६ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनमा होमिएको दाबी गरेका छन् ।
ठूला राजनीतिक दलहरूले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले सो दाबी गरेका हुन् ।
आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामहरूबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताए ।
उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे । सञ्चारमन्त्री खरेलले सरकार जेनजी आन्दोलनको मर्मअनुसार काम गरिरहेको बताए ।
उनले भने, ‘मुलुक अहिले चुनावमा होमिसकेको अवस्था छ । सबै राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर अहिले चुनावको वातावरण छाएको छ । र आगामी २१ फागुनमा चुनाव हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात गर्दै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले कामहरू अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरू भइनै रहेको छ । सरकार समग्रमा यो नागरिक सरकार भएको कारणले जेनजी आन्दोलनको मर्म अनुसार अघि बढेको म जानकारी गराउन चाहन्छु ।’
त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको पनि बताए ।
प्रतिक्रिया 4