साह ‘आजाद’ को एकल कला प्रदर्शनी लन्डनको अक्टोबर ग्यालरीमा सुरु भएको छ । डिसेम्बर ४ देखि सुरु भएको प्रदर्शनी सन् २०२६ जनवरी २४ सम्म चल्नेछ ।
कला प्रदर्शनीमा साहका क्यानभासमा बनाइएका ठूला तेलचित्र तथा एक्रिलिक कलाकृतिको नवीनतम शृंखला प्रस्तुत गरिएको छ भने साना आकारका कलाकृति पनि प्रदर्शित छन् ।
‘जर्नी टु द हर्ट अफ लाइट’ शीर्षकको प्रदर्शनीले कलाकारको भित्री तथा बाह्य दुवै यात्रालाई कलात्मकरूपमा एकसाथ प्रस्तुत गरेको छ ।
सरसरी हेर्दा सम्बन्धहीन जस्ता लागेपनि उच्च हिमशृङ्खलाका पर्वत शिखर र मार्गेटका समुन्द्री दृश्य दुवैलाई साहले बादलका रूपान्तरणशील आकृतिबाट जोडेका छन् ।
बादल चिरिँदा प्रकाशका किरणले झल्किने ती दृश्य उनका चित्रमा प्रवल रूपमा अभिव्यक्त हुन्छन् । १९ औं शताब्दीका चर्चित ब्रिटिश चित्रकार जे एम डब्लु टर्नरका तेलचित्रमा देखिने प्रकाशका छटाप्रति मोहित साहका कलाकृति भित्री प्रकाशले भरिपूर्ण देखिन्छन् ।
आकाशमा फैलिने बादलका तह-तहमा खेल्ने प्रकाशका रूपान्तरणबाट मोहित साहले बाह्य वातावरणका बदलिँदो अनुभवलाई आफ्नो ‘भित्री भू-दृश्य’मा भइरहेका सूक्ष्म भावनात्मक रूपान्तरणसँग जोडेर चित्रित गर्छन् ।
उनका चित्र क्यानभासमा तेल र एक्रिलिकका तह-तहमा गुथिएका सूक्ष्म स्ट्रोकले बनेका हुन्छन् । यो पुनरावृत्तिमूलक सिर्जनात्मक यात्राले अन्ततः जीवनका जटिल रहस्यमा ध्यानमग्न अनुभव गराउँछ’ अक्टोबर ग्यालरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘चित्र बनाउनु मेरो निरन्तर आत्मविलयको प्रक्रिया हो । चित्रसँगको संवादमा मभित्र विचार जन्मिन्छन्। ज्ञान त हामी सबैभन्दा बाहिर कतै अवस्थित छ । म भने चित्रकलामार्फत त्यसलाई छुन र पत्ता लगाउन खोज्छु’ उनी भन्छन् ।
साह विशाल र विराट विषयवस्तुलाई कलामा उतार्न कहिल्यै हिच्किचाउँदैनन् । उनका सुरुवाती श्रृंखलाले टाढा-टाढाका नक्षत्रबाट आउने प्रकाशले उज्यालो बनाएको अन्तरिक्षका नेबुला र दीर्घिकाको दृश्य प्रस्तुत गरेको पाइन्छ ।
उनका पछिल्ला चित्र नयाँ दिशामा उन्मुख छन्, जहाँ क्यानभासमा समुन्द्री छालले बनाएका साना पोखरी, पानीमुनिका खाडी, चट्टानका सूक्ष्म आकृति र कंकडले सजिएका तट चित्रित छन् ।
‘म अहिले ‘माउन्टेन टु मार्गेट’ भनेर शृंखला बनाइरहेको छु । म हिमालको मुलुकबाट बादलसँग उड्दै समुन्द्रसम्म आइपुगें । म आफ्नो देश छोडेर किन यहाँ आएँ भनेर आफैंलाई प्रश्न गर्ने गर्थें’, अनलाइनखबरसँग कुरा गर्दै साहले भने- ‘चित्र कोर्दाकोर्दै सायद भाग्यले मलाई यहाँसम्म ल्याई पुर्याएको हो कि जस्तो लाग्छ । अहिले चित्रकला मेरो लागि आध्यात्मिक यात्रा जस्तै बनेको छ ।’
राजविराजमा जन्मिएका ‘आजाद’ ले सन् २००६ मा बंगलादेशको ढाकास्थित एमए फाइन आर्ट कार्यक्रममा अध्ययन थालेका थिए । त्यसपछि प्रायोजक पाएर लन्डन आए र सन् २००८ मा विम्बल्डन कलेज अफ आर्टबाट एमए फाइन आर्ट डिग्री हासिल गरे ।
अक्टोबर ग्यालरीमा उनको पहिलो एकल प्रदर्शनी सन् २०११ मा आयोजना गरिएको थियो । हाल उनी इंगल्याण्डको मार्गेटस्थित आफ्नै स्टुडियोमा बसेर कलाकृति सिर्जना गर्ने गरेका छन् ।
प्रतिक्रिया 4