News Summary
Generated by OK AI. Editorially reviewed.- टेलिभिजन कार्यक्रम 'कठघरा' हिमालय टिभी र ओएसआर युट्युब च्यानलबाट बुधबारदेखि १८ एपिसोडमा प्रसारण सुरु हुने भएको छ।
- कार्यक्रमले सार्वजनिक जीवनसँग जोडिएका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्य राखेको आयोजकले बताए।
- निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको अवधारणा र प्रश्नको दिशाबारे, न्यायाधीश मिथिला शर्माले निष्पक्षता र विवेकको महत्वबारे बोले।
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कठघरा’ को प्रसारण बुधबारदेखि हिमालय टिभीमा सुरु हुने भएको छ । सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि शो स्ट्रिम हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकता तीव्र बन्दै गएको सन्दर्भमा कार्यक्रम आउन लागेको जनाइयो ।
‘कठघरा कुनै साधारण अन्तर्वार्ता कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चका रूपमा तयार गरिएको कार्यक्रम हो’ विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक जीवनसँग जोडिएका, सत्तामा रहेका वा प्रभावशाली भूमिकामा रहेका व्यक्तिलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसहित कार्यक्रमको अवधारणा विकास गरिएको आयोजकले जानकारी दिएका छन् ।
आगामी निर्वाचन र पछिल्लो समय जेन-जीसहितका युवापुस्ताबाट उठिरहेका आवाज र आन्दोलनले देशमा पारदर्शीता र जबाफदेही संवादको माग बढाइरहेको अवस्थामा कार्यक्रमले त्यसै आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमका निर्माता थमनकुमार भण्डारीले उपस्थित सञ्चारकर्मी तथा अतिथिलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य, अवधारणाबारे प्रकाश पारे । कथानक फिल्म निर्माण गर्दै आएका निर्माता भण्डारी टेलिभिजन कार्यक्रमको निर्माणतर्फ अग्रसर भएका हुन् ।
कार्यक्रममा डिजिटल पार्टनर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले कार्यक्रमले नेपाली सार्वजनिक बहसमा ल्याउने नयाँ अभ्यास र उत्तरदायित्वपूर्ण पत्रकारिताप्रतिको प्रतिबद्धता प्रस्तुत गरे ।
सो अवसरमा आधिकारिक प्रसारणसम्बन्धी घोषणा पनि गरियो । यो कार्यक्रम हिमालय टेलिभिजन एचडी र ओएसआर रियालिटीमार्फत आउँदो बुधबारदेखि सुरु हुनेछ ।
कूल १८ एपिसोड प्रसारण हुनेछ, जसअन्तर्गत हरेक बुधवार राति ८ बजेदेखि दर्शकले कार्यक्रम हेर्न सक्नेछन् । पत्रकार सम्मेलनमा निर्माता र प्रसारण साझेदारबीच औपचारिक सम्झौता आदानप्रदान गरियो ।

हिमालय टेलिभिजन र ओएसआर डिजिटलसँगको सहकार्यलाई निर्माता भण्डारीले कार्यक्रमको विश्वसनीयता र पहुँच विस्तारको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे ।
कजारिया टायल्स शीर्ष प्रायोजकका रूपमा छ भने इन एसोसिएसन विथ वात्सल्य नेचुरल आइभिएफ, बैङ्किङ पार्टनर एभरेस्ट बैङ्क, इन्स्योरेन्स पार्टनर नेपाल लाइफ इन्स्योरेन्स, पावर्ड बाई मलको एप र को-स्पन्सर टेन प्लास्ट पाइप, ट्याङ्क एन्ड फिटिङ्गस् कार्यक्रमका अन्य साझेदारका रूपमा जोडिएका छन् ।
निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको अवधारणा, संरचना र प्रत्येक प्रश्नको दिशाबारे आफ्नो धारणा राखे । न्यायाधीशको भूमिकामा रहेकी अभिनेत्री मिथिला शर्माले कार्यक्रमभित्र निष्पक्षता, विवेक र सन्तुलनको महत्वबारे बोलिन् ।
सञ्चालक टीकाराम यात्रीले निर्भीक प्रश्न, सत्तासँग प्रत्यक्ष संवाद र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4