News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्यान ग्रुपले ३७ वर्षीय अक्षय गोल्यानलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ, जसले एक दशकको मिहिनेतपछि नेतृत्व सम्हालेका छन्।
- अक्षयले जेनजी आन्दोलनमा सहादतप्राप्तका ३२ जना सन्तानलाई पूर्णछात्रवृत्तिमा १२ कक्षासम्म पढाइदिने निर्णय गरेका छन्।
- गोल्यान ग्रुपले ६५ वर्षको इतिहास बोकेको व्यापारिक घराना हो र विश्वका ६० भन्दा बढी देशमा कारोबार गर्दै आएको छ।
२९ मंसिर, काठमाडौं । उनी यसै पनि हुनेखाने परिवारमा जन्मिएका । त्यही अनुसार हुर्किए, पढे, बढे । उनलाई नपुग्दो पनि केही थिएन । एउटा प्रतिष्ठित व्यावसायिक घरानामा जन्मिएका उनलाई दु:खजिलो वा मिहिनेत नगर्दा पनि हुन्थ्यो सायद ।
तर, उनले त्यो बाटो रोेजेनन्, मिहिनेत नगरी सफलता हात लाग्दैन भन्ने उनलाई सानैदेखि मनमा थियो । किनकि, घरमा बुबादेखि अन्य आफूभन्दा ठूला सदस्यले व्यापार–व्यवसायमा गरेको मिहिनेत र लगावको छाप उनीमाथि भिन्नै परेको थियो ।
उनी स्कुले पढाइ र उच्च शिक्षा अध्ययन सकेपछि नेपाल फर्किए । अनि, बाउबाजेले निर्माण गरेको व्यावसायिक प्रतिष्ठानमा काम थाले । काम सिक्दै गए, गर्दै गए, मिहिनेत गर्न छाडेनन्, दिनरात खटिए, नजानेका कुरा आफूभन्दा अनुभवी र ठूलालाई सोधे ।
बिस्तारै-बिस्तारै उनी पोख्त हुँदै गए, र यो गतिले एक दशक पार गर्यो । एक दशकमा उनले गरेको मिहिनेत र लगाव देखेर उनको व्यावसायिक घरानाको सञ्चालक समिति दंग थियो ।
अकस्मात कलिलो उमेरमै एउटा प्रतिष्ठित व्यावसायिक घरानाको जिम्मेवारी उनको काँधमा आयो । उनको दिमागमा अनेक कुरा खेले । यति ठूलो जिम्मेवारी कसरी बहन गर्नु ? बनिसकेको ब्रान्ड, घरानाको साख, यसलाई अझै उचाइमा कसरी लैजानु ?
उनका मनमा अनेक तर्कना आए । र, अन्तिममा अक्षय गोल्यानले आँटिलो मनले निर्णय गरे- म यो गहन जिम्मेवारी काँधमा लिएर अगाडि बढ्छु, घरानालाई अझै मिहिनेतसाथ थप उचाइमा पुर्याउँछु ।
नेपालको व्यापार-व्यवसायका सन्दर्भमा हेर्दा घरानाहरूले कम उमेरका सदस्यलाई सामान्यतया नेतृत्वको जिम्मेवारी दिएको खासै देखिँदैन । तर, गोल्यान ग्रुपले एक कदम अगाडि बढेर अक्षयलाई ग्रुपको सम्पूर्ण जिम्मेवारी सुम्पिने निर्णय गरिदियो ।

