News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको पाँच करोड कित्ता ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरेको छ।
- नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि पुस १ गते संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट अग्राधिकार सेयर बाँडफाँट गरिएको हो।
- अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेपछि बैंकको पूँजीगत आधार बलियो भई जोखिम भार क्षमता बढ्ने विश्वास लिइएको छ।
२ पुस, काठमाडौं । नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि (व्यक्तिगत तवर) बाट प्रस्ताव आह्वान गरी प्राप्त आवेदन बमोजिम अग्राधिकार सेयर बाँडफाँट गरिएको हो ।
नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात, यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक यस बैंकले प्राप्त गरेको हो ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर निश्चित भुक्तानी अवधि नतोकिएको तर बैंकले वितरणयोग्य मुनाफा आर्जन गरेको वर्षमा निश्चित लाभांश पाउने विशेषता भएको पूँजी बजार उपकरण हो ।
यस उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पूँजीका माध्यमबाट पूँजीगत आधार बलियो भई बैंकको जोखिम भार क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरको २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।
के हो अविमोच्य असञ्चिति अग्राधिकार सेयर ?
यो एक विशेष किसिमको सेयर हो जुन, संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउँछन् । अंकित मूल्य १ सय रुपैयाँ तोकिएको हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।
यस्तो सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचीकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्थाअनुसार हुनेछ ।
यस्तो धितोपत्रको रकम फिर्ता वा साधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोकेबमोजिम हुने निर्देशिकामा उल्लेख छ ।
पूँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विकल्प यसअघि नै राष्ट्र बैंकले खुला गरेको थियो ।
बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ ।
यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था छ ।
पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ ले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशत यस्तो सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ ।
प्रतिक्रिया 4