+
+
Shares
प्राविधिकसँग प्रश्नोत्तर : :

एमाले महाधिवेशन : विद्युतीय भोटिङमा कति समय लाग्ला ?

‘मतगणनाको लागि एकदम सजिलो हुन्छ । काउन्टिङलाई धेरै समय लाग्दैन । हामी तिन देखि चार घण्टामा हामी पूरै मतगणना सक्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १९:५९
Listen News
0:00
0:30
🔊

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि विद्युतीय  मेसिन गरिँदैछ । नेपालमा आवधिक निर्वाचनमा अहिलेसम्म विद्युतीय मेसिनबाट मतदान नगराइएको भएपनि दलगत र संस्थागत निर्वाचनमा भने यसको प्रयोग बढ्दै गएको छ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान कार्य सकिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । मतदानका लागि मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्मको समय निर्धारण गरिएको छ । एमाले महाधिवेशनमा प्रयोग हुन लागेको विद्युतीय मतदानको प्रक्रिया, समय, मतगणना, सुरक्षा लगायतका विषयमा उक्त मेसिन निर्माता कम्पनीका सञ्चालक एवं प्राविधिक लक्ष्मण रिमालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले संक्षिप्त कुराकानी गरेका छन् ।  प्रस्तुत छ, रिमालसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेको एघारौं महाधिवेशनमा तपाईंहरूको कम्पनीले तयार पारेको विद्युतीय मेसिनबाट मतदान हुँदैछ । यसको यो प्राविधिक काम कहाँ पुग्यो ? के हुँदैछ ?

हामीले अहिले प्राविधिकि रूपले मेसिन जडान गर्ने काम सबै सकायौं । हरेक मतदाताको फोटोहरू मिलाउने र मेसिनमा हाल्ने काम गरिसकेका थियौं । अहिले उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि अलिकति थोरै परिवर्तन गर्नुपर्ने भएका कारणले हामीले त्यसलाई संशोधन गर्दैछौं । मेसिन चाहिँ एकदम तयारी हालतमा छ । हामी चुनाव गर्नलाई तयारी अवस्थामा छौ ।

खासमा आज १२ बजे नै बाट सुरु गर्ने भनिको मतदान सर्दैसर्दै आइरहेको छ, के कारणले लम्बियो ?

अलिकति लम्बिएकै हो । अब यो के थियो भने, हामीले सुरुमा सम्झौता गर्दा नै मतदाताको फोटोहरू लिने, त्यसपछि फोटोको कोडिङ गर्ने, मेसिनमा राख्ने र १० वटा मेसिनमा मध्ये ८० वटा मेसिनमा त्यो डिप्लोय गर्ने त्यसमा इन्स्टल गर्ने भनिएको थियो  ।

त्यो सबै गर्न अलिसमय लाग्थ्यो । हामीले हिजो राति मात्रै मतदाताको सूची लगायतका विवरण राति १ बजे पायौं, त्यो पाएपछि हामीले आज ४ बजेपछि भनेर हामीले एकदम तयारी हालतमा अल्मोस्ट सबै कुराहरू सकिसकेको थियौं ।

अब अहिले यो ढिला हुनुको कारण के हो भने, जुन उहाँहरूले प्रारम्भिक नामावली र अन्तिम नामावलीमा जुन एउटा क्लस्टर बनाउनुभएको थियो, त्यसको सर्टिङमा केहि कुरा प्राविधिक रूपमा उहाँहरूबाट बिग्रेछ, निर्वाचन आयोगबाट । त्यसकारणले गर्दा उहाँहरूले पुन: अद्यावधिक गराएर भर्खर हामीलाई दिनुभयो लिस्ट । अब हामीलाई चार पाँच घण्टाको समय फेरी त्यही काम दोहोर्‍याउनुपर्‍यो । त्यसको कोडिङ देखि लिएर सबै कुराहरू सुरुदेखि गर्नु पर्यो । भनेको मतलब कोडिङ नै सुरु देखि गर्नु पर्यो । त्यसकारणले गर्दा अलिकति अलिकति समय लाग्ने छ त्यो भएपछि आज बेलुका नै हामी सुरु गर्न सकिहाल्छौं ।

तपाईंले भने अनुसार नै हिसाब गर्ने हो भने साढे सात/आठ बजे बाट मतदान सुरु हुन्छ  ?

अब त्यही हाराहारी अब अहिलेको माहोलमा चल्दा साढे सात/आठ बजे तिर सुरु गर्न सक्छौं ।

मतदानका लागि बुथमा कति वटा मेसिन राख्नुभएको छ ?