‘जेनजी’ उमेरमा कुदिरहँदा व्यापार-व्यवसायमा प्रवेश गरेका उनी अहिले ३७ वर्षमा कुदिरहेका छन् । खासमा त अक्षयले व्यापार-व्यवसायमा हात हालेको एक दशक भइसकेको छ ।
एक दशकको कडा मिहिनेत, दिनरातको खटाइ, लगन र अथक परिश्रमपछि अक्षयको काँधमा प्रतिष्ठित व्यापारिक घराना गोल्यान ग्रुपको अध्यक्षको जिम्मेवारी आएको हो ।
साढे ६ दशक लामो ‘लेगेसी’ (विरासत) बोकेको व्यावसायिक घराना गोल्यान ग्रुपको जिम्मेवारी काँधमा आएपछि अक्षय पनि एक मनले हौसिएका छन् । तर, सँगै घरानाको विरासत जोगाएर थप उचाइमा लैजाने चुनौती उनका सामु खडा छ ।
‘सबैभन्दा पहिला म र मेरो काममाथि विश्वास गर्नुभएकोमा गोल्यान ग्रुप सञ्चालक समितिका पूर्वअध्यक्ष पवन गोल्यान र बोर्ड सदस्यप्रति आभारी छु,’ अक्षय भन्छन्, ‘यो नेतृत्व गर्ने विषय एकदमै ठूलो जिम्मेवारी हो, यसलाई म एकदमै सकारात्मक हिसाबमा अगाडि बढाउन चाहन्छु, हामी सबै क्षेत्रमा पायोनियर भएर अगाडि बढ्न चाहन्छौं, र त्यसैगरी मेरो नेतृत्वमा ग्रुप अगाडि बढ्छ ।’
अक्षयका बुबा पवन गोल्यान ग्रुपको जिम्मेवारीबाट बाहिरिए पनि उनका मार्गदर्शन भने जारी रहनेछन् । बुबाकै पदचाप पछ्याउँदै एउटा गहन जिम्मेवारीमा आएका अक्षय पनि बुबाको अनुभव र मार्गदर्शनलाई शिरोधार्य गर्ने बताउँछन् ।
‘बुबाको लगभग पाँच दशकको व्यावसायिक कामको अनुभवलाई म जहिले काममा जोड्न चाहन्छु,’ अक्षय भन्छन्, ‘त्यसबाट मलाई भिन्नै ऊर्जा र उत्साह मिल्छ ।’
रविभवनको लिंकन स्कुलदेखि स्पेनको युनिभर्सिटीसम्म
अक्षयले काठमाडौंको रविभवनस्थित लिंकन स्कुलमा पढे । १२ कक्षासम्म त्यहीँ पढे । पढाइमा पनि अब्बल थिए । अतिरिक्ति क्रियाकलापमा पनि उस्तै अब्बल थिए । स्कुलमा भलिबल र बास्केटबल खुब खेल्थे ।
स्कुल र कलेज राम्रै अंकसाथ उत्तीर्ण गरे । र, स्नातक अध्ययन गर्न युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित अमेरिकन युनिभर्सिटी गए ।

त्यहाँबाट स्नातक सकेर उनी स्नातकोत्तर गर्न युरोपको स्पेन गए । विश्वका उत्कृष्ट १० युनिभर्सिटीमा पर्ने स्पेनको ‘ईएसएडीई’ बाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेर अक्षय नेपाल फर्किए । अनि, बाउबाजेको व्यवसायमा प्रवेश गरेर काम थाले ।
अक्षयले गोल्यान ग्रुप प्रवेश गर्दा प्रबन्ध निर्देशकको जिम्मेवारी पाएका थिए । यो पद पनि सुरुवातमा गह्रुंगो नै थियो । तर, मिहिनेत र सिकाइबाट उनले आफूलाई प्रमाणित गरिदिए ।
के छ अक्षयको रणनीति ?
युवा जोस र जाँगर भएका अक्षयले बिस्तारै गोल्यान ग्रुपमा यस्तरी काम गर्दै गए कि सारा कर्मचारी (चाहे ती अनुभव र उमेरमा वरिष्ठ नै किन नहुन्) अचम्भित भए । उनले ग्रुपलाई ‘नेक्स्ट लेभल’ मा पुर्याउन कडा मिहिनेत गरे ।
त्यही रणनीति अनुसार ग्रुप र ग्रुपमा आबद्ध कम्पनीमा युवा उमेरकालाई अवसर दिन थाले । टिम पनि त्यसैगरी बनाउन थाले । एकअर्कालाई सहयोग र सहकार्य गर्दै जान थाले । ठ्याक्कै एक दशकमा उनको रणनीति र मिहिनेतले अहिले रङ ल्याएको हो ।

‘मैले जिम्मेवारी लिनासाथ गोल्यान ग्रुपमा तुरुन्तै कुनै उथलपुथल हुने होइन, मेरो एक दशकको अनुभव, सिकाइ र मिहिनेत लगाउँदै टिम स्पिरिटमा काम गर्छु,’ अक्षय भन्छन्, ‘प्रमुख संरक्षकको भूमिकामा रहनुभएका बुबा र अनुभवले खारिएका वरिष्ठ कर्मचारी साथीहरूसँगको सहकार्यबाट ग्रुप र हाम्रा कम्पनीलाई अझै माथि उकास्दै लाने रणनीति छ ।’
साढे ६ दशकको विरासत बोेकेको गोल्यान ग्रुपको जिम्मेवारी बोध उनमा प्रष्ट देखिन्छ । ‘मेरो एक दशकको मिहिनेतलाई बोर्डले पत्याएपछि यो जिम्मेवारीमा आइपुगेको हुँ,’ अक्षय भन्छन् ।
त्यही भएर उनी युवा टिमसँग अहोरात्र खटिरहेका हुन्छन् । आफ्ना कुरा भन्छन्, टिमको कुरा सुन्छन् । र, सँगै प्रमुख संरक्षक बुबा पवनको मार्गदर्शन अनुसार अगाडि बढिरहेका छन् ।
जेनजी आन्दोलनबारे के भन्छन् अक्षय ?
२३ र २४ भदौ २०८२ मा देश नसोचेको एउटा दुर्घटनाको साक्षी बन्नुपर्यो । जेनजी (जेनेरेसन जेड) ले गरेको आन्दोलनले अर्कै रूप लिँदा अनाहकमा ७० भन्दा बढीले ज्यान गुमाए ।
जेनजी आन्दोलन क्रममा गोल्यान ग्रुपको कार्यालयमा सामान्य तोडफोड पनि भयो । तर, अक्षयको मन कार्यालयमा भएको तोडफोडले होइन, आन्दोलनमा ज्यान गुमाएकाहरूका सन्तान र परिवारको अवस्था अब के हुन्छ भन्ने चिन्ताले विचलित थियो ।
अनि, उनकै पहलमा गोल्यान ग्रुपले जेनजी आन्दोलनमा सहादतप्राप्तका ३२ जना सन्तानलाई पूर्णछात्रवृत्तिमा १२ कक्षासम्म पढाइदिने निर्णय गर्यो । यो छात्रवृत्तिमा खाना, छात्रावासदेखि पढाइलेखाइ सबै खर्च समेटिएको छ ।

