+
+
Shares

धनगढीमा प्रभावकारी बन्दै विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:१९

८ पुस, धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएको छ । धनगढीको मेयरमा गोपाल हमाल निर्वाचित भएर आएपछि उनकै परिकल्पनामा थालिएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा प्रभावकारी बन्दै गएपछि सर्वसाधारण नागरिकले घर-आँगनमै स्वास्थ्य उपचार सेवा पाइरहेका छन् ।

आर्थिक वर्ष २०७९/८० देखि विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याइएकोमा हालसम्म झन्डै डेढ लाखले वडास्तरमै सेवा लिएका छन् । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म एक लाख ४५ हजार ३६६ जनाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट उपचार गराएका छन् ।

स्वास्थ्य क्लिनिकबाट लाभ लिनेमा सबैभन्दा धेरै चुलोचौकोमा व्यस्त हुने महिला देखिएका छन् । आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८२/८३ सम्मको अवधिमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट एक लाख ११ हजार ५६७ महिला लाभान्वित भएका छन् । उनीहरूले घरदैलोमा स्वास्थ्य उपचार सेवा पाएका छन् ।

तर, विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट लाभ लिने पुरुषको संख्या भने तेब्बर बढीले कम देखिएको छ । यो अवधिमा वडा स्वास्थ्य क्लिनिकबाट ३३ हजार ९०० पुरुषले मात्रै सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

महिलाहरू घरकै काममा व्यस्त हुने भएकाले प्राय सामान्य खालको स्वास्थ्य समस्या भएको खण्डमा चेकजाँच गर्न स्वास्थ्य संस्था जाँदैनन तर धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याएपछि भने घरदैलोमै उनीहरू उपचार सेवा पाइरहेका छन् ।

सोही कारण समेत विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा पुरुषको तुलनामा महिला सेवाग्राहीको संख्या बढी देखिएको स्वास्थ्य शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा मात्र ११ हजार ७३२ जनाले लाभ लिएका छन् । उनीहरूमध्ये ८ हजार ७१२ महिला र तीन हजार २० जना पुरुष रहेका छन् ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा जनरल फिजिसियन सेवा लिनेको संख्या सबैभन्दा धेरै छ । सेवा थालेदेखि अहिलेसम्म जनरल फिजिसियनतर्फ ७८ हजार ७३६ जनाले स्वास्थ्य उपचार गराएका छन् ।

जनरल फिजिसियनपछि प्रयोगशाला सेवा ४१ हजार, आँखासम्बन्धी समस्या भएका ४० हजार जना, स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञ सेवाबाट २६ हजार बढी सर्वसाधारणले उपचार पाएका छन् ।

१० हजार सेवाग्राहीले ईसीजी सेवा, ७ हजारले अल्ट्रासाउन्ड सेवा लिएका छन् । उनीहरूमध्ये २२ हजार बढी सेवाग्राही ७० वर्ष उमेर पुगेकाहरू छन् ।

स्वास्थ्य शाखाका अनुसार विशेष वडा स्वास्थ्य क्लिनिक सञ्चानन भएपछि आमनागरिकले सहज रूपमा गुणस्तरीय सेवा पाएको प्रतिक्रिया दिएका छन् । उपमहानगरपालिकाले समेत आगामी दिनमा दायरा विस्तार गर्दै सेवालाई थप प्रभावकारी बनाइने जनाएको छ ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमार्फत सर्वसाधारणले आँगनमै उपचार सेवा पाउने मात्रै नभएर गम्भीर प्रकृतिको रोगको पहिचानमा समेत सहजता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?