२३ पुस, धरान । गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वारी दिएर दुई ठूला महागठबन्धनका उम्मेद्वारलाई हराउँदै धरानका मेयर निर्वाचित हर्क साम्पाङ देशकै प्रधानमन्त्री बन्ने अभियानमा होमिएका छन् ।
मेयरका रुपमा श्रमदानलाई जोड दिएर धरान केन्द्रीत गतिविधि गरिररहेका साम्पाङले प्रधानमन्त्री बन्ने उद्देश्य सहित आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी बनाएका छन् । पार्टी अध्यक्ष भएर उनी देश दौडहामा छन् ।
सँगसँगै श्रम अभियान पनि देशभर फैलाउने अभियान छन् । विशेषगरी कोशी प्रदेश र प्रवासमा उनको आकर्षण बढ्दो छ । कोशीका हरेकजसो जिल्लामा साम्पाङको स्वागतमा ठूल्ठूला सभा भएका छन् ।
धेरैजसो सभालाई आफै सम्बोधन गरिरहेका साम्पाङ शनिबार आफ्नै नगर धरानमा थिए, र दिनभर ढुंगा बोकेर बिताए ।
साम्पाङसँग उनले चलाइरहेको श्रम अभियान, पार्टी निर्माण र राष्ट्रिय राजनीतिबारे अनलाइनखबरकर्मी सइन्द्र राईले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :
तपाईँलाई स्वागत गर्नेको त भीड देखिन्छ, मान्छे खुब उतार्नु भएको छ ?
मैले मान्छे उतारेको होइन, यो समय र परिस्थितिको माग हो । परम्परागत राजनीतिक अभियानहरूमा प्रलोभन दिएर मान्छे भेला गर्ने गरिन्छ, तर हाम्रोमा त्यस्तो छैन । मानिसहरू स्वत:स्फूर्त आइरहनुभएको छ ।
मान्छे भेला पार्ने माध्यम फेसबुक नै हो ?
फेसबुक पहिलेदेखि नै चलाउँथेँ । म एक्लो अभियन्ता हुँदाताका मेरा दुईवटा स्थायी साथी थिए– फेसबुक र गिटार ।
म, मेरो फेसबुक र एउटा गिटार गरी हामी तीन जनाबाट यो आन्दोलन सुरु भएको हो । अहिले त थुप्रै साथीहरू जोडिनुभएको छ । तर फेसबुक र गिटार मेरा स्थायी साथी हुन् ।
फेसबुक र गिटारलाई साथ लिएरै मेयर जित्नुभयो । तर अब त्यतिले पुग्दैन भन्ने निष्कर्षमा पुग्नु भएको हो ?
स्थानीय चुनावमा एक्लै लडेर सफल भएँ, तर अहिले राष्ट्रिय राजनीतिको कुरा छ । हाम्रो वर्तमान संसदीय प्रणाली र संविधान परिवर्तन भएको छैन । यदि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था हुन्थ्यो भने म दल खोल्दिनथेँ । तर संवैधानिक व्यवस्थाअनुसार दल खोल्नु मेरो बाध्यता भयो ।
एक्लै हिँड्दा र बोल्दा कतिपयले तपाइलाई घमण्डी भन्छन् । प्रधानमन्त्री हुने आत्मविश्वास चाहिँ कत्तिको छ ?
आत्मविश्वास नभए मान्छे बाँच्नै सक्दैन । म स्पष्ट छु– कहाँ जाने, के गर्ने र कसरी जाने भन्ने कुरामा । मेरो यही स्पष्टतालाई मानिसहरू घमण्ड भन्छन्, तर यो केवल आत्मविश्वास हो ।
अरूलाई जसरी गाली गर्नु हुन्छ, त्यसआधारमा घमण्डी भनेको पनि हुन सक्दैन ?
