१ पुस, काठमाडौं । नेकपा एमालेको पदाधिकारी संख्या १९ छ । ११औं महाधिवेशनमा पदाधिकारीका १९ पदमा ४१ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्षमा पाँच जना, महासचिव एक, उपमहासचिवमा तीन र सचिवमा ९ जना चुनिनेछन् ।
एमाले निर्वाचन आयोगका अनुसार १९ जना पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको थियो । तर, उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्रकुमार गौत्तमले निर्वाचनको दौड छाडे । यो सँगै पदाधिकारीमा लड्ने उम्मेदवारको संख्या ४१ भएको हो ।
पदाधिकारीका प्रतिस्पर्धी ४१ जना मध्ये एक जना मात्र ५० वर्ष मुनिका छन् । ४१ वर्षकी उनी हुन्- रचना खड्का । खड्का सचिव पदमा उम्मेदवार छिन् । १०औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य थिइन् । यसपटक पदाधिकारीमा प्रतिस्प्रर्धा गर्दैछिन् ।
बाँकी उम्मेदवारहरूमा ५० देखि ५९ वर्षमा १२ जना छन् । ६० देखि ७० वर्षका २६ र ७१ वर्ष माथिका दुई जना रहेका छन् ।
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पुरा गरेको नागरिकलाई जेष्ठ नागरिक भनेको छ । जेष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेदवारहरूको संख्या २८ छ । यो कूल उम्मेदवारको ६८.२९२ प्रतिशत हो ।
अध्यक्षका प्रत्यासी दुवै केपी शर्मा ओली र ईश्वर पोखरल ७० वर्ष माथिका छन् । अध्यक्षमा तेहेरिन खोजेका ओली ७४ वर्षका भए ।
२००८ साल फागुन ११ गने जन्मिएका ओली २०५१ सालमै गृहमन्त्री भएका थिए । त्यसयता निरन्तर नेपालको राजनीतिमा रहेका उनी २०६३ मा उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए । ९ औं र १०औं महाधिवेशनबाट अध्यक्ष भएका ओली २०७२, २०७४, २०८१ सालमा गरेर तीनपटक नेपालको प्रधानमन्त्री भइसकेका छन् ।
११औं महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार पोखरेल ७२ वर्षका भए । २०१० साल माघ २० गते जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा छन् ।

२०४७ मा स्थापना भएको नेकपा एमालेको केन्द्रीय सदस्य रहेका उनी २०५४ मा पोलिटब्युरो तथा स्थायी समिति सदस्य हुँदै २०६५ र २०७० मा दुई पटक एमाले महासचिव भए । १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका पोखरेलले यसपटक अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेल २०७४ मा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भएका थिए । पहिलो संविधानसभामा छोटो समयका लागि उपप्रधानसहित मन्त्री भए । २०६० सालमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।
एमालेमा अध्यक्षपछिको कार्यकारी पद महासचिव हो । यसमा दुई जना उम्मेदवार छन् । १०औं महाधिवेशनबाट महासचिव भएका शंकर पोखरेल दोहोरिन खोजेका छन् भने सुरेन्द्र पाण्डेले पोखरेललाई टक्कर दिँदैछन् ।
पोखरेल ६३ वर्षका भए भने पाण्डे ६७ वर्ष पुगे ।
२०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेल २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएका थिए । विद्यार्थी राजनीतिकै क्रममा पटकपटक जेल परेका उनले भारतमा अध्ययन गर्दा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीहरूको हकहितको पक्षमा संघर्ष गरेका थिए । मदन भण्डारीको सम्पर्कमा आएपछि उनी २०४२ सालमा नेपाल फर्किएर विद्यार्थी राजनीतिमा संगठित र क्रियाशील भएका उनी निरन्तर नेपालको राजनीतिमा छन् ।
२०५१ सालमै एमालेको प्रचार विभाग प्रमुख भएका उनी २०५४ मा नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । २०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य भए । २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सचिव भए ।

