News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले आर्थिक वर्ष २०८१/८२ सम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी कर बुझाएको छ।
- एनसेलले मुलुकभरि १ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।
- एनसेलले गत आवमा करिब १७ अर्ब रुपैयाँ कर तिरेको छ जसमा जीएसएम लाइसेन्स नवीकरण शुल्क पनि समावेश छ।
८ पुस, काठमाडौं । निजी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अहिलेसम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ ।
एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्म राज्यलाई उक्त परिमाण बराबर कर बुझाएको तथ्यांकमा देखिन्छ । कम्पनीले सरकारलाई बुझाएको राजस्व रकम सरकारले एक आर्थिक वर्षमा विनियोजन गर्ने पूँजीगत बजेटभन्दा माथि हो ।
सरकारले गत आव पूँजीगत बजेट ३ खर्ब ५३ अर्ब विनियोजन गरेको थियो । तथ्यांक अनुसार एनसेलले गत आवसम्म ३ खर्ब ५७ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ कर बुझाएको तथ्यांक छ ।
एनसेलले हरेक वर्ष राज्यलाई अर्बौं रुपैयाँ कर बुझाएको छ । एनसेलले मुलुकभरि १ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको कम्पनीको तथ्यांक छ ।
विज्ञहरू एनसेलले राज्यलाई कर मात्रै तिरेको अर्थमा बुझ्दा योगदान अपूर्ण हुने बताउँछन् । ‘एनसेलको योगदान रकममा मात्रै छैन, यसले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान दिएको छ,’ एक अर्थविद् भन्छन्, ‘दूरसञ्चारमा एकाधिकार रहेको यो क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै दूरसञ्चार सेवाको पहुँचमा व्यापक विस्तारमा एनसेलको ठूलो योगदान छ ।’
पछिल्लो समय एनसेल दूरसञ्चार कम्पनीमा मात्र सीमित नभई अर्थतन्त्र विकासमा एक महत्त्वपूर्ण साझेदार भएको उनको विश्लेषण छ ।
तथ्यांक अनुसार एनसेलले हालसम्म तिरेको करले करिब १ हजार ८ सय मेगावाट क्षमता जलविद्युत् आयोजना निर्माण बनाउन पर्याप्त हुन्छ । देशभरिका सबै मानिसलाई तीन वर्षसम्म नि:शुल्क आधारभूत स्वास्थ्य सेवा दिन सकिने बराबर बजेट उपयोग गर्न सकिन्छ ।
एनसेलले आव २०६१/६२ देखि गत आवसम्म बुझाएको यो रकम सरकारले कुनै आर्थिक वर्षमा विभिन्न विकास परियोजनामा गर्ने खर्च बराबर रकम हो ।
एक वर्षमा एनसेलले तिर्यो १७ अर्ब कर
एनसेलले गत आव मात्रै करिब १७ अर्ब रुपैयाँ कर बुझाएको छ । एनसेलका अनुसार गत आव जीएसएम लाइसेन्स नवीकरण शुल्कबापत २ अर्ब ८५ करोड रुपैयाँ बुझाएको छ ।
दूरसञ्चार सेवा शुल्कबापत २ अर्ब ८२ करोड १३ लाख ५ हजार ४ सय ५१ रुपैयाँ बुझाएको छ भने त्यस्तै स्वामित्व कर ६० करोड ८ लाख ९१ हजार तिरेको छ ।

त्यस्तै नेट भ्याट पेमेन्ट अन सेल्स ३ अर्ब ११ करोड ४९ लाख रुपैयाँ तिरेको छ । भन्सार शुल्क ५४ करोड ८६ लाख, टीडीएस ५५ करोड २५ लाख र एडभान्स ट्याक्स २ अर्ब १३ करोड रुपैयाँ बुझाएको तथ्यांक छ ।
यसैगरी रोयल्टी बापत १ अर्ब ३५ करोड रुपैयाँ बुझाएको छ । ग्रामीण दूरसञ्चार सेवा शुल्क ६७ करोड ८५ लाख र फ्रिक्वेन्सी शुल्क २ अर्ब २५ करोड ९२ लाख रुपैयाँ बुझाएको एनसेलको तथ्यांक छ ।
पछिल्ला वर्ष टेलिकम कम्पनी नेपाल टेलिकम र एनसेल दुवैको करमा योगदान घट्दो क्रममा छ । १ मंसिरमा सरकारले कर तिर्ने उत्कृष्ट कम्पनी र व्यक्तिलाई सम्मान गर्दा यी दुई कम्पनी धेरै आयकर तिर्ने अथवा उत्कृष्ट करदाताका सूचीमा अटाएनन् ।
‘उत्कृष्ट करदाता हुन धेरै कर तिर्नुपर्यो, तर दूरसञ्चार क्षेत्रमा आएको शिथिलता र आयमा गिरावटले टेलिकम कम्पनी पिल्सिएका छन्,’ ती अर्थविद्ले भने, ‘बरु, दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरण आफैं उत्कृष्ट आयकरदाता संस्था बनेको छ ।’
टेलिकम कम्पनीबाट लिइएका विभिन्न शुल्क र बैंकको ब्याजमा भएको आयका आधारमा कर तिर्दा प्राधिकरण उत्कृष्ट आयकरदाता बनेको छ ।
प्रतिक्रिया 4