मैले गाली गरेको होइन, यथार्थ बोलेको हो । हाम्रो समाजमा साँचो कुरा सुन्ने बानी छैन । अरूलाई जे सुन्न मन पर्छ, त्यही बोलिदिने चलन छ । पानीको धारालाई पानीको धारा नभनेर के भन्ने ? यथार्थ बोल्दा कसैलाई रिस उठ्छ भने त्यसलाई गाली भन्न मिल्दैन ।
पहिले पुराना दलहरुको विरोध गर्नुहुन्थ्यो, अहिले नयाँलाई । यो पनि सत्य हो नि ?
राजनीति एउटा खेल जस्तै हो, जहाँ प्रतिस्पर्धीहरू जित्नकै लागि उत्रिन्छन् । कतिपय झुठ बोलेर जित्न खोज्छन्, हामी साँचो बोलेर जित्न खोज्छौं । फरक यति हो ।
अर्थात् आउने चुनावमा नयाँहरुबीच नै प्रतिस्पर्धा हुन्छ भन्ने तपाईको बुझाइ हो ?
पुराना दलहरूको अब आधार बाँकी छैन । उहाँहरू उठ्न सक्ने स्थितिमा हुनुहुन्न । कांग्रेस–एमालेका धेरै मानिस र पूर्वमन्त्रीहरूले समेत मलाई भेट्न र फोन गर्न थाल्नुभएको छ । उहाँहरूलाई अब आफ्नो ‘पुरानो घर’ सुरक्षित छैन भन्ने महसुस भइसकेको छ ।
पुराना दलका नेताहरू तपाईंलाई भेट्दै हुनुहुन्छ ?
थुप्रैले टिकट माग्नुभएको छ, तर गोपनीयताका कारण नाम भन्दिनँ । हामी उहाँहरूको मूल्यांकन गर्दैछौं । सबैलाई त होइन, तर केही स्वच्छ छवि भएकाहरूलाई समेट्न सकिएला । यद्यपि हाम्रो प्राथमिकतामा नयाँ अनुहार नै धेरै हुनेछन् ।
श्रम संस्कृति पार्टीको उम्मेदवार बन्न कस्ता मापदण्ड तय गर्नुभएको छ ?
हाम्रो उम्मेदवार हुन निष्कलंक हुनुपर्छ । भ्रष्टाचारमा नमुछिएको र सामाजिक सेवामा योगदान दिएको व्यक्ति हुनुपर्छ । केवल स्वच्छ छवि भएर मात्र पुग्दैन, समाजले चिनेको पनि हुनुपर्छ ।
पुराना दलमा पनि निष्ठावान मान्छे देख्नु भएको छ ?
सबै मान्छे गलत छन् भन्न मिल्दैन । तर देशको अवस्था बिग्रनुमा शीर्ष नेतृत्व नै जिम्मेवार छ ।
अन्य दल र तपाईंको पार्टीमा नेतृत्व चयनको प्रक्रिया कसरी फरक हुन्छ ?
परम्परागत पार्टीहरूमा चण्डाल र चाप्लुसी गर्नेहरूले पद हत्याउँछन् । तर हाम्रोमा त्यस्तो हुँदैन । मेरो वरिपरि घुम्ने वा धेरै चुरीफुरी गर्नेलाई भन्दा पनि टाढा बसेर धैर्यताका साथ इमानदार भएर काम गर्नेलाई ‘वाच’ गर्छु । जो मसँग आउन हिचकिचाउँछ, तर काममा खटिन्छ, म उसैलाई टिप्छु । अर्को फरक हाम्रोमा नेता वा कार्यकर्ता हुँदैन । हामी ‘अगुवा श्रमदाता’ हौँ । आफूलाई म नेता मान्दिनँ, सबै एउटै हौँ– देशका लागि पसिना बगाउने मान्छे ।

तपाईं एक्लै अभियानमा निस्कनुहुन्छ, कहिलेकाहीँ डर लाग्दैन ?
