+
+
Shares

नेपाल ट्रेड युनियन कांग्रेसमा ४० प्रतिशत युवा हुनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते ११:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले सबै तहमा ३५ वर्षमुनिका युवा श्रमिकको ४० प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ।

२९ मंसिर, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको संरचनामा युवा श्रमिकको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले केन्द्रीय नेतृत्वसमक्ष औपचारिक स्मरणपत्र पेस गरेको हो ।

काठमाडौँ–१० स्थित नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिमा पेस गरिएको स्मरणपत्रमा बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखिएको छ । नेपाली श्रम बजारमा युवाको बढ्दो उपस्थिति, विश्वव्यापी श्रमिक आन्दोलनमा जेनजी पुस्ताको प्रभाव तथा संगठनभित्र युवाको न्यून सहभागितालाई ध्यान दिई नीतिमा सुधार गर्नुपर्ने माग राष्ट्रिय युवा समितिको छ ।

स्मरणपत्रमा उल्लेख गरिएअनुसार नेपालको श्रम शक्तिमा ३१ वर्ष मुनिका श्रमिकको हिस्सा ४० प्रतिशतभन्दा बढी छ । त्यसैगरी ४० वर्ष मुनिका श्रमिक ६० प्रतिशतभन्दा माथि छन् । यस्तो अवस्थामा श्रमिक आन्दोलनको वैचारिक निरन्तरता, संगठनात्मक सुदृढीकरण र भविष्यको नेतृत्व विकासका लागि युवाको केन्द्रीय भूमिका अपरिहार्य भएको राष्ट्रिय युवा समितिको ठहर छ।

नेपाल ट्रेड युनियन कांग्रेसको विधानमा उल्लेख गरिएको १० प्रतिशत युवा सहभागिता पनि व्यवहारमा लागू हुन नसकेको युवा समितिले जनाएको छ । यसले संगठनभित्र नेतृत्व हस्तान्तरणको अभाव, युवाबीच निराशा र विश्वासको खाडल सिर्जना गरेको चेतावनी दिइएको छ। समयानुकूल रूपान्तरण नगरे श्रमिक आन्दोलनको औचित्यमा प्रश्न उठ्ने चेतावनी युवा समितिले दिएको छ ।

स्मरणपत्रमार्फत राष्ट्रिय युवा समितिले सबै तहमा ३५ वर्षमुनिका युवा श्रमिकको ४० प्रतिशत अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ । साथै नीति निर्माण, बजेट विनियोजन तथा प्रमुख निर्णय प्रक्रियामा युवालाई औपचारिक मतदान अधिकारसहित सहभागी गराउनुपर्ने माग अघि सारिएको छ।

त्यसैगरी, नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्राप्त प्रतिनिधि कोटामा कम्तीमा ३० प्रतिशत युवा सहभागिता हुनुपर्ने माग परि गरिएको छ । यस स्मरणपत्रलाई भविष्यको गतिशील र युवामैत्री श्रमिक आन्दोलनतर्फको निर्णायक कदमको रूपमा लिएको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष श्री दिपेन्द्र सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?