
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको मार्ग खोलिदिएको छ।
- संस्थागत लगानीकर्ताले मात्रै लगानी सक्नेछन् र सर्वसाधारण लगानीकर्ता, व्यवसायीले किनबेच गर्न पाउने छैनन्।
- बैंकहरूले जारी गर्ने यस्तो सेयरमा भुक्तानी अवधि तोक्न नपाउने व्यवस्था छ।
२३ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुला गरिदिएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौं पटक संशोधन गर्दै बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि मार्ग प्रशस्त गरेको हो । संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउने यस्तो सेयरको अंकित मूल्य १ सय रुपैयाँ हुनेछ ।
निर्देशिका संशोधन भएसँगै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्नेछन् ।
निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।
यस्तो सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचीकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्थाअनुसार हुनेछ । परिपत्र विधिमार्फत बिक्री भएको सेयर संस्थागत लगानीकर्ताले मात्रै खरिदबिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने छ । त्यस्तो सेयर सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले किनबेच गर्न पाउने छैनन् ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियामकबाट रोक लगाइएको अवस्थामाबाहेक यस्तो सेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न पाउने छैन ।
यस्तो धितोपत्रको रकम फिर्ता वा साधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोकेबमोजिम हुने निर्देशिकामा उल्लेख छ ।
पूँजी कोषको दवावमा रहेका बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विकल्प यसअघि नै राष्ट्र बैंकले खुला गरेको थियो ।
बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ ।
यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था छ ।
पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ ले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशत यस्तो सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ ।
यस्तो सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निहित हुनेछ । लाभांशसम्बन्धी व्यवस्था इजाजतपत्र प्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।
प्रतिक्रिया 4