+
+
Shares

निर्णायक घडीमा चुके शेखर

कांग्रेस रुपान्तरणको मुद्दालाई लिएर बुहमत महाधिवेशन प्रतिनिधिहरू एउटा कित्तामा उभिएका बेला शेखर कोइरालाले साथ दिएनन् । निर्णायक घडिमा मध्यमार्गको आवरणमा बस्नु अन्तत: संस्थापन पक्षको सेवा हो ।

दुर्गा खनाल दुर्गा खनाल
२०८२ पुष २७ गते २२:५५

२६ पुस, काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनको र्‍याली सुरू भइसकेको थियो । आइतबार एक बजेदेखि सुरू हुने उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकार्ता र महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपको प्रांगण भरिँदै थियो ।

त्यही समयमा करिब १२.४५ बजे नेता शेखर कोइरालाले एउटा भिडियो सन्देश जारी गरे । भिडियोको मूल सन्देश थियो- मध्यमार्ग ।

कांग्रेसमा संक्रमण भएकाले आफूले त्याग र अपमान सहेर पनि भावनात्मक एकताका लागि लडिरह्ने भन्दै उनले मध्यमार्गी धारणा सार्वजनिक गरे ।

कांग्रेसभित्र विधि-विधान मान्ने कि विधान मिच्दै अघि बढ्ने भन्नेहरूबीचको निर्णायक संघर्ष चलिरहँदा कोइरालाले मध्यमार्गी धार पक्रे । कांग्रेस रुपान्तरणको निर्णायक घडीमा कोइरालाले लिएको यो धारले उनलाई नै औचित्यहीन जस्तो अवस्थामा ल्याइदिएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले शेखर कोइरालालाई केवल एक उम्मेदवार मात्र होइन, पार्टीभित्र परिवर्तनको प्रतीकका रूपमा स्थापित गरिदिएको थियो ।

शेरबहादुर देउवाजस्तो व्यक्तिसँगको प्रतिस्पर्धामा उत्रिँदा उनले युवा पुस्ताको अपेक्षा पुरा गर्ने, संगठनभित्रको असन्तुष्टि सम्बोधन गर्ने र कांग्रेस रुपान्तरण गर्ने आकांक्षा बोकेका थिए ।

तर, महाधिवेशनमा उनी पराजित भए । उनको पक्षबाट महामन्त्री गगन थापा लगायतका नेताहरूले जिते । कोइराला पराजित भए पनि महामधिवेशनबाट उनी वैचारिक नेताको रुपमा विजेता मानिएका थिए ।

उनलाई कांग्रेसभित्रको नयाँ पुस्ताले भरोसायोग्य नेताको रुपमा विश्वास गर्दै आएको थियो ।

त्यसैले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीभित्र सुरू भएको नेतृत्व र नीतिको रुपान्तरणको बहसमा कोइराला पनि जोडिए ।

त्यही क्रममा कांग्रेसमा विशेष महाधिवेशनको एजेण्डा आयो । यसको सुरुवात उनी र उनको पक्षका नेताहरू नै गरेका थिए ।

तर उनीसमेतबाट माग भएर सुरु भएको विशेष महाधिवेशनको एजेण्डाले वैधानिक मूर्तता पाउँदै गर्दा कोइराला यही महाधिवेशनको विपक्षमा उभिए । उनी महाधिवेशनमा सहभागी भएनन् । देउवा पक्षका ३० जना केन्द्रीय नेता समेत विशेष महाधिवेशनमा सहभागी हुँदा कोइराला भिडियो सन्देश दिएर बसे ।

कांग्रेस रुपान्तरणको ढोका खोल्ने निर्णायक मोडमा शेखर कोइरालाले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो अवसर गुमाएका छन् ।

विशेष महाधिवेशनको बहस कुनै आकस्मिक मुद्दा थिएन । यो कांग्रेसभित्रको संस्थागत थकान, लोकान्त्रिक विधिमाथि आएको विचलन, नेतृत्वको दीर्घकालीन जडता विरुद्ध उठेको आवाज थियो । यो एजेन्डाको राजनीतिक स्वामित्व स्वाभाविक रूपमा शेखर कोइरालाकै हातमा थियो ।

किनभने, १४ औँ महाधिवेशनमा देउवाविरुद्ध उभिएको समूह, गगन थापा, विश्वप्रकाश शर्मा लगायतका युवा नेताहरूको आँट, भरोसा र संगठन सुधारको एजेण्डा सबै उनको राजनीतिक यात्रासँग गाँसिएको थियो ।

