News Summary
Generated by OK AI. Editorially reviewed.- चाडपर्वपछि शरीरको विषाक्तता हटाउन डिटक्स डाइट अपनाउने विचार भए पनि यसको प्रभावकारितामा प्रमाण कम छन्।
- फाइबरयुक्त खानेकुरा, पर्याप्त पानी पिउने, फोक्सो सफा राख्ने, राम्रो निद्रा र निरन्तर व्यायामले शरीरको प्राकृतिक डिटक्सिफिकेसनमा मदत गर्छ।
- फाइबरले टक्सिनसँग बाँधेर शरीरबाट बाहिर निकाल्न मदत गर्छ भने पानीले मिर्गौलाको सफाइ क्षमता बढाउँछ र व्यायामले कलेजो र मिर्गौलामा रक्तप्रवाह सुधार गर्छ।
यदि चाडपर्वको रमाइलोमा खाने–पिउने कुरामा धेरै लापरबाही गरियो भने, अब ‘डिटक्स डाइट’ अपनाउनेबारे सोच्न सकिन्छ । अर्थात्, केही हप्ताको डाइटबाट शरीरको विषाक्तता वा हानिकारक तत्वहरू सफा गर्ने योजना ।
तर, जुस, फास्टफुड होस् वा विभिन्न प्रकारका एनर्जी वा प्रोटिन कम गर्ने डिटक्स डाइटहरू, यी फाइदाजनक देखिए पनि वास्तवमा शरीरबाट विषाक्तता निकाल्ने वा तौल नियन्त्रणमा मद्दत गर्ने प्रमाणहरू निकै कम छन्।
हाम्रो वरपर शरीरलाई हानि पुर्याउने कुराहरू छन्, तर तिनलाई बाहिर निकाल्नका लागि हाम्रो शरीरमा पहिलेदेखि नै उत्कृष्ट प्राकृतिक प्रणालीहरू छन् । यस्तोमा शरीरको डिटक्सिफिकेसनमा मदत गर्न हामीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ।
१.फाइबर बढी खाने
धेरैजसो मानिसहरूले फाइबर निकै कम खान्छन् । अमेरिकामा ९५ प्रतिशत पुरुष र ९७ प्रतिशत महिलाले सिफारिस गरिएको मात्रा भन्दा कम फाइबार खान्छन् । धेरैजसो अमेरिकीहरूले आवश्यकताको आधा मात्रा पनि लिँदैनन् ।
फाइबरले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । यसले सूजन घटाउँछ, रोगप्रतिरोधि क्षमता बलियो बनाउँछ र दिमाग तथा सोच्ने–बुझ्ने क्षमता पनि वृद्धि गर्छ । यसले मुटुका रोगहरू, टाइप–२ मधुमेह, कोलोन क्यान्सर र सूजनजस्ता धेरै दीर्घकालीन रोगहरूको जोखिम कम गर्छ ।
फाइबरले शरीर सफा गर्न मद्दत गर्छ, र यही कारण यसका यति धेरै फाइदाहरू छन् । सबैभन्दा पहिले, यसले मललाई नरम बनाउँछ, जसले गर्दा बाहिर निकाल्न सजिलो हुन्छ र हानिकारक पदार्थहरू आन्द्रामा कम समय रहन्छन् ।
अनुसन्धानले देखाएको छ फाइबरले चुम्बकजस्तै काम गर्छ, टक्सिनहरू र अन्य पदार्थहरूसँग टाँसिएर तिनलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । २०२५ को एक अध्ययनमा फाइबरले लेड, आर्सेनिक र कपर जस्ता आयनहरूसँग बाँधिएर खराब तत्त्व बाहिर निकाल्न मद्दत गर्ने पाइयो । फाइबरले पित्त अम्लहरूलाई पनि बाहिर निकाल्छ, जसले कोलेस्टेरोल कम गर्छ र मुटु रोगको जोखिम घटाउँछ ।
फाइबरले ‘फरएभर केमिकल्स’ मानव निर्मित लामो समय टिक्ने हानिकारक पदार्थहरूलाई पनि बाहिर निकाल्न मद्दत गर्न सक्छ । मुसा र मानिसहरूमा गरिएका केही अध्ययनहरूमा फाइबर सप्लिमेन्टसँग खाँदा यी पदार्थहरूको स्तर कम भएको पाइयो ।
फाइबरले मिर्गौला र कलेजोलाई पनि संरक्षण गर्छ यी दुवै अंगले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने निकाल्ने काम गर्छन् । यसले हानिकारक ब्याक्टेरियाबाट बचाउँछ र राम्रा ब्याक्टेरियाहरू बढाउन मद्दत गर्छ।
फाइबर बढाउनका लागि पौष्टिक वनस्पतिजन्य खानेकुरा सबैभन्दा राम्रो हुन्छन् । सुकेका फलहरू जस्तै खुर्पानी, हरिया पात भएका तरकारीहरू जस्तै पालक, गेडागुडी तथा अन्नहरू जस्तै: मुसुरो, सिमी, जौ, गहुँ, मकै आदिमा फाइबर धेरै हुन्छ ।
