+
महिला क्रिकेट :

यी हुन् महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली खेलाडी

२०८२ पुष  २४ गते १४:०६ २०८२ पुष २४ गते १४:०६

प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपालको १५ सदस्यीय अन्तिम टोली घोषणा पनि भइसकेको छ । टोलीमा अलराउन्डरको बाहुल्यता देखिएको छ ।

यी हुन् महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट आगामी माघ ४ देखि नेपालमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
  • नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे, र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ र शीर्ष ४ टोली विश्वकपमा छनोट हुनेछन्।
  • इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ।

२४ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १८ देखि नेपालमा सुरु हुँदैछ । घरेलु मैदानमै हुने यस महत्वपूर्ण प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ ।

पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ । टोलीले प्रशिक्षणका साथै अभ्यास खेलहरू पनि खेलिरहेको छ ।

नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेको सामना गर्नेछ । नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

तालिका अनुसार नेपालको पहिलो खेल थाइल्यान्डसँग माघ ४ गते विहानको समयमा त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालको दोस्रो खेल नेदरल्यान्ड्ससँग माघ ८ गते विहान त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालको तेस्रो खेल माघ १० गते शनिबार जिम्बाबेसँग विहानको समयमा हुनेछ । चौथो खेलमा नेपालले माघ १२ गते सोमबार विहान स्कटल्यान्डसँग खेल्नेछ ।

समूह चरणबाट दुई समूहका शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् । त्यहाँ शीर्ष ४ मा रहने टोलीहरू विश्वकपमा छनोट हुनेछन् ।

प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपालको १५ सदस्यीय अन्तिम टोली घोषणा पनि भइसकेको छ । टोलीमा अलराउन्डरको बाहुल्यता देखिएको छ ।

नेपालको महिला टोलीको पहिलो पुस्ताकी खेलाडी सिता रानामगरदेखि यू-१९ विश्वकपमा नेपाललाई लिड गरेकी पूजा महतो अनि इन्दु बर्मा र रुबिना क्षेत्रीजस्ता अनुभवी खेलाडीहरू पनि नेपालको टोलीमा छन् ।

आज हामी ग्लोबल छनोटमा खेल्ने यिनै १५ खेलाडीहरूका बारेमा चर्चा गर्नेछौं ।

इन्दु बर्मा (कप्तान)

इन्दु बर्मा नेपाली महिला क्रिकेट टिमकी कप्तान हुन् । उनकै कप्तानीमा नेपालले पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो । उनीसामू अब नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याउने चुनौती एवम् अवसर छ ।

२८ वर्षीय दाँयाहाते ब्याटर इन्दुले नेपालका लागि ७८ टी-२०आई खेलमा एक अर्धशतकसहित १०४१ रन बनाएकी छन् । नेपालका लागि महिला क्रिकेटमा १००० रन पूरा गर्ने उनी पहिलो खेलाडी पनि हुन् ।

यस्तै दाँयाहाते स्पीन बलिङ गर्ने इन्दुले ४० विकेट पनि लिएकी छन् ।

कप्तान इन्दुले विश्वकपमा छनोट हुनका लागि टिममा सबैले आ-आफ्नो तर्फबाट धेरै मेहेनत गरिरहेको बताएकी छन् । ‘आफूलाई पुश गर्नुपर्छ भन्ने सोच राखेर तयारी गरिरहेका छौं । हामीले खेलको दिनमा राम्रो गर्नुपर्छ भन्ने भाव राखेका छौं। हाम्रो तर्फबाट राम्रो गर्नुपर्छ भन्ने हो’ उनले भनेकी छन् ।

पूजा महतो (उपकप्तान)

पूजा महतो नेपाली महिला टोलीको उपकप्तानका रूपमा छन् । १९ वर्षीय पूजाले यसअघि आईसीसी यू-१९ टी-२० विश्वकपमा नेपालको कप्तानी गरिसकेकी छन् ।

दाँयाहाते ब्याटिङ गर्ने पूजाले नेपालका लागि ४२ खेलमा ५३९ रन बनाएकी छन् । उनले दुई अर्धशतक पनि प्रहार गरेकी छन् ।

मिडियम पेस बलिङ गर्ने पूजाले २८ विकेट पनि लिएकी छन् ।

पूजाले यू-१९ महिला टी-२० विश्वकपमा ४ खेलमा ९ विकेट लिएकी थिइन् भने ७० रन पनि बनाएकी थिइन् ।

पूजाले विश्वकपमा छनोट भएरै छाड्ने अठोट राखेकी छन् । ‘हामीले पहिलेभन्दा के कुरामा राम्रो गर्न सक्छौं भन्ने कुरा हो । यसपटक जसरी पनि छनोट भएर देखाउनुपर्छ भन्ने छ’ उनले भनिन् ।

रुबिना क्षेत्री

रुबिना क्षेत्री नेपाली टोलीको सिनियर खेलाडीमध्ये एक हुन् । रुबिनाले यसअघि लामो समयसम्म नेपाली महिला टोलीको कप्तानका रूपमा नेतृत्व गरेकी छन् ।