तर, जब विशेष महाधिवेशन निर्णायक चरणमा पुग्यो, उनी मध्यमार्गको नाममा पछि हटेका छन् ।

उनलाई नै साथ दिँदै आएका केही नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे केदार कार्की, चन्द्र भण्डारी, सुनील शर्मा लगायतका नेताहरूले नै उनको साथ छोडे ।

‘म नियमित महाधिवशेनको पक्षमा छु, नभए विशेष महाधिवेशनको पक्षमा छु भन्नु भएको थियो,’ शेखर कोइरालाले नै कोशीमा मुख्यमन्त्री बनाएका नेता केदार कार्कीले आइतबार विशेष महाधिवेशन समारोहमा भने,’उहाँको भौतिक उपस्थिति जरुरी छैन, त्यो विचार सारा महाधिवेशन प्रतिनिधिहरुले पुरा गर्दै हुनुहुन्छ ।’

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनको सुरुवात शेखरकै चाहनामा भएको थियो ।

गुरुराज घिमिरे, देवराज चालिसे जस्ता उनीनिकट नेताहरूले अभियानको नेतृत्व गरे । यो अभियान केवल विधानको प्रक्रिया मात्र थिएन, यो नेतृत्वको परीक्षा पनि थियो ।

तर, हस्ताक्षर संकललन भएर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेपछि कोइराला स्वयं क्रमश : पछि हटे ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अडानमा टिकाउने भन्दा पनि उनीहरूलाई पछि हटाउन अप्रत्यक्ष भूमिका खेले । उनले सहयोगभन्दा असहयोग बढी गरे ।

उनले आफू निकट प्रतिनिधिहरूलाई फोन गरेर हस्ताक्षर नगर्न दबाब दिए ।

केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव पुगेपछि उनी पुनः अर्को व्याख्यामा उत्रिए । विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने, नभए पार्टी विभाजन हुने तर्क अघि सारे । यसले संस्थापनलाई सहज बनायो । विशेष महाधिवेशनको दबाबलाई कमजोर बनाउन खोज्यो ।

मंसिर १५ गते नियमित महाधिवेशनको कार्यतालिका आएपछि उनले पुस २६–२८ मा १५ औँ महाधिवेशन नभए विशेष हुने धारणा राखेका थिए ।

तर, जब त्यो सम्भव देखिएन र महामन्त्रीहरूले विशेष महाधिवेशन आह्वान गरे, उनी फेरि चुनावतिर लाग्नुपर्ने तर्क गर्न तर्फ लागे । फागुनमा हुने चुनावमा कांग्रेसले हार्न सक्ने भन्दै उनले विशेष महाधिवेशन गर्ने एजेण्डालाई पर सार्ने योजना बनाए ।

यसको जवाफ आइतबार गगन थापाले विशेष महाधिवेशनमा घुमाउरो तरिकाले दिएका छन्- ‘कांग्रेस राष्ट्रिय शक्ति हो । समाजमा जे समस्या हुन्छ त्यसलाई छाम्ने पर्गेल्ने जिम्मेवारी हाम्रो हुन्छ । चुनाव आउँछ त जान्छ । कांग्रेस चुनावमा मात्र हाम्रो ध्यान होइन । त्योभन्दा बढी हामीले नागरिक भरोसा गुमाएका छौं यो विश्वास आर्जन गर्न लाग्ने हो ।’

विशेष महाधिवेशन पक्षधरहरूले जसरी पनि समयमै गर्ने अडान राखिरहेका थिए उनी भने प्रतिनिधि सभामा माघ ६ गते उम्मेदवारी दर्ता भइसकेपछि मात्र विशेष गरौँ भन्न थाले ।

जबकी प्रस्ताव दर्ताको वैधानिक समयसीमा २८ पुसमै सकिन्थ्यो । गम्भीर मोडहरूमा उनले भूमिका खेल्न चुके, यसले उनको निर्णय क्षमतामाथि पनि प्रश्न उठाएको छ ।

उनले के सम्म गरे भने शनिबार १२ जना जिल्ला सभापतिलाई विशेष महाधिवेशन विधानविपरीत भन्दै वक्तव्य निकाल्न समेत लगाए । यो स्पष्ट रूपमा संस्थापनको पक्षमा उभिएको सन्देश थियो ।

कार्यसम्पादन समितिको बैठकमा दुई महामन्त्रीसहित पाँच जनाले फरक मत राख्दा पनि शेखर कोइराला बहुमतको निर्णय स्वीकार्दै संस्थापनसँगै उभिए ।

