+
+
Shares

मस्यौरामा सरकारको नयाँ गुणस्तर : भटमास र अन्न मिसाउन प्रतिबन्ध, प्रोटिन १५ प्रतिशत अनिवार्य

नयाँ व्यवस्था अनुसार अब मस्यौरा भनेर बिक्री गरिने खाद्य पदार्थमा मास (कालो दाल) वा अन्य दलहन प्रयोग अनिवार्य गरिएको छ भने तौल बढाउन वा सस्तो बनाउन अन्न, भटमास वा तिनबाट बनेका उत्पादन मिसाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मस्यौराको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्ड तोकेको छ जुन ९१ दिनपछि अनिवार्य लागु हुनेछ।
  • नयाँ मापदण्ड अनुसार मस्यौरामा मास वा दलहन अनिवार्य प्रयोग गर्नुपर्ने र अन्न वा भटमास मिसाउन पूर्णरूपमा प्रतिबन्ध छ।
  • मस्यौराको प्याकेजिङमा सफा र सुक्खा फूड ग्रेड प्याकेट प्रयोग गरी सामग्री विवरण स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

२२ पुस, काठमाडौं । नेपाली भान्सामा तरकारीको विकल्पका रूपमा लोकप्रिय मानिने मस्यौराको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरकारले मापदण्ड निर्धारण गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको मस्यौराको नयाँ गुणस्तर मापदण्ड सोमबार नेपाल राजपत्रमा प्रकाशित भएसँगै अबको तीन महिनापछि यो नियम अनिवार्य लागु हुनेछ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रका अनुसार राजपत्रमा सूचना प्रकाशित भएको मितिले ९१औं दिनदेखि बजारमा आउने मस्यौराले सरकारले तोकेको नयाँ मापदण्ड पूरा गरेको हुनैपर्छ ।

नयाँ व्यवस्था अनुसार अब मस्यौरा भनेर बिक्री गरिने खाद्य पदार्थमा मास (कालो दाल) वा अन्य दलहन प्रयोग अनिवार्य गरिएको छ भने तौल बढाउन वा सस्तो बनाउन अन्न, भटमास वा तिनबाट बनेका उत्पादन मिसाउन पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

सरकारले तोकेको परिभाषा अनुसार मस्यौरा बनाउँदा मास वा दलहन भिजाएर त्यसको बोक्रा फाली वा नफाली लेदो बनाउनुपर्ने छ । उक्त लेदोमा पिँडालु, कर्कलो, तरुल, आलु, कुभिन्डो वा अन्य सागपात तथा तरकारी मिसाएर वा नमिसाइ स–साना डल्ला वा अन्य आकारमा तयार पारी प्राकृतिक रूपमा फर्मेनटेसन हुन दिनुपर्ने छ।

यसरी तयार भएको वस्तुलाई घाममा, सोलार ड्रायरमा वा मेसिनको सहायताले सुकाएपछि मात्र मस्यौरा तयार भएको मानिने छ । यसमा स्वाद र बासनाका लागि मसलाजन्य पदार्थहरू मिसाउन पाइने भए पनि कृत्रिम रङ प्रयोग गर्न भने पाइने छैन ।

मस्यौराको रासायनिक गुणस्तरमा पनि सरकारले स्पष्ट सीमा रेखा कोरेको छ । अब बजारमा बिक्री हुने मस्यौरामा सुक्खा तौलको आधारमा कम्तीमा १५ प्रतिशत कुल प्रोटिन हुनैपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

त्यस्तै मस्यौरा राम्ररी सुकेको हुनुपर्ने भन्दै मापदण्डमा ओसिलोपना (जलांश) मात्रा बढीमा ११ प्रतिशतमात्र हुनुपर्ने उल्लेख छ । यसबाहेक कुल भष्म ४ प्रतिशत र डाइलुट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म ०.१५ प्रतिशतभन्दा बढी हुन नहुने प्राविधिक मापदण्ड तय गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै मस्यौराको भौतिक स्वच्छतामा पनि कडाइ गरिएको छ । मस्यौरा स्वच्छ, सफा हुनुका साथै यसमा ढुसी परेको, किरा लागेको, सडेको वा ओसिएको हुनु हुँदैन ।

मस्यौराभित्र ढुंगा, बालुवा, माटो, सिसा, प्लास्टिक, धातुका टुक्राजस्ता अजैविक वाह्य पदार्थ तथा कपाल, रौं, भुस, चोकर, पराल, किरा वा मुसाका अवशेषजस्ता जैविक फोहोर रत्तिभर पनि भेटिन नहुने मापदण्डमा उल्लेख छ ।

त्यस्तै जीवनाशक विषादी, हेभी मेटल्स र अन्य हानिकारक टक्सिनको मात्रा पनि सरकारले तोकेको सीमाभन्दा बढी हुन नहुने जनाएको छ ।

उत्पादित मस्यौरा बजार पठाउँदा प्याकेजिङ र लेबलिङमा पनि विशेष ध्यान दिनुपर्ने छ । उत्पादकले मस्यौरालाई सफा र सुक्खा ‘फूड ग्रेड’ प्याकेटमा हावा नछिर्ने गरी सिलबन्द गर्नुपर्ने छ । प्याकेटको बाहिरी भागमा टाँसिने लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेबमोजिमका विवरण खुलाउनुपर्ने छ ।

विशेषगरी उपभोक्ता झुक्याउने काम नहोस् भन्नका लागि मस्यौरा तयार गर्दा कुन–कुन वस्तु (जस्तै, मास, पिँडालु आदि) सम्मिश्रण गरिएको हो, त्यो विवरण स्पष्ट देखिने गरी प्याकेटमै उल्लेख गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?