मलाई कत्ति पनि डर लाग्दैन । म कति इमानदार छु भन्ने मलाई थाहा छ । आज लाखौँले साथ दिनुभएको छ, भोलि कोही नहुँदा पनि म आफ्नो बाटो छोड्दिनँ । मैले यो माटोलाई बचन दिएको छु, त्यो पूरा गरेरै छोड्छु । म एकोहोरो मान्छे हुँ, एकचोटी घोचेपछि नझरुञ्जेल घोचिरहन्छु ।
राजनीतिमा सपना देखाएर बीचैमा धोका दिनेहरू धेरै छन्, तपाईंलाई कसरी विश्वास गर्ने ?
म व्यक्तिगत प्राप्तिका लागि यो क्षेत्रमा आएको होइन । यदि व्यक्तिगत सुख खोज्नु हुन्थ्यो भने अन्य क्षेत्रमा पनि सफल हुन सक्थेँ । संसारको इतिहासमा जनताको सेवाका लागि साढे तीन वर्षदेखि ढुङ्गा बोकिरहेको छ । कोही छ त्यस्तो जनप्रतिनिधि संसारमा ? हिजो दिनभरि पनि ढुङ्गा बोकेरै आएको हुँ । म आफूलाई पूर्ण रूपमा समर्पित गरेरै निस्किएको मान्छे हुँ, त्यसैले कसले साथ दियो वा दिएन भन्ने कुराले मेरो यात्रा रोकिँदैन।
पार्टी त बनाउनुभयो, अब यो पार्टी कत्रो बन्ला भन्ने चिन्ता त होला ?
लक्ष्य स्पष्ट छ– नेपाली जनताले हामीलाई बहुमत दिनुपर्छ । किन बहुमत दिनुपर्छ भन्ने आधार धेरै छन् । अरू गफ गर्छन्, हामी काम गर्छौँ । हामी रिजल्ट देखाउँछौ । भोलि हाम्रो सरकार बनेपछि नेपालभरी श्रम अभियान चलाउँछौं । स्कुलमा झारिदिन्छु श्रम संस्कृति ।
श्रमदान नगरी विद्यार्थीले सर्टिफिकेट नपाउने व्यवस्था गरिदिन्छु । सबैले काम गरेपछि कति उत्पादन र निर्माण होला ? तर मरीमरी गर्नुपर्छ भन्ने होइन । कतिपयले श्रम शोषण भन्छन् । तर सकेको त गर्नु पर्यो नि ! बावुले मात्र काम गर्ने र छोराहरुले खुट्टा हल्लाएर खाने ? सबैले काम गर्नुपर्छ भनेको श्रम संस्कृति हो । यसलाई राष्ट्रिय नीतिमा ल्याउँछौ ।
कामकै कुरा गर्दा बितेको तीन वर्षलाई संक्षेपमा समीक्षा गर्नुहुन्छ ?
