२६ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा जेनजी उमेर समूहका १२ जनालाई केन्द्रीय समितिमा राखिएको छ । पार्टीको मूल नेतृत्वमा जेनजी उमेर समूहको एक जना सहित थप ११ जनालाई केन्द्रीय सदस्य बनाइएको हो ।
प्रलोपाको हाल कायम १५१ सदस्यीय केन्द्रीय समितिको पाँच सदस्यमा अध्यक्ष परिषद्मा जेनजी ओजस्वी भट्टराई छन् । भट्टराईबाहेक अन्य चारजना सुदन किराँती, सन्तोष परियार, दुर्गा सोब र सुरेन्द्रप्रसाद जैसवाल (अशोक) ले युवा उमेर समूह पार गरिसकेका छन् ।
७ मंसिरमा एकता घोषणा सभा गरेर सार्वजनिक गरिएको केन्द्रीय सदस्यको सूचीमा रहेका १२ जनाा जेनजी मध्ये अधिकांश २३ र २४ भदौको आन्दोलनमा सक्रिय थिए ।
प्रलोपाको केन्द्रीय सदस्यमा रहेका ओजस्वी भट्टराई, डा. राहुल कुर्मी, श्रीजन सिम्खडा, रुक्सना कपाली, सम्झना बासुकला, अमित खनाल (उर्जा), जटिल कार्की, दिनेश कुमाल, संविधान प्रसाईं, निर्मला गौतम, सन्दिप पुन, सम्झना राई लगायत जेनजी हुन् ।
प्रलोपाको अध्यक्ष परिषद्मा रहेकी ओजस्वीले जेनजी आन्दोलनलाई संस्थागत गर्ने कार्यमा संलग्न थिइन् । जेनजी आन्दोलनका मागलाई संस्थागत गर्नको विभिन्न समूहमा छरिएका जेनजीहरूलाई एकत्रित गर्न ओजस्वी सक्रिय रहिन् । तीन दिनअघि सरकार र जेनजीबीचमा सम्झौता भएको छ ।
जेनजी आन्दोलनपछि जेनजी मुभमेन्ट अलायन्स मार्फत अमित खनाल सक्रिय थिए । संविधान प्रसाई नयाँ प्रधानमन्त्रीको नियुक्तिका विषयमा जंगी अड्डामा भएको वार्तामा सहभागी भएका थिए ।
जंगी अड्डाको वार्तामा सहभागी भएका जेनजी अगुवा प्रसाईंले त्यस लगत्तै अनलाइनखबरसँगको संवादमा भनेका थिए, ‘वार्तामा जान भनेर थापाथली नपुग्दै हामीलाई सुरक्षामा तैनाथ आर्मीहरूले ‘पास’ नभएको भन्दै रोके । पास भएकाहरूलाई समेत फर्काइँदै थियो । त्यसबेलै मैले शक्तिकेन्द्र र पहुँचको फोहोरी राजनीति सुरु भइसकेछ भन्ने महसुस गरेँ ।’
प्रलोपाको केन्द्रीय सदस्यको सूचीमा रहेका संविधान प्रसाईले उक्त दलको आईटीको क्षेत्र हेर्ने तर केन्द्रीय समितिमा नबस्ने अनलाइनखबलाई जानकारी गराए ।
पार्टी नेताहरूका अनुसार प्रलोपामा जेनजीलाई केन्द्रीय नेतृत्वमा ल्याउनका लागि ओजस्वी भट्टराई र अमित खनालले मूख्य भूमिका खेलेका थिए । केन्द्रीय समितिमा रहेका १२ जेनजीमा ९ जना भट्टराई र खनालको माध्यमले जोडिएका हुन् । केन्द्रीय सदस्य जन्मदेव जैसी जेन–जी विद्रोहलाई संगठित, युवा नेतृत्व विकास, आन्दोलनमार्फत अभिव्यक्त युवाको आवाजलाई थप शसक्त बनाउन जेनजीलाई केन्द्रीय नेतृत्वमा राखिएको बताउँछन् ।
जैसी भन्छन्, ‘देशलाई भ्रष्टाचार मुक्त गरी सुशासनको प्रत्याभूति, राजनीतिक, सामाजिक, आर्थिक र राज्यका निकायको पुनर्संरचनालगायतका विषय सम्बोधनका लागि जेनजी पुस्तालाइ नेतृत्व विकाससँगै नेतृत्व सुनिश्चित गर्न पार्टीको अध्यक्ष परिषादको अध्यक्षसहित केन्द्रीय समितिमा १२ जनाको भूमिका सुनिश्चित गरिएको हो ।’
जेनजी विद्रोहपछि जन्मिएको प्रलोपाले युवा पुस्ताको बलिदानको खेर जान नदिने प्रतिबद्धता समेत गरेको छ । जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्नका लागि नयाँ दल गठनको अपरिहार्यता रहेको प्रलोपाको दाबी छ ।
‘युवा–विद्यार्थीको बलिदानी खेर जान नदिन नयाँ राजनीतिक पहल अपरिहार्य बन्न गएको छ । यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न जेनजी, युवा–विद्यार्थि बौद्धिक वर्ग, प्रगतिशील, लोकतामन्त्रिक, वामपन्थी शक्ति समूह र व्यक्तित्वको संयोजनबाट द्रुत गतिमा समृद्धि हासिल गर्न, बवलियो राष्ट्र, सभ्य नागरिक र सुदृढ राज्यप्रणाली भएको समृद्ध नेपालको निर्माणको लागि यो प्रगातिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो,’ प्रलोपाको प्रतिबद्धतापत्रमा भनिएको छ ।
कार्यकर्ता स्वयंसेवी हुने नीति लिएको प्रलोपाले युवाहरूलाई अधिक समेट्ने जनाएको छ । देशमा सुशासन हासिल गर्न मूलतः युवाको अगुवाइमा भ्रष्टचार विरुद्ध युवाशक्ति (एन्टिकरप्सन युथ फोर्स)’ गठन गर्ने प्रलोपाले जनाएको छ ।
अध्यक्ष परिषद्को सदस्य एवं सहप्रवक्ता ओजस्वीका अनुसार जेनजी उमेर समूहका अन्य व्यक्तिहरूसँग पनि प्रलोपामा जोड्ने प्रयत्न भइरहेको छ ।
प्रलोपाको केन्द्रीय समितिको बैठक १ र २ पुसमा बोलाइएको छ । उक्त बैठकले थप केन्द्रीय सदस्यहरू थप्ने निर्णय लिनसक्ने नेताहरूले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4