यो क्षणमा उनले पुलको भूमिका खेल्न सक्ने ऐतिहासिक अवसर थियो । विशेष नगर्ने संस्थापन र गरेरै छोड्ने महामन्त्रीबीच सहमतिको सेतु बन्ने क्षमता उनैसँग थियो । तर, उनी चुके ।

दुवै महामन्त्रीले विशेषबाट तपाईं नै सभापति बन्नुस् भनेर सार्वजनिक प्रतिबद्धता जनाउँदा समेत उनी अघि बढेनन् । यसैले देखाएको छ, उनको राजनीतिक नेतृत्व क्षमताको संकट ।

शेखर कोइरालाका यस्ता द्विविधा केवल यो विशेष महाधिवेशनको बेलामा मात्र प्रकट भएका होइनन् । विगतमा पनि उनले कतिपय घटनाक्रममा यस्तो भूमिका खेल्दै आएका छन् । जसका कारण उनको धार नै कमजोर बनेको छ ।

उनी कहिले कांग्रेस–एमाले मिल्नुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै स्थिरताको बहस उठाउँछन् । उनले यस्तै एजेण्डा बोकेर संस्थापन पक्षभन्दा फरक धारमा उभिएर कोशी प्रदेशमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री नै बनाए । तर पछि त्यही निर्णयको विरुद्धमा उभिए ।

जब कांग्रेस–एमाले सातबुँदे सहमतिमा सरकार बन्यो, उनी त्यसप्रति सन्तुष्ट देखिँएनन् ।

कहिले संविधानको धारा ७६(३) मा आशंका व्यक्त गरे कहिले सातबुँदे सहमतिअनुसार सरकार नचलेको भन्दै आलोचना गरे । यस्ता अस्थिर धारणाले उनको स्पष्ट वैचारिक अडान नै लरबराएको देखियो ।

कोशी प्रदेशमा एमालेसँगको सहकार्यमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु, महासमिति बैठकपछि माओवादीसँग गठबन्धनको औचित्यमाथि प्रश्न उठ्नु र त्यसपछि सत्ता समीकरण फेरिनु—यी सबै घटनामा शेखर कोइरालाको भूमिका निर्णायक देखिए पनि त्यसको निरन्तरता रहेन ।

कहिले विद्रोही, कहिले समन्वयकारी, कहिले मौन जस्तो देखिने उनको चरित्रले उनी भरोसायोग्य नेतृत्वको रुपमा रहेनन् ।

त्यसैले गत महाधिवेशन आफ्नै समूहबाट उठेर महामन्त्री गगन थापाले समेत उनको भरोसा गर्न छोडे ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले उनलाई नेतृत्व लिन निरन्तर आग्रह गरेका थिए । तर उनले आँट गरेनन् । मध्यमार्गी भन्दै बीचमा उभिए । यही मझधारले उनको अहिलेसम्म बनाएको छवि धुमिल भएको छ ।

विशेष महाधिवेशन शेखर कोइरालाका लागि केवल एउटा प्रक्रियागत विवाद होइन, आफ्नो नेतृत्व परीक्षणको निर्णायक घडी थियो । त्यो घडीमा उनले स्पष्ट निर्णय लिन सकेनन् । यही कारण आज कांग्रेस वृत्तमा उनी यता न उताका भएका छन् ।

विशेष महाधिवेशन उनको राजनीतिक पुनरुत्थानको प्लेटफर्म बन्न सक्थ्यो । शेरबहादुर देउवा भनेर वर्षौंसाथ दिएका गोपालमान श्रेष्ठ समेत देउवालाई छोडेर विशेष महाधिवेशनको मञ्चमा आउँदा शेखर आएनन् ।

त्यसको प्रत्यक्ष लाभ शेरबहादुर देउवाकै संस्थापनलाई पुगेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले वैधानिक हस्ताक्षर गरेर महाधिवेशन आह्वान गरेका छन् र महाधिवेशनमा त्यो भन्दा बढी उपस्थित भइसकेका छन् ।

यो अवस्थामा मध्यमार्गी धार पक्रेर बस्नु भनेको संस्थापन पक्षको सेवा हो । किनकी उनी विशेष महाधिवेशनका पक्षधर थिए । अहिले त्यसबाट पछि हटेर मध्यभागमा रहनुहरूको संस्थापन पक्षतर्फको यात्रा हो ।

लेखक
दुर्गा खनाल

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?