+
+
Shares

सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १४:५८

२० पुस,  वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका हुन् ।

‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्‍याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरूको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ,’ उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’

टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ ।

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरुले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरूले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बम बताउँछन् ।

सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?