सबैभन्दा ठूलो कुरा देशको स्वाधीनता हो । लकडाउनको समयमा एमसीसी पास गर्न खोज्दा प्रहरीको लाठीको डर नमानी एक्लै भानुचोकमा प्रदर्शनमा उत्रिएँ । घरमा बिदा मागिवरी गएको थिएँ, म नफर्कन पनि सक्छु भनेर ।
यहाँका मसिना ठुला सबै मुद्दा उठाएर हिडेँ । धरानमा असोजदेखि पानीको ट्यांकर कुद्थ्यो । पानीको ब्यापार हुन्थ्यो । मेयरको अगाडि ट्यांकरको सूची हुन्थ्यो ।
पानी माफियाहरूसँग एक्लै लडेर धरानेलाई पानी खुवाएको छु । कोकाहाको मुहान पुग्न यहाँबाट तीन दिन लाग्छ, भिरको बाटो बास बस्दै जानुपर्छ । त्यहाँको दु:ख देख्नुभयो भने तपाईं रुनुहुन्छ । त्यति दु:ख गरेर पानी ल्याउँदा मलाई सहयोग गर्नुको सट्टा उल्टै मुद्दा लगाइयो । तर म हार्ने मान्छे होइन, मैले जे ठानेँ त्यो पूरा गरेरै छाडेँ ।
मैले दूरदर्शिता राखेर ‘श्रम संस्कृति पार्क’ बनाएँ, जुन अहिले धरानको मात्र होइन, पूर्वकै धेरै आम्दानी हुने पार्क बनेको छ । त्यसमा सरकारको एक रुपैयाँ लगानी छैन, तर त्यो अरबौँको सम्पत्ति हो । कसैले आफ्ना पुर्खाको नाममा, कसैले स्वर्गवासी बा–आमाको नाममा सहयोग गर्नुभएको छ ।
यहाँ सुम्निमा–पारुहाङको प्रतिमा बन्दैछ, त्यसमा पनि नगरपालिकाको पैसा लगाउँदिनँ । सरकारी पैसा त रोल्पा–रुकुमका ती ठाउँमा लगाउनुपर्छ, जहाँ केटाकेटी अझै तुइन चढेर स्कुल जान्छन् ।
जनताले मलाई विश्वास गर्नुहुन्छ, म युके जाँदा त्यहाँका नेपालीहरूबाट ५ करोड २९ लाख रुपैयाँ विकासका लागि लिएर आएँ । बिना बजेट विकास गर्न सक्ने क्षमता ममा छ । सरकारी बजेटबाट विकास त अरु शहरहरुमा अरुले पनि गरेकै छन् नि । सरकारी बजेटको काम गर्नु कुनै विशेष योग्यताको कुरा होइन ।
तपाईं आफूलाई प्रधानमन्त्रीको रूपमा सोचिरहनुभएको छ ?
धरानमा मैले देखाइदिएँ कि एउटा स्वतन्त्र मेयरको अधिकार कति हुन्छ । म हचुवाको भरमा आएको मान्छे होइन, म पूर्ण योजनाका साथ हिँडेको छु ।
धरानको विकासमा एउटा विधि छ– एकातिर रेडबुकको काम ठेकेदारले गर्छ, अर्को कुनामा श्रमदाताले श्रम गर्छ । ठेकेदारले ६ महिना लगाउने काम अर्कोतिर श्रमदाताले एक महिनामै सक्छन् । समाजलाई सोध्न चाहन्छु– यस्तो अलौकिक विकासको विधि ल्याउनेलाई प्रधानमन्त्री नबनाएर कस्तोलाई बनाउने ?
सिंहदरबार जलाउन बाध्य बनाउने, सिंहदरबार जलाउने, सिंहदरबारलाई पार्टी अफिस जस्तो बनाएर राख्ने, आफ्नो बाहेक अरु पार्टीको पहुँज नहोस् जस्तो बनाउने …
सिंहदरबार जलाउन बाध्य बनाउने भनेको ?

सिंहदरबार जनताको कहिल्यै हुन सकेको थिएन, त्यो एउटा पार्टी अफिस जस्तो मात्र भयो । म अभियन्ता हुँदा आफ्नै खल्तीको पैसा सकेर हप्ता दिनसम्म मन्त्रीको समय पाएको छैन । समय नपाएपछि सिंहदरबार अगाडि प्लेकार्ड बोकेर उभिँदा पुलिसले घोर्क्याएर लगेको इतिहास छ ।
म जस्तो मुखर मान्छे त त्यहाँ छिर्न सक्दिनँ भने आफ्नो ठेगाना समेत भन्न नसक्ने सोझा जनताको त्यहाँ कसरी पहुँच पुग्ला ? सिंहदरबारलाई साँच्चै जनताको बनाउनु पर्नेछ ।
सिंहदरबार जनताको थिएन ?
