News Summary
Generated by OK AI. Editorially reviewed.- माघ महिनामा ९ घरेलु फिल्म रिलिज हुने तयारीमा छन् जसमा सामाजिक कथा, एक्सन, कमेडी र थ्रीलर विधाका फिल्महरू समावेश छन्।
- १ माघमा तीन फिल्म 'गोबर गणेश', 'मिरमिरे' र 'भाइरल गोर्खे' रिलिज हुनेछन् जसमा दयाहाङ राई र सौगात मल्लले अभिनय गरेका छन्।
- १६ र २३ माघमा क्रमशः 'आबाट आमा', 'द ब्लू लाइट', 'कुमारी' र 'रमिताको पिरती' रिलिज हुनेछन् जसले आमा-छोरा सम्बन्ध र प्रेम कथालाई चित्रण गर्छन्।
काठमाडौं । मौसम मात्र होइन, अहिले घरेलु फिल्मको बक्सअफिस पनि चिसिएको छ । मङ्सिर र पुसमा प्रदर्शनमा आएका फिल्मले न्यून ब्यापार गरे । यद्यपि, माघदेखि बक्सअफिस लयमा फर्किने अपेक्षा छ ।
माघ महिनामा मात्र ९ फिल्म रिलिज तयारीमा छन् । यस महिना दर्शकले सामाजिक कथावस्तु, एक्सन, कमेडी र थ्रीलर विधामा बनेका फिल्म हेर्ने अवसर पाउनेछन् । १ माघमै तीन फिल्म रिलिज हुनेछन्, जसमा गोबर गणेश, मिरमिरे र भाइरल गोर्खे छन् ।
याम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ ले बाबु र छोरीको सम्बन्ध तथा गाउँको कथालाई समेटेको छ । यसमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु शीर्ष भूमिकामा छन् ।
टेलिभिजन सिरिजका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को लेखन तथा डेब्यू निर्देशन रहेको यो फिल्ममा मरिचमान स्वयम र वर्षा सिवाकोटी शीर्ष भूमिकामा छन् । यसमा बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङको पनि अभिनय छ ।
निगम श्रेष्ठद्वारा निर्देशित ‘भाइरल गोर्खे’ ले सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिलाई ब्यंग्य गर्छ । यो फिल्ममा सौगात मल्ल एक साधारण गाउँले युवक ‘गोर्खे’ को भूमिकामा छन् । यसमा सौगातसहित सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी शीर्ष भूमिकामा छन् ।
९ माघदेखि ‘परिर्वतन’ र ‘बिगुल’ प्रदर्शन तयारीमा छन् । विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’ एक्सन र सस्पेन्स विधामा आधारित छ । यसमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल र करिश्मा मानन्धरको अभिनय छ ।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ सामाजिक, राजनीतिक विषयवस्तुमा आधारित छ । यसमा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह र सरोज खनालको अभिनय छ ।
१६ माघमा ‘आबाट आमा’ र ‘द ब्लू लाइट’ रिलिज हुनेछन् । चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको ‘आबाट आमा’ ले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्दछ । फिल्ममा प्रदीप रावत, बिपना थापा, पल शाह, साइग्रेस पोखरेल र उषा उप्रेती लगायतको अभिनय छ ।
‘द ब्लु लाइट’ बलिराम चौहानद्वारा निर्देशित मनोवैज्ञानिक थ्रीलर फिल्म हो । यसमा बेनिशा हमाल, अर्पण थापा, आयुषमान देशराज जोशी र सुरक्षा इटानीको अभिनय छ ।
२३ माघमा दुई फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शन हुँदैछन् । करिब उस्तै दर्शकीय बर्ग र कथावस्तुमा यी दुई फिल्म आधारित छन् । ‘कुमारी’ दिनेश राउतको लेखन तथा निर्देशनमा बनेको प्रेम कथामा आधारित फिल्म हो ।
यो फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काले अभिनय गरेका छन् । यी दुईको फिचर फिल्ममा डेब्यू हुनेछ ।
‘रमिताको पिरती’ सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको फिल्म हो । युवतीको मनोविज्ञानको कथालाई यसमा समेटिएको छ । यसमा आना शर्मा, धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठ शीर्ष भूमिकामा छन् ।
प्रतिक्रिया 4