८ पुस, काठमाडौं । जनअधिकार पार्टीले मधेसमा प्रतिपक्षविहिन संसद बनेको भन्दै चिन्ता व्यक्त गरेको छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाको शतप्रतिशत मत पाएका छन् ।
मधेश सभालाई प्रतिपक्षविहीन बनाउनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको भएको जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले बताए ।
‘संसद्मा सबै दल सत्तापक्ष बन्नुले सरकारलाई निरङ्कुश बन्ने बाटो खोल्छ र जनसरोकारका मुद्दाहरू ओझेलमा पर्ने खतरा रहन्छ । लोकतन्त्रको सुन्दरता नै चेक एण्ड ब्यालेन्स (सन्तुलन र नियन्त्रण) मा अडिएको हुन्छ,’ अध्यक्ष यादवले भने,‘प्रतिपक्षबिनाको सरकारले जनताप्रति उत्तरदायी हुनुको साटो सत्ताको भागबण्डामा मात्र ध्यान केन्द्रित गर्ने निश्चित छ । मधेश प्रदेशको हालको अवस्थालाई हेर्दा, संसदीय व्यवस्थाको आधारभूत सिद्धान्तलाई नै कुल्चिएर ‘स्वार्थको राजनीति’ मौलाएको देखिन्छ । यो वास्तवमै लोकतन्त्रको उपहास हो ।’
संसद्मा जनअधिकार पार्टी नभएपनि सडकबाट आवाज उठाइराख्ने उनले बताए ।
प्रतिक्रिया 4