+
+
Shares

स्थानीय तह उम्मेदवार क्लब गठन गर्दै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:३१

२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने भएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि उम्मेदवार क्लबको अवधारणा अघि बढाउन लागेको हो ।

यो विषयमा रास्वपाको आज बस्ने सचिवालय बैठकमा छलफल गर्ने कार्यसूची छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार रास्वपाको सचिवालय बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा छलफलका १० वटा कार्यसूची छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति,  उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम र  जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

अन्तिममा स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषय कार्यसूचीमा परेको छ । रास्वपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत यो अवधारणा अगाडि बढाउन लागेको हो ।

नेताहरूका अनुसार उम्मेदवार क्लब स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नेछन् । वडा अध्यक्ष, पालिका प्रमुख कार्यकारी पद हुन् ।

२०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवार क्लबको अवधारणा अघि सारेका थिए । त्यसअगाडि बढाउने बढाउनेबारे आज सचिवालय बैठकमा छलफल गर्न लागिएको हो ।

नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् । क्लबमा दर्ता भएकालाई पार्टीले प्रशिक्षित गर्नेछ । उम्मेदवार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिन उम्मेदवार क्लबको अवधारणा ल्याएको हो । नेताहरूका अनुसार उम्मेदवार क्लब उम्मेदवार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो ।

उम्मेदवार क्बलमा दर्ता हुनेले निर्वाचित भएको अवस्थामा आफूले गर्ने कार्य पार्टी समक्ष प्रस्तुत गर्नसक्नु पर्दछ । उम्मेदवार क्लबमा सूचीकृत व्यक्ति पार्टीको राजनीतिमा सक्रिय हुनुपर्ने बाध्यता रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?