३२ वर्षीय दाँयाहाते ब्याटर रुबिनाले सन् २०१२ देखि टोलीको कप्तानी गर्दा टी-२०आई मान्यता अनुसार २०१९ देखि २०२३ सम्म नेपाली टोलीको कप्तानका रूपमा रहिन् ।

उनले नेपालका लागि ७९ खेल खेल्दा ९५१ रन बनाएकी छन् । रुबिनाले एक शतक र एक अर्धशतक बनाएकी छन् । नेपाली महिला टोलीबाट शतक प्रहार गर्ने उनी एकमात्र खेलाडी हुन् ।

स्पिन बलिङ गर्ने रुबिनाले ४५ विकेट पनि लिएकी छन् ।

सीता राना मगर

सीता नेपाली महिला टोलीमा सबैभन्दा सिनियर खेलाडी हुन् । पहिलो पुस्ताको टोलीदेखि हालसम्म खेलिरहेकी सीताको अनुभवले नेपाललाई ग्लोबल छनोटमा ठूलो सहयोग पुग्नेछ ।

३३ वर्षीय सीताले नेपालका लागि ६३ खेल खेल्दा ९६५ रन बनाएकी छन् । बाँयाहाते स्पीन बलिङ गर्ने सीताले ५८ विकेट पनि लिएकी छन् ।

चोट र फिटनेसको समस्याका कारण पछिल्लो समय धेरै खेल नखेलेकी सीताले पछिल्लोपटक गतवर्ष जनवरीमा भएको घरेलु शृंखलामा खेलेपछि अक्टोबरमा मलेसियासँग भएको शृंखला खेलेकी थिइन् ।

टिमकै सिनियर खेलाडी रहेकी सीताले विश्वकप ग्लोबल छनोटका लागि धेरै राम्रो तयारी भइरहेको बताएकी छन् ।

काजल श्रेष्ठ

काजल श्रेष्ठ विकेटकिपर ब्याटर हुन् । २६ वर्षीय काजलले दाँयाहाते ब्याटिङ गर्छिन् ।

उनले पछिल्लोपटक सन् २०२३ को जुलाईमा भएको महिला एसिया कपमा नेपालका लागि खेलेकी थिइन् । त्यसयता पहिलोपटक राष्ट्रिय टोलीमा परेकी हुन् ।

काजलले ४८ अन्तर्राष्ट्रिय खेलमा ३२ को उच्च स्कोरसहित ३०१ रन बनाएकी छन् । विकेटकिपरका रूपमा १३ क्याच र १५ स्टम्पिङ गरेर २८ डिसमिसल गरेकी छन् ।

बिन्दु रावल

तस्वीर : क्यान

बिन्दु रावल बाँयाहाते ब्याटर हुन् । २९ वर्षीय बिन्दुले नेपालका लागि ४३ खेलमा २८ को उच्च स्कोरसहित २७४ रन बनाएकी छन् ।

घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशको कप्तानी गर्दै टप अर्डरमा खेल्ने बिन्दुले पछिल्लो समय तल्लोक्रममा खेल्दै आएकी छन् ।

उनले पछिल्लोपटक थाइल्यान्डमा भएको महिला विश्वकप एसिया छनोट खेलेकी थिइन् ।

कविता कुँवर

कविता कुँवर नेपालकी युवा अलराउन्डर हुन् । २२ वर्षीय कविताले नेपालका लागि ६१ खेलमा ३४७ रन बनाउनुका साथै ५६ विकेट पनि लिएका छन् ।

मिडियम पेस बलिङ गर्ने उनले नेपालका लागि पावरप्लेमै बलिङ गर्दै विकेट निकाल्दै आएकी छन् ।

कविताले पछिल्लोपटक गत जनवरीमा घरेलु मैदानमै भएको थाइल्यान्ड र नेदरल्यान्ड्ससँगको टी-२०आई शृंखलामा खेलेकी थिइन् । पहिलो खेलमा चोट बोकेपछि उनी शृंखला त्यसपछि खेलिनन् ।

चोटबाट पुनरागमन गरेर विश्वकप एसिया छनोटमा खेलिन् । ग्लोबल छनोट खेल्ने टोलीमा पनि स्थान बनाएकी छन् ।

सम्झना खड्का

सम्झना खड्का नेपाली महिला टोलीको टप अर्डर ब्याटर हुन् । २६ वर्षीय दाँयाहाते ब्याटर सम्झनाले सन् २०२३ मा मलेसियासँगको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन् ।

नेपालका लागि ४१ खेल खेल्दै एक अर्धशतकसहित ४०० रन बनाएकी छन् ।

सम्झनाले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाउन सक्छिन् ।

उनले पछिल्लोपटक मलेसियामा भएको टी-२० शृंखलामा खेलेकी थिइन् ।

कविता जोशी

कविता जोशी नेपाली महिला क्रिकेट टोलीको अलराउन्डर हुन् । २९ वर्षीय कविताले दाँयाहाते ब्याटिङ तथा स्पिन बलिङ गर्दै आएकी छन् ।

