News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्राइड प्रालिले फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा ७ टिम सहभागी हुनेछन् जसमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स रहेका छन्।
- प्रत्येक टिममा कम्तीमा ११ खेलाडी रहनेछन् जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी अनिवार्य हुने आयोजकले बताएको छ।
६ पुस, काठमाडौं । कोशी प्राइड प्रालिको आयोजनामा तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि सुरु हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको मिति, लोगो तथा सहभागी टिमहरूको नाम सार्वजनिक गरेको हो।
प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा कुल ७ टिमको सहभागिता रहनेछ। नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुनेछन्।
पत्रकार सम्मेलनमै टिमका मालिकहरूको पनि परिचय गराइएको छ। नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित ढकाल, बिर्तामोड हिट्सका अनुराग प्रमानिक (प्रतिनिधि जीवनकुमार यादव), पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नासका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन्।
आयोजकका अनुसार प्रत्येक टिममा कम्तीमा ११ खेलाडी रहनेछन्। जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनेछ। खेलाडी अक्सनको मिति चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
कोशी प्राइड लिगले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट कार्यक्रमलाई मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ। यो नेपालको सबैभन्दा ठूलो डोमेस्टिक लिग भएको आयोजकको दावी छ ।
साथै, यस प्रतियोगिताबाट भविष्यमा नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नयाँ प्रतिभा उत्पादन हुने अपेक्षा गरिएको छ।
केपीएलका निर्देशक अफजल हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने आशा व्यक्त गरे । उनले यही प्रतियोगितामार्फत राष्ट्रिय टिम तथा एनपिएलको लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको बताए ।
‘केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुनेमा आशावादी छु । यही प्रतियोगिताबाट नेपालीहरुको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल) र नेपालको उमेर समूह तथा राष्ट्रिय टिमको लागि नयाँ–नयाँ खेलाडीहरु उत्पादन हुनेमा विश्वस्त छु’ उनले भने ।
यस्तै आयोजकले खेलाडी अक्सन मिति चाँडै घोषणा गर्ने जनाएको छ । अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।
क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’
प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले नेपाली क्रिकेट विकासमा मद्धत गर्ने धारणा राखे ।
सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आायोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् । ‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हुँदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।
झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम भएको बताएका छन् । ‘दोस्रो एनपीएल भर्खरै सम्पन्न भएको छ । एनपिएलको चर्चा पछि धेरै प्रतियोगिता भएका छन् । निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो’ उनले भने ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर






प्रतिक्रिया 4