+
+
Shares

हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैद फैसला भएको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८२ पुष १५ गते ९:५४

१५ पुस, काभ्रेपलाञ्चोक । ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् ।

घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने प्रतीक गौतमलाई जन्मकैद फैसला भएको हो ।

सोमबार काभ्रेपलाञ्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनीहरूलाई जन्मकैदको फैसला गरेको अदालतका स्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

कार्कीका अनुसार रोशनी महत, सञ्जय खत्री, मेनुका महत र दिपेश पौडेलले भने सफाइ पाएका छन् ।

जन्मकैद सजायँ पाएकाहरुबाट २–२ लाख रुपैयाँका दरले पीडितलाई भराउन पनि अदालतले भनेको छ । उनीहरुबाट जनही २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने आदेश पनि अदालतले दिएको छ ।

यो प्रकरणमा मतियारको रुपमा मुद्दा चलाइएका काठमाडौंको शंकरापुर नगरपालिका–५ का सरिन घिमिरेलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारणका लागि अर्को पेशी तोकिएको छ । यो प्रकरणमा संलग्न भनिएका अंशु खान र शिवम सिं राजपुत फरार छन् ।

अपहरणपछि हत्या

काठमाडौं कीर्तिपुर नगरपालिका–५ मा मासु पसल सञ्चालन गर्दै आएका खड्गीलाई उक्त समूहले २०८१ असोज ५ गते राति अपहरण गरी फिरौती रकम असुलेर हत्या गरेका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महतले भारतीय र नेपाली नागरिकसँग मिलेर कीर्तिपुरका विनोदको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मनिषा, अंशु, शिवम, सरिन र रिकेशले फिरौतीको योजना बनाएर विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै बोलाएर सुरुमा रक्सी खुवाएका थिए । त्यसपछि हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गरेका थिए । सुरुमा ३० लाख रुपियाँ फिरौती माग गरिएको थियो । पछि मनिषाले नै १० लाख भए हुने भन्न थालिन् ।

विनोदले भने आफूसँग त्यति पैसा नभएकाले पाँच लाख दिन तयार रहेको बताए । आफ्नोमा काम गर्ने कर्मचारीलाई फोन गरी पाँच लाख रुपियाँ लिई भक्तपुर राधेराधेमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि बोलाएर अपहरणमा संलग्न टोलीका सदस्यलाई रकम बुझाउन लगाएका थिए ।

फिरौती रकम लिइसकेपछि पोल खुल्ने डरले असोज ५ गते राति कुटपिट गरी हत्या गरेको प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

हात, खुट्टामा डोरीले बाँधी, भक्तपुरको गुण्डुमा लगेर छातीलगायत संवेदनशील अंगमा इँट्टाले हानी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । हत्यापछि शवलाई उनीहरुले पाँचखाल–८ स्थित ४९ किलोमा लगेर फालेका थिए ।

विनोदको हत्यापछि असोज ६ गते अंशुले मनिषालाई १ लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अंशुकी दिदी रोशनी महतलाई ५० हजार गरी एक लाख ८० हजार रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानकै क्रममा मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेको खुलेको थियो ।

भारतमा पनि लुटपाटमा संलग्न

अंशु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेको पाइएको अनुसन्धानमा संलगन एक अधिकृतले बताए ।

भारतबाट नेपाल फर्किएपछि पनि धनी व्यक्तिलाई ‘हनी ट्र्याप’मा पार्ने र रकम लुट्ने काममा उनी संलग्न भएको पाइएको प्रहरीको भनाइ छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?