उनले ५४ खेलमा ३१ को उच्च स्कोरसहित २७१ रन बनाएका छन् । त्यस्तै २१ विकेट पनि लिएका छन् ।

ठूला हिट प्रहार गर्न सक्षम कविताले नेपालका लागि फिनिसिङमा योगदान दिन सक्छिन् ।

राजमती ऐरी

राजमती ऐरी नेपाली महिला क्रिकेट टोलीमा केही समयअघि मात्रै जोडिएकी खेलाडी हुन् । उनले गतवर्ष जनवरीमा नेपालमै भएको महिला त्रिदेशीय शृंखलामा थाइल्यान्डसँगको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन् ।

२३ वर्षीय राजमतीले बाँयाहाते ब्याटिङका साथै बाँयाहाते मिडियम पेस बलिङ गर्छिन् । राजमतीले नेपालका लागि १० खेल खेल्दा ४० रन बनाएकी छन् भने ८ विकेट लिएकी छन् ।

उनी नेपाली पुरुष क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीकी बहिनी पनि हुन् । राजमतीले पछिल्लोपटक मलेसियामा भएको शृंखला खेलेकी थिइन् ।

मनीषा उपाध्याय

मनीषाले पनि गतवर्ष मात्र सिनियर महिला टोलीका लागि डेब्यू गरेकी थिइन् । उनले पनि थाइल्यान्ड र नेदरल्यान्ड्ससँगको शृंखलामार्फत नेपाली टोलीमा डेब्यू गरेकी थिइन् ।

२१ वर्षीया मनीषाले बाँयाहाते स्पीन बलिङ गर्छिन् । उनले ८ खेलमा १२ विकेट लिएकी छन् ।

मनिषाले यसअघि यू-१९ टोलीबाट खेलेकी थिइन् । यू-१९ महिला टी-२० विश्‍वकप एसिया छनोटसम्म खेलेकी मनिषा यू-१९ महिला विश्‍वकप भने खेलिनन् ।

उनले पछिल्लोपटक टी-२० विश्वकप एसिया छनोटमा खेलेकी थिइन् ।

रिया शर्मा

उपकप्तान पूजा महतोसँगै यू-१९ विश्वकप खेलेकी खेलाडी हुन् रिया । १७ वर्षीया रियाले गतवर्ष मार्चमा युगान्डामा भएको चारदेशीय शृंखलामार्फत नेपाली महिला सिनियर टोलीका लागि डेब्यू गरिन् ।

लेग ब्रेक बलर रियाले नेपालका लागि १६ खेल खेल्दा ३ विकेट लिएकी छन् । रियाले यू-१९ विश्वकपमा ४ खेलमा ३ विकेट लिएकी थिइन् ।

उनले पछिल्लोपटक मलेसियामा भएको टी-२०आई शृंखलामा खेलेकी थिइन् ।

रचना चौधरी

पूजा र रियाजस्तै रचनाले पनि नेपालको यू-१९ टोलीबाट विश्वकप खेलेकी छन् । १८ वर्षीय रचनाले गतवर्ष घरेलु मैदानमै भएको थाइल्यान्ड र नेदरल्यान्ड्ससँगको शृंखलामार्फत नेपाली महिला टोलीका लागि टी-२०आईमा डेब्यू गरेकी थिइन् ।

अलराउन्डर कविता कुँवर चोटका कारण टिमबाट बाहिर भएपछि उनको ठाउँमा उक्त शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा समावेश भएर आएकी थिइन् ।

बाँयाहाते स्पीन बलिङ गर्ने रचनाले हालसम्म नेपालका लागि १३ खेल खेल्दा ५ विकेट लिएकी छन् । उनले यू-१९ विश्वकपमा ४ खेलमा ६ विकेट लिएकी थिइन् ।

रचनाले पछिल्लोपटक मलेसियामा भएको टी-२०आई शृंखलामा खेलेकी थिइन् ।

रोमा थापा

रोमा नेपाली महिला क्रिकेट टोलीको विकेटकिपर ब्याटर हुन् । उनी पनि लामो समयदेखि खेल्दै आएकी सिनियर खेलाडीमध्ये एक हुन् ।

२८ वर्षीय रोमाले दाँयाहाते ब्याटिङ गर्छिन् । उनले नेपालका लागि ३२ खेलमा १२० रन बनाएकी छन् ।

रोमाले पछिल्लोपटक यूएईमा भएको महिला टी-२० विश्वकप एसिया छनोटमा खेलेकी थिइन् ।

सोमु विष्ट

सोमु विष्ट नेपाली महिला क्रिकेट टोलीकी बलर हुन् । २६ वर्षीय सोमुले बाँयाहाते बलिङ गर्छिन् ।

सोमुले सन् २०२३ मा तान्जानियासँगको खेलमार्फत नेपाली महिला टोलीका लागि डेब्यू गरेकी थिइन् ।

बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले नेपालका लागि ७ खेल खेल्दा ४ विकेट लिएकी छन् ।

पछिल्लोपटक सोमुले गत अक्टोबरमा मलेसियामा भएको शृंखलामा नेपालका लागि खेलेकी थिइन् ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय