News Summary
Generated by OK AI. Editorially reviewed.- शुभ अवसर ग्राम नेपालको अध्ययनले काठमाडौंको मनोरञ्जन क्षेत्रमा कार्यरत ५६ प्रतिशत श्रमिक १८ वर्षमुनिका बालबालिका रहेको देखाएको छ।
१ पुस, काठमाडौं । काठमाडौंको मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकमध्ये ५६ प्रतिशत १८ वर्षमुनिका बालबालिका रहेको एक अध्ययनले देखाएको छ ।शुभ अवसर ग्राम नेपालले आर्थिक वर्ष २०८१÷८२ मा गरेको अध्ययनले यस्तो तथांक निकालेको हो ।
शुभ अवसर ग्राम नेपाल महिला तथा बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था हो ।
संस्थाले राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी र विभिन्न स्थानीय तहको समन्वयमा मनोरञ्जन क्षेत्रबाट उद्धार गरिएका तथा पुनर्स्थापना केन्द्रमा रहेका श्रमिकहरूको अवस्थाबारे अध्ययन गरेको थियो । संस्थाले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको अवस्था तथा सरोकारवालाबीच सोमबार अन्तर्क्रिया कार्यक्रममा आयोजना गरेको थियो । सो कार्यक्रममा यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थाकी परियोजना संयोजक रञ्जना शर्माले प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न समूहसँग आबद्ध तथा संस्थाले सहजीकरण गरेका श्रमिकहरूको विश्लेषणमा ४५ प्रतिशत युवतीहरू २६ देखि ३५ वर्ष उमेर समूहका रहेको जानकारी दिइन् ।
अध्ययन अनुसार ५८ प्रतिशत श्रमिकले यो क्षेत्रमा काम गर्नु आफ्नो बाध्यता भएको स्वीकार गरेका छन् भने केवल २ प्रतिशतले मात्र आफ्नो इच्छाले काम गरिरहेको उल्लेख गरेका छन्।
त्यस्तै, ३८ प्रतिशतले श्रम शोषणको सामना गर्नुपरेको, १० प्रतिशतले यौन दुर्व्यवहार र मनोसामाजिक समस्या झेलिरहेको बताए भने ६२ प्रतिशत श्रमिक मौन बस्न रुचाउने गरेको पाइएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक विनय अर्यालले कार्यपत्र प्रस्तुत गर्दै रात्रीकालीन तथा मनोरञ्जन क्षेत्रबाट उद्धार गरिएका श्रमिकहरूको तथ्यांक सार्वजनिक गरे । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा उद्धार गरिएका ४१ जनामध्ये २६ जना, २०८१/८२ मा उद्धार गरिएका १०२ जनामध्ये ८१ जना र चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म उद्धार गरिएका ५७ जनामध्ये ५३ जना १८ वर्षमुनिका बालिका छन् ।
उनले जोखिममा परेका श्रमिकहरू उद्धार गर्दा जाहेरी दिने संख्या अत्यन्त न्यून रहेको र व्यवसाय सञ्चालकहरूले उमेर खुल्ने प्रमाणबिना श्रमिक राख्न नहुने सुझाव दिए ।
कार्यक्रममा सहभागी मनोरञ्जन क्षेत्रका व्यवसायी तथा सञ्चालकहरूले श्रमिकको सेवा–सुविधा बढाए पनि श्रमिकहरू नटिक्ने, ठाउँ सर्दै काम गर्ने प्रवृत्ति र प्रशासनिक झन्झटका कारण स्वदेशमै रोजगारी सिर्जना गर्ने यो व्यवसाय सञ्चालनमा समस्या परिरहेको गुनासो गरे ।
प्रतिक्रिया 4