यो निर्णयले व्यापारिक क्षेत्रमा एउटा तरंग ल्याइदियो । ‘जेनजी आन्दोलनमा ज्यान गुमाउनेको के दोष, उनीहरूका सन्तानको के दोष ?,’ अक्षय भन्छन्, ‘एक जिम्मेवार नागरिकमात्र नभई जिम्मेवारी व्यावसायिक घराना पनि भएका नाताले यसमा हामीले सक्दो सहयोग गर्नैपर्छ भन्ने भएपछि हाम्रो ग्रुपले यस्तो निर्णय गरेको हो, हामी आफैंमात्र अगाडि बढ्ने होइन, समाज र देशलाई पनि सँगसँगै अगाडि लैजानुपर्छ भनेर ती बच्चाहरूको भविष्य बनाउनुपर्छ भन्ने मेरो मनमा थियो ।’
गोल्यान ग्रुपले अक्षयलाई किन बनायो अध्यक्ष ?
करिब एक दशकदेखि गोल्यान ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका ३७ वर्षीय अक्षयलाई किन अध्यक्षको नयाँ जिम्मेवारी दिइयो होला ? प्रश्न अहम छ ।
‘साढे ६ दशक लामो विरासत बोकेको नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन हुनु भनेको ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित हुनु हो,’ अक्षयलाई अध्यक्षको जिम्मेवारी घोषणा गर्दा गत शुक्रबार ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोल्यान ग्रुपले आफ्नो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गर्दा कर्मचारी र व्यवस्थापनमाझ भिन्नै रौनक छाएको थियो । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समिति अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरे ।
‘अक्षय गोल्यान अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनु हुनेछ, कार्यकारी अधिकार सहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्यान ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास छ,’ ग्रुपले जारी गरेको विज्ञप्तिमा छ ।
अक्षयले ग्रुप अन्तर्गतका अन्य कम्पनीलाई पनि प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका छन् । ग्रुप अन्तर्गत २५ भन्दा बढी कम्पनी सञ्चालनमा छन् । ग्रुपले उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी (आतिथ्य सत्कार) क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको छ ।

अक्षयका हजुरबुबा सोहनलाल गोल्यानले ६५ वर्षअघि औद्योगिक सहर विराटनगरमा सुरु गरेको व्यवसायको विशाल स्वरूप हो– हालको गोल्यान ग्रुप । ग्रुपमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन् । ग्रुपको व्यवसाय हाल विश्वका ६० भन्दा बढी देशमा फैलिएको छ । ग्रुपले वार्षिक ४० करोड अमेरिकी डलर (५७ अर्ब रुपैयाँ) भन्दा बढीको कारोबार गर्दै आएको छ ।
अक्षय आफ्नो पुस्ताको विरासतलाई सम्मान गर्दै नवीनतम सोच र दृष्टिकोणका साथ तीव्र गतिमा अघि बढिरहेका युवा उद्यमी हुन् । उनले करिब १० वर्षको व्यावसायिक यात्रामा आफूलाई प्रमाणित गरिसकेका छन् ।
उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले असार २०८२ मा अक्षयलाई ‘महत्त्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।
गोल्यान ग्रुपलाई बृहत संस्थागत स्वरूप दिलाउन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गरेका पवन गोल्यानले छोरा अक्षयलाई ग्रुपको शीर्ष नेतृत्व हस्तान्तरण गरेका हुन् । यसले नेपालको निजी क्षेत्रमा पुस्तान्तरणको महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ ।
नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
‘यो केवल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रूपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपछि अक्षयले भनेका थिए, ‘गोल्यान ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाका रूपमा स्थापित गर्न प्रतिबद्ध छौं, हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ ।’
प्रतिक्रिया 4