१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सहमति भएसँगै जेनजीले पनि आफूहरूसँग छुट्टै सम्झौता गर्नुपर्ने माग राखेका छन् ।
सोमबार साँझ कमलपोखरीमा रास्वपा र उनेपाबीच भएको सहमतिकै क्रममा जेनजीले आफूहरूसँग पनि छुट्टै सहमति गरिनुपर्ने र त्यसपछि मात्र जेनजी रास्वपामा जोडिने सर्त राखेका हुन् ।
छलफलमा सहभागी एक जेनजी अगुवाका अनुसार जसरी बालेन र उनेपासँग रास्वपाले सहमति गर्यो त्यसरी नै आफूहरूसँग सहमति गरेर समेट्नुपर्ने कुरा उठाएका हुन् ।
‘उहाँहरूसँग जसरी सहमति भयो, हामीलाई पनि त्यही प्रक्रियाबाट समेट्नुपर्छ । हाम्रा पनि केही कुरा छन्,’ छलफलमा सहभागी जेनजी उपार्जुन चाम्लिङ राई भन्छन्, ‘सरकारसँग भएका सम्झौताका कुरालाई पार्टीले अपनत्व लिन्छ भन्नेमा ढुक्क गर्नुपर्छ । अनि मात्र जेनजी यस पार्टीमा जोडिन्छौँ भनेर हामीले भन्यौं ।’
यसरी जेनजीहरूले कुरा राखेपछि रास्वपा सभापति रवि लामिछानेले त्यसमा कुनै आपत्ति नभएको बताए । जेनजीहरूलाई पनि आफूले समेट्ने कुरामा आश्वस्त पारे ।
यो भन्दै गर्दा निकै उत्साही देखिएका लामिछानेले जेनजीसँग भने, ‘जोड्ने कुरामा कुनै आपत्ति नै भएन । हामी सँगै छौं । बरु अब जेनजीबाट पनि एउटा खबरदारी समूह बाहिरै चाहिन्छ ।’
यसबारे थप स्पष्ट पार्दै लामिछानेले थपे, ‘अब त हामी यति बलियो भयौं कि प्रतिपक्षी नै नरहने भयो । प्रतिपक्षी त जसरी पनि चाहिन्छ । हामी यति बलियो हुँदा प्रतिपक्षी कमजोर भयो भने गाह्रो हुन्छ । यसको लागि जेनजीका केही समूह सडकमा खबरदारीको लागि रहनुपर्छ ।’
लामिछानेले जेनजीबाट संसद बन्न उमेरले छेक्नेहरूलाई संकेत गर्दै खबरदारी समूह बनाएर सडकमा रहन भनेको छलफलमा सहभागी जेनजी राईले बताए ।
यसको जवाफमा जेनजी अगुवा रिजन राना मगरले ‘ढुक्क रहनुस्, कुनै हालतमा प्रतिपक्षी कमजोर हुँदैन । तपाईंले सोचेभन्दा बलियो प्रतिपक्षी पाउनुहुन्छ’ भनेर जवाफ दिएको जेनजी राईले बताए ।
यसबाहेक जेनजी अगुवा रक्षा बमको जिज्ञासामा लामिछानेले आफू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सधैँ प्रतिवद्ध रहेको बताए । र, जेनजी आन्दोलनले नै आफूहरूलाई एक ठाउँमा ल्याएको स्वीकार्दै सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताको आधारमा पार्टीले सहमति गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘तपाईंहरूलाई एक ठाउँमा ल्याउने काम हामीले गरेका हौं । जुन सरकारसँगको दश बुँदे सहमति भयो, त्यसको आधारमा हामीसँग पनि सम्झौता गर्नुपर्छ,’ भन्ने जेनजीको सरोकारमा लामिछानेले भने, ‘त्यही दश बुँदे र जेनजी आन्दोलनको मर्मलाई बोक्नेगरी सहमति हुन्छ । यसमा ढुक्क रहनुस् ।’
योसँगै अब जेनजी फ्रन्ट, द काउन्सिल अफ जेनजी र जेनजी मुभमेन्ट अलायन्सले संयूक्त वार्ता टोली बनाएर ड्राफ्टमा काम गर्नेछन् ।
र, त्यसमै टेकेर रास्वपासँग छिट्टै सम्झौता गरिने जेनजी अगुवाहरूले अनलाइनखबरसँग बताए । यसको लागि रास्वपा पनि सकारात्मक रहेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया 4