सिंहदरबार कहिल्यै जनताको थिएन । दलहरुले त्यस्तो बनाउनु गलत थियो । तर त्यस्तो थियो भन्दैमा जलाइहाल्नु पनि त भएन ।
जस्तै– तपाईँ र म दाजुभाइ हो । तपाईँले पुर्खौली घर कब्जा गर्नुभयो, जहाँ मैले पनि बस्न पाउनुपर्थ्यो । तर तपाईँले कब्जा गरेको कारण मैले आगो लगाइदिएँ । भनेपछि भाइको अधिकार छिनेर कब्जा गर्नु तपाईँको गल्ती हो, तर दाइले बस्नु दिएन भनेर जलाउनु मेरो गल्ती हुन्छ कि हुन्न ?
पुर्खाको नासो त जल्यो, घरै जलेपछि अब तपाईँ पनि सडकमा आउनुभयो । जहाँ म पहिलेबाटै थिएँ । (हाँसो.. )
सिंहदरबार जल्नुमा तपाईँको फरक मत हो ?
सिंहदरबार जेनजीले जलाएकै होइन । प्लस टु पढिरहेका नानीहरुले त्यस्तो काम गर्छ ? घुसपैठ भयो नि ।
त्यसपछि तपाईँमा अब प्रधानमन्त्री बन्नुपर्छ भन्ने लाग्यो ?
थुप्रै युवा साथीहरूले ‘हामी तपाईंलाई सडकबाटै प्रधानमन्त्री घोषणा गर्छौँ, तपाईंको लागि मर्न तयार छौँ’ भन्नुभयो । तर मैले हात जोडेर बिन्ती गरेँ– प्लिज त्यसो नगरौँ ।
म पसिना बगाएर क्रान्ति गर्ने मान्छे हुँ, कसैको रगत बगाएर सत्ताको कुर्सीमा बस्न चाहन्नँ । म श्रमदान गर्दागर्दै, ढुङ्गा बोक्दा बोक्दै प्राण जाओस् भन्ने चाहना राख्ने मान्छे हो । दुई दिनको जिन्दगीमा पापको कर्म गरेर मर्नु छैन ।
तर प्रधानमन्त्री हुन्छु भन्दै निस्कनु भएको त हो नि ?
म रहरले गएको थिइनँ । त्यतिबेला नेपालको एक मात्र जनप्रतिनिधि म थिएँ, जो ती युवाहरूको आन्दोलनलाई सम्बोधन गर्न भानुचोक पुगेँ । अरू सबै त डराएर लुकेका थिए । म त्यहाँ नगएको भए हाम्रो पनि नगरपालिका जल्न सक्थ्यो । किनकि यो पनि सरकारी कार्यालय हो भन्ने रिस हुन्थ्यो ।
पुसिल हात उठाएर भागेको होइन । त्यस्तो स्थितिमा म बाहिर निस्किएको हुँ । प्रधानमन्त्री हुन गयो भन्ने मात्रै किन कुरा गर्ने ?
फेरि देशभित्र र बाहिरका नेपालीले तारन्तार फोन गरेर ‘तुरुन्त जानुस्, देश सम्हाल्नुस्’ भन्नुभयो । त्यसबेला त्यो फोनहरू पनि जनादेश थियो । यसपछि म नफर्कन पनि सक्छु भन्ने जोखिम मोलेर काठमाडौं गएको हुँ । कर्फ्यु लागेको थियो, जताततै काटमार र कुटाकुट भइरहेको समय थियो, त्यो ।
जेन्जीहरू मारिँदा उनीहरूको दु:खमा कपाल खौरिएर शोक मनाउने मान्छे म हुँ । अनि मलाई खिसीट्युरी गर्ने ? अनि त्यही बसेर जेनजीको अन्त्येष्टि हुँदा पनि नजाने मान्छे प्रधानमन्त्री बनाउने भनेर मिडिया ट्रायल चलाइँदैछ अहिले ।
मिडिया ट्रायल मात्रै होइन, निर्णय नै गरेका छन् नि ?
