+
+
Shares

५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता 

रासस रासस
२०८२ पुष २१ गते ९:३८

२१ पुस, खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताएका छन् । ‘म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरें’, उनले भने, ‘हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।’

घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । ‘मैले पढेलेखेको थिइनँ । नागरिकता बनाएर पनि के काम भन्ने लाग्थ्यो ! तर, मेरो नागरिकता नहुँदा छोरीहरुलाई समस्या पर्दोरहेछ !’, केशरबहादुरले भने, ‘आफूले केही नगरेपनि छोरीहरुलाई केही गराउनुपर्छ भन्ने लागेको छ । तर, मसँग नागरिकता थिएन । सबैको सहयोगमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ‘

झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताए । ‘सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ’, उनले भने, ‘नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।’

आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताउका छन् । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आएका केशरबहादुरकी कान्छी छोरी कक्षा-३ मा अध्ययनरत छन् ।

चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिक नेपाली नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?