२०७१ मा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए । त्यतिबेला स्थायी कमिटी सदस्य भएर काम गरे । २०७८ मंसिरमा चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट सर्वसम्मत महासचिव भए । ११औंबाट फेरि दोहोरिन खोजेका छन् ।
महासचिवका प्रत्यासी सुरेन्द्रप्रसाद पाण्डे २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् । पञ्चायतकालमा भूमिगत भएर विद्यार्थी युवा र मजदूर संगठनमा आवद्ध भएका उनी २०४६ सालको जनआन्दोलनमा पार्टीको कोशी अञ्चल कमिटी इञ्चार्जका रुपमा सक्रिय थिए ।
एमालेमा २०४९ देखि २०७५ सम्म लगातार केन्द्रीय सदस्य रहेका उनी स्थायी कमिटी सदस्य हुँदै अगाडि बढ्दै आएका नेता हुन् । १०औं महाधिवेशनबाट उपाध्यक्ष भएका थिए । ११औं मा उनी कार्यकारी जिम्मेवारी लिनेगरी महासचिव पदको उम्मेदवार भएका छन् ।
५ उपाध्यक्षमा ११ प्रतिस्पर्धी
पाँच उपाध्यक्षका लागि ११ जना प्रतिस्प्रर्धा गर्दैंछन् । ११ जनामा ६० वर्ष मुनिका एक जना छन्– डा.विन्दा पाण्डे । उनी ५९ वर्षकी भइन् । १०औं महाधिवेशनबाट उनी स्थायी समिति सदस्य चुनिएकी थिइन् ।
२०३७ सालमा अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेकी पाण्डे विद्यार्थी राजनीतिक हुँदै अगाडि बढेकी नेता हुन् ।
२०४७ मा पार्टी सदस्य भएकी उनी २०६१ मा ने कपा एमाले केन्द्रीय महिला विभाग सचिव हुँदै २०६५ मा एमाले केन्द्रीय सदस्य बनेकी थिइन् । २०७१ मा एमाले पोलिटब्यूरो सदस्य थिइन् ।
२०७८ मा स्थायी समिति सदस्य भइन् र यसपटक उपाध्यक्षमा चुनाव लड्दैछिन् । डा. पाण्डे उपाध्यक्षमा एक मात्रै महिला उम्मेदवार पनि हुन् ।

बाँकी १० जना उम्मेदवार सबै ६० वर्ष वा ६० वर्षभन्दा माथिका छन् । उपाध्यक्षका उम्मेदवार अरुण नेपाल ६५ वर्षका भए । २०१७ सालमा जन्मिएका उनी यसअघि केन्द्रीय सदस्य थिए ।
उपाध्यक्षका उम्मेदवारहरू गुरूप्रसाद बराल, रघुजी पन्त परशुराम मेघी गुरूङ र पृथ्वी सुब्बा गुरुङ ६८/६८ वर्ष रहेका छन् । गोकर्ण राज विष्ट ६० वर्षका भए । टंक कार्की र रामबहादुर थापा (बादल) ७० वर्ष पुगे । भीम प्रसाद आचार्य र विष्णुप्रसाद पौडेल ६६/६६ वर्षका छन् ।
सचिवमा दोब्बर बढी उम्मेदवार
निर्वाचनबाट उपमहासचिवमा तीन र सचिवमा ९ जना चुनिनेछन् । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनाव लडेकाले दोब्बर उम्मेदवारी पर्नु स्वभाविक हो । तर, सचिव पदमा दोब्बर बढी उम्मेदवार छन् ।
उपमहासचिको तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ९ जना सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ ।
उपमहासचिवका उम्मेदवारहरूमा ६० वर्ष मुनिका एक जना छन्– योगेश भट्टराई । उनी ५९ वर्षका भए । उनी १०औं महाधिवेशनबाट सचिव भएका थिए । यसपटक उपमहासचिवमा उम्मेदवार छन् ।
बाँकी ५ जना उम्मेदवार ६० वर्ष माथिका छन् । उपमहासचिवका उम्मेदवार वैजनाथ चौधरी ६० वर्ष, आनन्द प्रसाद पोखरेल ६६ वर्षका भए । उपमहासचिवका उम्मेदवार रघुवीर महासेठ ६४ वर्ष, लेखराज भट्ट ६६ वर्ष र विष्णुप्रसाद रिमाल ६३ वर्ष छन् ।
९ सचिव पदमा २० जनाको उम्मेदवारी छ । जसमा ९ जना ६० वर्ष मुनिका छन् ।
सचिवका उम्मेदवार रचना खड्का ४१ वर्षकी भइन् । महेश बस्नेत ५१ वर्षका भए । गोकुल प्रसाद बास्कोटा र शेरधन राई ५५ वर्ष पुगे । अर्का उम्मेदवार पेम्बा लामा र इन्द्रलाल सापकोटा ५६/५६ वर्षका छन् । पद्मा कुमारी अर्याल, ठाकुर प्रसाद गैरे, राजन भट्टराई र कर्ण बहादुर थापा ५७/५७ वर्षका छन् ।
विनोद प्रसाद ढकाल ५८ वर्ष पुगे । पुरूषोत्तम पौडेल र हिक्मत कुमार कार्की ६१/६१ वर्षका भए । छविलाल विश्वकर्मा ६३ वर्ष पुगे । ६४ वर्षका तीन जना छन्– भानुभक्त ढकाल, यामलाल कंडेल र खगराज अधिकारी । अर्का उम्मेदवार अग्नि प्रसाद खरेल ६५ वर्षका भए । सचिवका उम्मेदवारद्धय कृष्ण गोपाल श्रेष्ठ र लालबाबु पण्डित ६७/६७ वर्षका छन् ।
प्रतिक्रिया 4