२९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताएका छन् ।
सोमबार टुँडिखेलमा काठमाडौं महानगरपालिकाको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि हो । त्यही भएर युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । यसलाई सफल पारेर अघि बढौँ र सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बनौं,’ राष्ट्रपति पौडेलले भने ।
उनले मुलुकसामु धेरै समस्याहरू रहेको उल्लेख गर्दै युवा पुस्ताले चाहेको परिवर्तनको चाहनालाई मूर्तरूप दिन प्रतिनिधिसभा चुनावमा भाग लिनुको विकल्प नभएको बताए ।
सामाजिक न्यायसहित सुशासनका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी बन्न उनले आह्वान गरे ।
उनले अगाडि भने, ‘इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिलाई समृद्ध नेपाल सुम्पन्ने दायित्व हाम्रो काँधमा छ । यो दायित्व पूरा गर्नबाट हामी चुक्न हुँदैन भन्ने म ठान्दछु । त्यसका लागि नवीन सोच, शैली र योजना तथा त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ ।’
राष्ट्रपति पौडेलले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्द्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनर्स्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताए ।
प्रतिक्रिया 4