(हाँसो..) । तर यो देशको सरकार अब विदेशीले होइन, स्वदेशीले बनाउनुपर्छ । नेपाली जनताले बनाउनुपर्छ ।
त्यतिखेर (जेनजी आन्दोलनपछि) पनि विदेशकै डिजाइन रहेछ । सैनिक मुख्यालयभित्र जाँदा प्रधानसेनापतिले ‘क्याबिनेटको लिस्टमा तपाईंको नाम पनि छ, तर प्रधानमन्त्रीमा छैन’ भन्नुभयो ।
अरूले नै बनाइदिएको रहेछ ?
अलरेडी रहेछ (अचम्म मान्दै) । म जानु बित्तिकै प्रधानसेनापतिसँग भेटियो मुख्यालयमा । मन्त्रीमा नाम छ भन्नु हुन्छ । हिजो अस्तिसम्म खानेपानी र श्रम मन्त्री बनिदिनुपर्यो भनेर धाएको धायै थिए ।
एक्लै हुनुहुन्थ्यो, स्वतन्त्र भएर जित्नुभयो । तर पार्टी खोल्नुभयो । अब ढुंगा बोक्न मान्छे किन आउँछन् र दलमा ? अरुतिरै जान्छन् नि होइन ?

हो, यही कुरामा फरक छौँ । हामी रुपमा होइन, तात्विक हिसाबमै फरक छौं । कतिले भन्नुहुन्छ– रवीजीसँग किन नमिलेको ? बालेनजीसँग किन नमिलेको ?
म जुन विचार र धरातलबाट उठेको मान्छे हो, उहाँहरू होइन । मेरो श्रम संस्कृति अहिले धरानमा मात्र हुँदैन । गाउँघर, शहर, नेपालैभरी हुन्छ । काठमाडौंमा हुन्छ । कीर्तिपुरमा त्यत्रो बनमारा फाँडेर मनमोहक पार्क निर्माण गर्दै हुनुहुन्छ हाम्रा श्रमदाताहरुले ।
तर तपाईँको पार्टीमा ढुंगा बोक्न किन आउँछन् मान्छेहरू ?
देश सबैको हो । देश बनाउने जिम्मा मैले मात्रै लिएर हुँदैन । म मान्छेलाई भन्छु– ऐना हेर्दा जो देखिन्छ, उही हो देश बनाउने मान्छे ।
अब उसलाई थाहा हुन्छ को हो देश बनाउने मान्छे ? त्यसैले मलाई नेता नठान्नु, नमस्ते नगर्नु भन्छु । धरानमा श्रमदाताहरू मलाई नमस्ते गर्दैनन् र गर्न पनि पर्दैन । हामी बराबर हौँ, सबैले ढुङ्गा बोक्ने हो ।
देश बनाउन श्रमदान गर्नुपर्छ भनिरहँदा परिवार चलाउने कुरा पनि उठ्ला नि ?
