+
+
Shares

राष्ट्र बैंकले निष्कासन गर्‍यो २५ अर्बको बन्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बुधबार २५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरी वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्ने जनाएको छ।
  • बैंकले मंगलबार मात्र २५ अर्बको बन्ड र गत साता ७५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरी कुल एक खर्ब तरलता खिचिसकेको छ।
  • ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्ने र अर्धवर्षिक रुपमा ब्याज पाउने व्यवस्था रहेको छ।

२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि २५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापनका लागि बन्डको प्रयोग बढाएको हो ।

बैंकले मंगलबार मात्र २५ अर्बको सोही प्रकृतिको बन्ड निष्कासन गरेको थियो । त्यसअघि गत साता ३ पटक गरेर ७५ अर्ब रुपैयाँ बराबरको बन्ड निष्कासन गरेको थियो । मंगलबारको बन्ड सहित बैंकले वित्तीय प्रणालीको एक खर्ब तरलता खिचिसकेको छ ।

बैंकले बुधबार पनि अधिक तरलता खिच्नका लागि एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक बन्ड नै जारी गरेको हो । बुधबार निष्कासन भएको सो बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवर्षिक रुपमा ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ङ’ नामको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुनेछ । मंगलबार निष्कासन भएको बण्डको कुपन रेट २.६९ कायम भएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?