यो बुथमा अहिले हामीले ८० वटा मेसिन प्रयोग गरेका छौं । एकपटकमा ८० जना मतदाता आए भोट गर्न सक्नु हुन्छ । एकैपटकमा सबै ८० जनाले सक्नेगरी टाइम राखेका छौं । छिटो मतदान गराउन बाहिर हामीले प्रशिक्षणका लागि पनि मेसिन राखेका छौं । भइपरिआउने संकट टार्न ब्याकअपको लागि मेसिनहरू तयार पारेका छौं । यो सबै कुराहरू, ब्याट्री ब्याकअप देखि हरेक कुराहरू प्लान मिलाएर सबै सेटअपको कुराहरू सकाइ सकेका छौं ।

मेसिनबाट मत हाल्नको लागि कति समय जति लाग्छ ?

सम्झौताको बखतमा हामीले २५० को हाराहारी उम्मेदवार हुन्छन् भन्ने सोचेको थियौं । त्यही अनुसारले सम्झौता भएको थियो तर अहिले बढेको छ ।

त्यो बढेको आधारमा अहिले ३५ देखि ४० मिनेट सम्म लाग्न सक्छ कि । र चाँडै सकाउनेले, छिटो गर्नेले २५ मिनेट जतिमा सक्नुहुन्छ । एक मतदाता बराबर हामीले औसतमा ३०/३२ मिनेटदेखि ३५ मिनेट समय अनुमान गर्नुपर्छ जस्तो लाग्छ, धेरै ठुलो छ मतपत्र ।

अब आज राति नै मतदान हुने भयो, अब कति घण्टा सम्ममा मतदान सकिन्छ अनि मतगणना कति बेलाबाट सुरु होला ?

अहिलेको आँकलनमा जस्तो अब एक्चुअल मतदाताले कति समय लिनुहुन्छ, त्यसको चाहिँ नि त्यो अकुपेन्सी कति हुन्छ, त्यसमा त भर पर्छ ।

तर अहिले हामी सौहार्द रूपमा जाँदा खेरि चाहिँ १२/१३ घण्टा हामीलाई चुनाव गर्न लाग्छ जस्तो लाग्छ । भोटिङ गर्न त्यति समय लाग्ने अवस्था हुन्छ ।

अनि त्यो भइसकेपछि मतगणनाको लागि एकदम सजिलो हुन्छ । काउन्टिङ (मतगणना) लाई धेरै समय लाग्दैन । हामी तिन देखि चार घण्टामा हामी पूरै मतगणना सक्छौं ।

भोलि बेलुकासम्म मतदानको नतिजा आउँछ ?

भोलि दिउँसै आउन सक्छ । जहाँ सम्म लाग्छ किनभने भोलि बेलुका सम्म पुग्दैन मतगणना चैं ।

मतदाताहरूले जान्नु पर्ने प्राविधिक कुराहरू केही छ ? केही सुझाव भए भनिदिनुस् 

हाम्रो मेसिन धेरै पटक प्रयोग पनि भइसकेको छ । हामीले २५० भन्दा बढी पटक विभिन्न चरणका चुनावहरूमा हामीले यी मेसिन प्रयोग गरिसकेका छौं । मेसिन एकदमै सजिलो बनाएका छौं । तस्वीर आउँछ, त्यसमा नाम पनि आउँछ । तस्वीरमा औंलाले छुने हो । हामीले जसरी मोबाइल चलाउँछौं त्यसैगरी औलाले टच गर्ने हो । टच गरिसकेपछि त्यहाँ स्वस्तिक छाप लागेको देखिन्छ ।

हामीले मतदानका लागि ट्युटोरियल भिडियो पनि बनाएका छौं, त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ । सँगसँगै हामीले यहाँ नमूना मतदान भनेर एउटा बुथ बनाएका थियौं । बुथ बनाएर तीन दिन सम्म यहाँ प्रशिक्षण चलायौं ।

धेरै मान्छेहरूले त्यहाँ प्रशिक्षण लिनुभयो । सँगसँगै आजै पनि हामीले बुथ गेटमै राखेका छौं । मतदान हुँदै गर्दा पनि बाहिर हामीले गेटमा आवश्यक मात्रामा पर्याप्त मेसिनहरू नमूनामा राख्दिन्छौं । त्रुटि नहोस् भनेर एकपटक नमूनामा परीक्षण मतदान नगरिकन भित्र नपठाउने नीति लिएका छौं ।

मतदान गर्दा खेरि धेरै छाप पनि लाउन पाउनुहुन्न र थोरै पनि लाउन पाउनुहुन्न । यसमा एकदम अहिले गजबको कुरा गरिएको छ, यसमा जस्तो एक जनालाई तीन जना छान्नु भनेको छ भने, दुई जनालाई मात्र छाप लगाइएको छ भने अघि बढ्नै मिल्दैन, तीन जना भन्दा चार जनालाई छाप लगाउन पनि दिँदैन ।

जति मत लगाउनु हुन्छ मतदाताहरूले एकदम त्यो सुरक्षित हुन्छ । पूर्ण विश्वासका साथ त्यो मत जान्छ । यसले मत बदर पनि नहुने भयो । यसमा बदरको सम्भावना नै छैन कुनै पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?