+

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

२०८२ पुष  १५ गते १९:४३ २०८२ पुष १५ गते १९:४३
सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन राहुल विश्वकर्माले ११-अन्डर १३३ स्कोरसहित शीर्षस्थान कायम राख्न सफल भएका छन्।
  • भुवन कुमार रोक्काले ४-अन्डर १४० स्कोरसहित दोस्रो स्थान हासिल गरेका छन् भने जयराम श्रेष्ठ तेस्रो स्थानमा छन्।
  • प्रतियोगितामा १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन् र उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

१५ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।‌

गोकर्ण गल्फ क्लबमा राहुलले ५-अन्डर ६७ को स्कोर बनाए। समग्रमा ११-अन्डर १ सय ३३ को स्कोरमा राहुलले प्रोफेसनल खेलाडी भुवन कुमार रोक्कालाई ७ स्ट्रोकले पछि पारे। भुवन समग्रमा ४-अन्डर १ सय ४० को नतिजामा दोस्रो स्थानमा उक्लिए। उनले आज ५-अन्डर ६७ स्कोर गरे। आज इभन-पार ७२ खेलेका जयराम श्रेष्ठ समग्रमा १-अन्डर १ सय ४३ को स्कोरमा तेस्रो स्थानमा तल झरे।

समग्रमा १-ओभर १ सय ४५ को स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिए। उनले दोस्रो दिनको खेल इभन-पार ७२ मा सकाए। समग्रमा २-ओभर १ सय ४६ को स्कोर बनाएका नेपाल नम्बर १ प्रो निरज तामाङ (६९), शुक्र बहादुर राई (७१) , दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) ले संयुक्त रूपमा पाँचौं स्थान बाँडे।

यस्तै ४-ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१) , प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्तरुपमा आठौं स्थानमा रहे।

उपाधि रक्षा गर्ने दाउमा रहेका राहुलले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले। उनले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे भने चौथो र छैटौं होलमा बोगी खेपे। यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा पनि एक-एक सट बचाए। तर १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे। यो सँगै उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

भुवन रोक्काले आज ५-अन्डरको स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ खेले। पहिलो, तेस्रो, पाँचौं र आठौं होलमा चार बर्डी प्रहार गरे। छैटौं र सातौं होलमा एक-एक सट खेर फाले। यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे। उनले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए।

जयरामले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गरे। तर आठौं होलमा डबल बोगी खेपे। यसपछि १०औं, १७औं र १८औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १६औ होलमा बोगी र फेरि १५औं होलमा डबल बोगीको समाना गरे।

११-ओभर १ सय ५५ स्कोर गरेका १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन्। प्रोतर्फ सूर्य प्रसाद शर्मा, तोरण विक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धन बहादुर थापा, टंक बहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाए। एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए।

११-ओभर १ सय ५५ स्कोर बनाए पनि काउन्ट ब्याकमा एमेच्योर वाङ्चेन ढोनमडुपसँगै भीमसेन चौलागाई, सञ्जय लामा र सबिन सापकोटाले कट बनाउन सकेनन्।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन्।

सूर्य नेपाल सेन्ट्रल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय