+
+
Shares

कुलमान र बालेन पक्षलाई जोड्न पदाधिकारीको संख्या बढाउने रास्वपाको निर्णय

उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १७:०७

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको संख्या थप गर्ने निर्णय लिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले ४ जना पदाधिकारी थप गर्ने निर्णय गरेको हो । उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थप गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टी एकीकरण एवं विस्तारको क्रममा पार्टीले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारीको संख्या थप गर्ने निर्णय भएको उनले बताए ।

रास्वपाको विधान अनुसार उपसभापतिमा एक महिला सहित तीन जना हुने व्यवस्था छ । विधानको यही व्यवस्था कार्यान्वयन भए तीन मध्ये एक जना महिला उपसभापति हुनुपर्नेछ । हाल कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । तीन जनामा महिला उपसभापति नभएको हुँदा रास्वपाले विधान संशोधन गर्नुपर्ने भएको छ । उज्यालो नेपाल रास्वपासँग एकता हुँदा कुलमानलाई उपसभापति पद सहित भित्र्याइएको थियो ।

विधान अनुसार महामन्त्री एक जना हुने प्रावधान छ । आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री पदमा एक जना थप्ने निर्णय गरेको छ । हाल रास्वपाको महामन्त्री कविन्द्र बुर्लाकोटी छन् । एक महिला सहित सहमहामन्त्री तीन जना हुने विधानको व्यवस्था छ । सहमहामन्त्री एक जना थप्ने निर्णय गरिएको छ । एक महिला सहित तीन जना हुने सहमहामन्त्रीमा सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि वीपीनकुमार आचार्य मात्रै सहमहामन्त्री छन् ।

सहप्रवक्ता पनि एक जना थप्ने निर्णय गरिएको छ । फरक लिङ सहित सहप्रवक्ता हुने व्यवस्था अनुसार हाल प्रतिभा रावल र रमेश प्रसाईं उक्त जिम्मेवारीमा छन् । रास्वपाको विधान अनुसार २५ जना पदाधिकारी हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?