मैले सातै दिन काम गर्नुपर्छ भनेको छैन । हाम्रो नारा हो– ६ दिन पेट, १ दिन देश ।
पछि हामी सरकारमा पुगेपछि तीन दिन हुन्छ । स्कुल नै तीन दिन खोल्ने हो, त्यो भन्दा धेरै खोल्नु पर्दैन । बाँकी ३ दिन विद्यार्थीले व्यावहारिक ज्ञान लिन्छन् । त्यही देशका लागि श्रम भइहाल्छ ।
कुनै अनुसन्धान नगरी अथवा अरूसँग सल्लाह नगरी फ्याट्टै तीन दिन किन भन्नु हुन्छ । भोलि चार दिन हुन सक्ला …
होइन, ३ दिन नै खोल्नुपर्छ । किनभने धेरै त काम गर्नुपर्छ । तपाईँ र म यहाँ २ घण्टा गफ गर्यौं भने ४ घण्टा काम गर्नुपर्छ । तर ४ घण्टा गफतिर लाग्यौं भने उत्पादकत्व घट्छ, उल्टो हुन्छ ।
अब श्रम गरेर देश बन्छ भन्ने प्रश्न गर्नेहरुलाई सोध्छु– श्रम नगरी अरू के गरेर देश बन्छ त ? कसैले उत्तरै दिदैन । किनकि उत्तरै नै छैन ।
श्रमदान किन गर्नुपर्छ भने हामी विकासको दौडमा पछि पर्यौ । तपाईँ राम्रो घर बनाउनु हुन्छ दश तले । तर अगाडिको बाटो बनेको हुँदैन । ढलै बनेको छैन । व्यक्ति त बन्यो, तर देश नबनेको रहेछ । देश पनि छिटो बनोस् भनेको हो । छिमेकीहरू चीन, भारत कहाँबाट कहाँ पुगिसक्यो । हामीलाई रोजीरोटीकै समस्या छ ।
तपाईँमा देश नबनेको चिन्ता छ, श्रम संस्कृतिले देश बन्छ भन्ने अडानमा हुनुहुन्छ । अरु धेरै कुरामा प्रशंसा नै भएको पाइन्छ । तर फेसबुक स्टेटस अलि बढी लेख्नु हुन्छ, किन ?
अझ थोरै भइराँछ । मैले त अझ धेरै म्यासेज दिनुछ । तर समयले नभ्याएर मात्र हो । काममा जानुपर्यो, ढुंगा बोक्नुपर्यो, गीत गाउनुपर्यो ।
भन्नुपर्ने कुरा भविष्यमा भन्न सकिन्छ । तर स्टेटस अलिक बढी नै भयो भन्ने छ …
तपाईको माध्यमबाट भन्न चाहन्छु– नेपालमा नबोल्ने सरकार चाहिएको हो ? बोलाउँदा नबोल्ने सरकार चाहिएको होइन होला नि । सुशासनको पहिलो आधार भनेकै पारदर्शिता हो । नगरपालिकामा हुने हरेक कुरा म नगरलाई जानकारी दिन्छु । कार्यपालिकाको बैठक नै लाइभ गरेको छु ।
जुन जनताको भोट लिएर गइयो, जुन जनताको ट्याक्सबाट नगरपालिका चल्छ, अनि त्यही जनतालाई सूचना मैले किन लुकाउनु । फेसबुक मेरो सूचना पाटी हो ।
तर तपाईँ सूचना दिने भन्दा पनि पढाउनु हुन्छ नि …
बुझेन भने पढाउनु पर्यो नि । तपाई जस्तो मान्छेलाई पढाउन आवश्यक छैन । शनिबारलाई म श्रमबार भन्छु । आज श्रमबार हो, कोकाहा खोलाको पानी लिन जाऔं, पाइप तान्न जाऔं भन्यो १५ सेकेण्ड नभइ पहिलो कमेन्ट हुन्छ– हर्के हवल्दार, ढुंगे मेयर ।
हो, मैले उनीहरुलाई पढाउने हो । अरुलाई होइन है ।

विद्यमान प्रणालीभित्रै रहेर जस्तो अभियान चलाउँदै आउनु भएको छ । तपाईँले देखेको सपना चाहिँ के हो ?
