+
+
Shares

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे रसुवागढी जलविद्युतको स्थलगत निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ८:२१

१३ पुस, रसुवा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लेहेन्दे खोला (भोटेकोशी) को बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पछिल्लो प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन् ।

शाक्यले १११ मेगावाटको आयोजनाको स्थलगत निरीक्षणसँगै त्यहाँको प्राविधिक पक्षबारे पनि जानकारी लिएका थिए ।

चिलिमे जलविद्युत आयोजनाका सीईओ बाबुराज महर्जन, उत्पादन विकास तथा सहायता विभागका निर्देशक राजा भाइ शिल्पकार, प्राधिकरणका निर्देशक श्रीराम पोखरेल, त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख सुरज दाहाललगायतको टोलीसहित रसुवागढी पुगेका शाक्यले आयोजनाको बाँध, पावर हाउसलगायतका संरचनाको निरीक्षण गरेका हुन् ।

उनले निरीक्षणसँगै कठिन समयमा पनि मिहिनेतका साथ काम गरेको भन्दै आगामी दिनमा अझ प्रभावकारी प्रविधिको प्रयोग गर्दै काम गर्न निर्देशन दिए । ‘मानसिक त्रासमा बसेर लगातर काम गरेर यो सफलता प्राप्त गर्नुभयो अहिले दुई ओटा युनिट सञ्चालनमा ल्याउनुभयो यो प्रशंसनीय काम हो,’ उनले भने, ‘यो सुख्खा मौसममा पनि यी दुई युनिटबाट करिब ४५ मेगावाट विद्युत उत्पादन भैरहेको छ । यो गतिशीलतालाई कायम राख्नुहोस् । अहिलेसम्मको प्रगति राम्रो छ । तर, प्राकृतिक विपत्ति आइलाग्यो । यद्यपि अरु अवस्थामा तपाईंहरुको मिहिनेतले थप सुधार गरेर अघि बढ्दा यस्ले थप राम्रो गर्छ भन्ने मलाई लागेको छ ।’

उनले आवश्यक सहयोगका लागि प्राधिकरण तयार रहेको भन्दै डिजाइनमा भएका केही कमजोरीलाई सच्याएर आगामी दिनमा अहिलेको भन्दा राम्रो गरेर अघि बढ्न पनि सुझाव दिए ।

उनले पहिले गरेको डिजाइनभन्दा अहिले बस्तुस्थिति फरक भएको र नदीले आफ्नो धारसमेत परिवर्तन गरेको भन्दै त्यसै अनुसार डिजाइनमा परिवर्तन गरेर जानुपर्ने बताए । उनले पावर हाउसको पनि निरीक्षण गरेका छन् ।

विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएको रन-अफ- रिभरको यो आयोजनाले वार्षिक ३ अर्व २५ करोड आन्दामी गर्ने लक्ष्य लिएको थियो । तर, बाढीले क्षति पुर्‍याउँदा ११४ करोड मात्रै आम्दानी गर्न सफल भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले बताए । ‘हामीले एक अर्व ७३ करोडको बिमा दाबी गरेका छौं । हामी भर्खरै विस्तारै लयमा फर्किएका छौं । अब थप तयारीका साथ अघि बढ्छौं’, उनले थपे ।

आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विधुत उत्पादनको लक्ष राखेको सन्तोष अधिकारीले जानकारी दिए । रसुवामा आएको बाढीले ३५० मेगावाटका आयोजना निर्माणको काममा अवरोध गरेको थियो । त्यसैगरी २५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?