२१ पुस, काठमाडौं । चिनियाँ गिरोहको योजनामा चितवनमा कार्यालय नै खडा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ठगी भएको खुलेको छ ।
खैरहनी नगरपालिका-६ मा एसएमसी एड्भरटाइजिङ सर्भिस प्रालि नामको कम्पनी खोली त्यसको आवरणमा नेटवर्क विस्तार गरेर ठूलो रकम ठगी गरेको खुलेको हो । केन्द्रीय साइबर ब्युरोले लामो अनुसन्धानपछि यो गिरोहका ११ सदस्य पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जिन्जाङ, तनहुँका १९ वर्षीय सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवनका सोनम खातुन टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मियाँ अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवासप्रसाद कलवार छन् ।
यो समूहविरुद्ध अहिलेसम्म २५५ वटा सामूहिक उजुरी आएको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । ठगिने एकै परिवारका धेरै सदस्यसमेत छन् । अहिलेसम्मको उजुरीअनुसार १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ ठगी भएको खुलेको छ । यो संख्या थप बढ्न सक्ने प्रहरीले बताएको छ ।
अन्तर्राष्ट्रिय आवरण देखाएर यो समूहले अनलाइन स्क्यामिङ गरेको प्रहरीले बताएको छ । विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रोस, डेन्सीसँग सहकार्य रहेको र चलिचित्रको विज्ञापन हेरेवापत पैसा पाइने झुटो दाबी गरी एसएमसी नामको मोबाइल एपमा आबद्ध गराएको खुलेको एसपी अवस्थीले बताए ।
पिरामिड शैलीमा संगठन विस्तार गरी संगठित रुपमा ठगी गरेको प्रहरीले बताएको छ । यसमा ७० हजार सदस्य रहेका छन् । सदस्यहरुलाई तीन तहमा विभाजन गरिएको छ ।
ए वर्गीकरणमा परेकालाई १२ प्रतिशत कमिसन र दैनिक कामको ५ प्रतिशत, बी लेभलकालाई निक्षेपमा ४ प्रतिशत र दैनिक कामको २ प्रतिशत कमिसन र सी लेभलकालाई निक्षेपमा १ प्रतिशत र दैनिक कामको १ प्रतिशत नै आम्दानी हुने प्रलोभन देखाएको प्रहरीले बताएको छ ।
उनीहरूले कुनै काम नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने पोन्जी मोडल अपनाएको प्रहरीले बताएको छ । यसका साथै ब्ल्याक रक जस्ता काल्पनिक कोषमा रकम राख्ने र दैनिक १.२ प्रतिशतसम्भ्म प्रतिफल दिने भन्दै ठगी गरेको ब्युरोले बताएको छ ।
प्रतिक्रिया 4