सबै ड्रिम त भन्दिनँ । आफ्नो योजना सबै कुरा देखाउनु पनि हुँदैन । फेरि सबै योजना पुरा नहुन पनि सक्छ । त्यसो हुँदा बोल्यो मात्रै गफाडी भन्ने ट्याग आउँछ ।
मलाई गफाडी, बेइमान, भ्रष्ट, दलाल भन्ने आरोप नलागोस्, बरु गधा भनोस्, ढुंगे भनोस्, हल्दार भनोस् जे जे भन्छ ठिक छ ।
यस्तो कुरा सबैले भन्छन् । भ्रष्टाचार गर्दिनँ नै भन्छन्, तर व्यवहारमा भइरहेको छैन …
मेरो जीवनमा देखिएको छ ।
तर मार्क्सवाद–लेनिनवाद सुन्दै आएकाहरुलाई तपाईंले ‘हर्कवाद’ भन्नुभयो । यसले तपाईँ पनि आत्मप्रशंसा मन पराउने अरु नेता जस्तै हो भन्ने …
यो आत्मप्रशंसा होइन, साँचो कुरा हो । मैले निकालेको विचार मेरो हो भने त मेरो नाम लेख्नुपर्यो नि ! मैले किन पनि यसो भनेको हो भने खाली हामीले विदेशी ‘वाद’ पढियो । वाद पनि विदेशी, भात पनि विदेशी । अनि जात मात्र नेपाली भयो ?
तर नेता त्यो हो, जसले बाटो देख्छ । गन्तव्य देख्छ, दिशा थाहा हुन्छ उसलाई र बाटो देख्छ । छैन भने पनि बाटो बनाउँछ । त्यस्तो मान्छे हो, म । श्रम संस्कृति भाषण मात्रै होइन, यो अभियान हो।
श्रम अभियान हो, अनगोइङ अभियान । हर्क साम्पाङ नभएको भए यो अभियान सुरु हुँदैनथ्यो । पार्टी बन्दैनथ्यो । अब कतिले तिमीहरुको विचार के हो भनेर देशलाई लान (पश्चिमा प्रभाव) खोज्छ । यो माटो जोगाउने विचार हो, ढुंगा र माटोको कथा हो । गौरवशाली इतिहासको कुरा हो ।
यसो भए आम मानिसले बुझ्ने भाषामा के हो हर्कवाद ?
हर्कवाद एकदमै सरल छ– प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन हो । हाम्रो शरीर प्रकृति हो । हाम्रो गिदी प्रकृति हो भने त्यसमा खेल्ने सोचाई र जीवनशैली संस्कृति हो । अनि हाम्रो जीवन पद्धतिलाई सहज बनाउने विधि प्रविधि हो ।
यी ३ वटै कुराको सन्तुलन जरुरी छ । कुनै एउटा ढल्किने बित्तिकै तीन चुलाको भाँडा पोखिए झैँ विकास पनि पोखिन्छ । यही लक्ष्य हासिल गर्न श्रमदान अनिवार्य छ ।
अन्त्यमा, श्रम संस्कृति पार्टी कसको हो र यो कत्रो बन्छ ?
यो पार्टी सारा नेपालीको हो । तर विशेषगरी यसले तल्लो तहमा काम गर्ने श्रमजीवी,किसान र मध्यम वर्गीय मानिसको प्रतिनिधित्व गर्छ। इन्जिनियरले कागजमा नक्सा कोर्छ, तर घर बनाउने त ढुङ्गा बोक्ने र प्लास्टर गर्ने मिस्त्री हो । त्यसैले यो पार्टी गरिब–दुखीको पक्षमा उभिन्छ ।
काठमाडौँमा बालेनजीले ठेला खोसेपछि रोइरहेकी शर्मिला तामाङको पीडा देख्न नसकेर मैले ५० हजार पठाएको थिएँ । मेरो परिचय त्यहीँबाट प्रष्ट हुन्छ– म गरिबको पीडा बुझ्ने मान्छे हुँ । दुई–चारवटा तारे होटल खुल्दैमा मात्र देश बन्दैन । देश बन्न आमजनताको जीवन परिवर्तन जरुरी छ ।
त्यसकारण पनि हामीलाई स्पष्ट बहुमत दिएर पठाउनु पर्छ । टालाटुली बटुली सरकारमा जाँदैनौँ ।
भिडियो/तस्वीर: आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4