+
+
Shares

यी हुन् नाम फिर्ता लिएका रास्वपाका १२ समानुपातिक उम्मेदवार

निर्वाचन आयोगका अनुसार समानुपतिक सूचीमा नाम रहेका व्यक्तिहरूले अहिले नाम फिर्ताको घोषणा गर्नु सार्वजनिक खपतका लागि मात्रै हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २२:१४

२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या १२ पुगेको छ । पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. रामजी रामले नाम पनि फिर्ता लिने घोषणा गरेका छन् ।

यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू,  सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, अन्सारीले केहीदिन अघि नै समानुपातिक सूचीमा आफ्नो नाम पहिलो नम्बरमा राख्न आग्रह गरेकी थिइन् । उनले पहिलो नम्बरमा नराख्दा आफू समानुपातिकमा नबस्ने बताएकी छिन् ।

त्यस्तै, विकले समानुपातिकबाट नाम हटाएर भक्तपुर–२ बाट प्रत्यक्ष चुनाव उठ्ने इच्छा व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपतिक सूचीमा नाम रहेका व्यक्तिहरूले अहिले नाम फिर्ताको घोषणा गर्नु सार्वजनिक खपतका लागि मात्रै हो । नाम फिर्ता लिन सम्बन्धित उम्मेदवारले निर्वाचन आयोगमा स्वयं उपस्थित भएर निवेदन दिनुपर्छ । यसका लागि कार्यतालिका अनुसार समय आउन बाँकी छ ।

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार, सम्बन्धित उम्मेदवारले आफू उम्मेदवार नहुने भनेर निर्वाचन आयोगमा स्वयं उपस्थित भई निवेदन दिएपछि फिर्ताको प्रक्रिया अगाडि बढ्छ ।

उम्मेदवार स्वयं उपस्थित भएर उम्मेदवार हुन नचाहेको भनेर निवेदन दिएको अवस्थामा आयोगले त्यस्तो नाम हटाउने छ र सम्बन्धित दललाई जानकारी दिनेछ ।

उम्मेदवारले नै उम्मेदवारी फिर्ता लिएको जानकारी पाएपछि सम्बन्धित दलले उक्त स्थानमा अर्को व्यक्तिको नाम पठाउन सक्छ ।

यी कार्य यही पुसको २८ गतेपछि हुनेछ । न्यौपानेका अनुसार पुस २७ गतेसम्म क्लस्टर नमिलेको लगायतका विषयमा रहेको त्रुटि सच्याउन दलहरूले समय पाएका छन् ।

कार्यतालिका अनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।

यो कार्य सकिएपछि उम्मेदवारी फिर्ताको कार्यतालिका अगाडि बढ्नेछ ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउने छन् । कसैले फिर्ता लिन निवेदन दिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ । आयोगको कार्यतालिका अनुसार आगामी माघ ४ गते उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन हुनेछ ।

त्यसपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने छ । यसका लागि माघ ५ देखि माघ १० गतेसम्मको समय तय गरिएको छ ।

माघ ११ देखि १७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।

आयोगको तालिका अनुसार आगामी माघ २० गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?