News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगितामा सहारा युवा क्लब सुख्खड र गौरीगंगा ११ स्पोर्ट्स क्लबले पहिलो खेल जितेका छन्।
- सहारा युवा क्लब सुख्खडले हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ भने गौरीगंगा ११ स्पोर्ट्स क्लबले युथ अफ टिकापुरलाई ३–१ गोल अन्तरले हराएको छ।
- प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।
२० पुस, काठमाडौं । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा आइतबार सहारा युवा क्लब सुख्खड र गौरीगंगा ११ स्पोर्ट्स क्लबले आ–आफ्ना खेल जित्दै प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।
आइतबार सम्पन्न पहिलो खेलमा साहारा युवा क्लब सुख्खडले हरियाली युवा क्लब जोशीपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्यो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
खेलको दोस्रो मिनेटमै सहारा युवा क्लब सुख्खडका सौगात धामीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २५औं मिनेटमा हरियाली युवा क्लब जोशीपुरका अरविन्द्र डगौराले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा सहारा युवा क्लबले ४ गोल गर्दा हरियाली युवा क्लब जोशीपुरले मात्र २ गोल गर्न सक्यो। टाइब्रेकरमा दुई प्रहार बचाएका सहारा युवा क्लबका गोलरक्षक अनिल नेपाली म्यान अफ दि म्याच घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा गौरीगंगा ११ स्पोटर्स क्लबले युथ अफ टिकापुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ। यसअघि पहिलो खेलमा कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ति क्लबलाई ५–२ ले हराएको युथ अफ टिकापुर दोस्रो खेलमा भने लय कायम राख्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको सातौं मिनेटमै गौरीगंगा ११ स्पोटर्स क्लबका सन्तोष बोहराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर नवौं मिनेटमा युथ अफ टिकापुरका प्रिन्स रावलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि २१औं मिनेटमा रविन्द्र विकले गोल गर्दै गौरीगंगा ११ स्पोटर्स क्लबलाई २–१ को अग्रता दिलाए।
खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलको अन्त्यतिर ८२औं मिनेटमा आदर्श साउँदले गोल गर्दै गौरीगंगा ११ स्पोटर्स क्लबको जित सुनिश्चित गरे। आदर्श साउँद म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिताको छैटौं खेल सोमबार संघर्ष स्पोटर्स क्लब गोदावरी र बसर युवा क्लब चुरेबीच हुनेछ।
कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोलीहरू सहभागी छन्।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ।
यसैगरी, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिएका छन्।
प्रतिक्रिया 4