२३ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेश गरेका छन् ।
उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन् ।
प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिइन् ।
‘निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ’, प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैं पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्यांकन गर्नुहुनेछ ।’
उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भन्नुभयो, ‘तपाईं आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन । हामीले नै निम्त्याएका हौं । अझ जेनजी युवाले तपाईँको माग गरेका हुन् । चुनाव लागेपछि राजनीतिमा जान छुट पाउनेगरी नै तपाईंलाई हामीले भित्र्याएका हौं । कुनै सुविधा पनि नलिएर तपाईंले नि:स्वार्थ सेवा गर्नुभयो । आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ । यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु ।’
मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गर्नुभएकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।
प्रतिक्रिया 4