+
+
Shares

एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम, गुरु बराल पहिलो नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फ १०१ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
  • प्रदेश कमिटीले सिफारिस गरेको सूचीमा पूर्वउपाध्यक्ष गुरु बराललाई पहिलो नम्बरमा राखिएको छ।
  • उम्मेदवार सिफारिस प्रक्रियामा असन्तुष्टि बढ्दै गएपछि पार्टीभित्र पारदर्शिता र छलफलको माग उठेको छ।

११ पुस, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश कमिटीले पठाएको सूचीको पहिलो नम्बरमा एमालेका पूर्वउपाध्यक्ष गुरु बरालको नाम समावेश छ । एमालेको ११ औं महाधिवेशनमा पराजित भएका बराललाई प्रदेशले ‘सिनियर’ नेताको रूपमा पहिलो प्राथमिकतामा राखेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार जिल्ला कमिटीले पठाएको नामावलीकै आधारमा आकांक्षीको नाम पठाइएको हो । उनका अनुसार गुरु बराल र रोमनाथ ओलीसहित १०१ जनाको नाम सिफारिस गरिएको हो । बराल पार्टीको सिनियर नेता भएकाले नाम पहिलो नम्बरमा राखिएको उनको भनाइ छ ।

एमाले मोरङ जिल्ला कमिटीले बरालसहित २८ जनाको नाम समानुपातिकका लागि प्रदेश समक्ष सिफारिस गरेको थियो । अन्य जिल्लाले पनि प्रदेशमा पठाएको थियो ।

सिफारिस प्रक्रियामा असन्तुष्टि, अपारदर्शी भएको आरोप

उम्मेदवार सिफारिससँगै एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि बढेको छ । इतर पक्षका नेताले असन्तुष्टि जनाएका हुन् । पार्टीका केही नेताहरूले पर्याप्त छलफल नगरी ‘सुटुक्क’ नाम पठाइएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

एमाले मोरङ जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीले उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई कार्यकर्ताको भावनामाथिको प्रहार बताएका छन् । ‘समानुपातिक उम्मेदवार छनोट प्रक्रिया जुन ढंगले गोप्य रूपमा गरियो, त्यसमा मेरो गम्भीर आपत्ति छ,’ बुढाथोकीले भने, ‘आम कार्यकर्ताको योगदान र अधिकारलाई बेवास्ता गरेर गरिएको यो निर्णय अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।’

पार्टीभित्र पर्याप्त छलफल गरेर पारदर्शी गर्नुपर्ने त्यसो नगरेको उनले बताए । पार्टीभित्र विधि र पारदर्शिताको साटो नेतृत्वले ‘खल्तीबाट’ नाम छनोट गरेको भन्दै असन्तुष्ट पक्षले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?