स्याउ, बेरीहरू, सुकेका फलहरू, नट्स वा मकैहरू खान सकिन्छ । फरक–फरक प्रकारका फाइबरले फरक–फरक फाइदा दिन्छन् त्यसैले फरक-फरक खानेकुरा खानु जरुरी हुन्छ ।
२.पानी बढी पिउने
पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, किनकि यसले मिर्गौला र कलेजोलाई फोहोर बाहिर निकाल्न सहयोग गर्छ । उदाहरणका लागि, मिर्गौलाले पानीको प्रयोग गरेर सोडियम र युरिया जस्ता टक्सिनहरूलाई बाहिर निकाल्छ । यदि पानी कमी भयो भने शरीरमा फोहोर जम्मा हुन थाल्छ ।
लामो समयसम्म शरीरमा पानीको कमी भएमा मिर्गौलाको सफाइ गर्ने क्षमता घटाउँछ र मिर्गौलामा क्षति पुग्न सक्छ । पर्याप्त पानी पिउँदा मिर्गौला लामो समयसम्म सुरक्षित रहन्छ । पानी बढी पिउँदा मिर्गौलामा पत्थरी हुने जोखिम कम हुन्छ ।
त्यसोभए, शरीरका लागि कति पानी पर्याप्त हुन्छ त ? धेरैजसो मानिसहरूका लागि दैनिक २.५ लिटरदेखि ३.७ लिटर पानी पर्याप्त हुन्छ । पानीबाहेक कम फ्याटको दूध र चिनी नभएका पेयहरू जस्तै चिया र कफी, सुप जस्ता कुराले पनि पानीको मात्रा पूर्ति गर्न सकिन्छ ।
३.फोक्सो सफा राख्ने
आजकल धेरै उत्पादनहरूले फोक्सो सफा गर्ने दाबी गर्छन्, केहीले त केही दिनमै सफा गर्ने पनि भन्छन् । अमेरिकन लङ एसोसिएसनले यस्ता कुरामा विश्वास नगर्न चेतावनी दिन्छ, किनकि यसमध्ये केही डिटक्स उपायहरू खतरनाक पनि हुन सक्छन् ।
फोक्सोको आफ्नै प्राकृतिक सफाइ क्षमता बढाउने केही तरिकाहरू छन् तर सबैभन्दा पहिले प्रदूषणबाट बच्नुपर्छ । यदि धूम्रपान गर्नुहुन्छ भने त्यो छोड्नु सबैभन्दा जरुरी काम हो ।
अमेरिकन लङ एसोसिएसनको सल्लाहअनुसार घरभित्रको हावा जति सफा राख्न सकिन्छ त्यति राम्रो हुन्छ । यसका लागि सुगन्ध भएका क्लिनिङ सरसफाइ सामग्री वा एयर फ्रेशनरबाट बच्नुपर्छ । मैनबत्ती, चिम्नी र प्राकृतिक ग्यासबाट आउने धुवाँबाट पनि टाढा रहनुपर्छ । धुलो र एलर्जी निम्त्याउने तत्वहरूबाट पनि टाढा रहनुपर्छ ।
कार्डियोभास्कुलर व्यायाम पनि फोक्सोको स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले वायुमार्ग सुन्निने समस्या घटाउँछ र सास फेर्ने मांसपेशीहरूको शक्ति तथा सहनशक्ति बढाउँछ । फोक्सोलाई प्रत्यक्ष मजबुत बनाउनका लागि पनि व्यायाम गर्न सकिन्छ, जसमा बाँसुरी, शहनाई जस्ता फुकेर बजाइने बाजा बजाउने सकिन्छ ।
४.राम्रो निद्रा
केही अनुसन्धानकर्ताहरूले यो सम्भावनाको खोजी गरिरहेका छन् निद्राको सफाइ प्रक्रियालाई जाग्रत अवस्थामा पनि गर्न सकिन्छ कि भनेर । यसका लागि ट्रान्सक्रेनियल रेडियोफ्रिक्वेन्सी ट्रीटमेन्ट जस्ता प्रविधिहरू प्रयोग भइरहेका छन्, जसमा पूरै दिमागमा रेडियो तरङ्गहरू पठाइन्छ ।
अन्य विशेषज्ञहरूको मत भने जीवनशैलीमा ध्यान दिएर निद्राको प्राकृतिक सफाइ प्रणालीलाई बलियो बनाउनु नै राम्रो हुन्छ भन्नेछ । केही अध्ययनहरूले दायाँ कोल्टे सुत्दा सेरेब्रोस्पाइनल फ्लुइडबाट टक्सिनहरूको सफाइ राम्रोसँग हुने देखाएका छन् । धेरै रक्सी सेवनले निद्रामा नराम्रो असर गर्छ भने नियमित व्यायामले निद्रा राम्रो बनाउँछ ।
५.निरन्तर व्यायाम
व्यायामबाट शरीरलाई टक्सिनहरूबाट मुक्त गर्न मद्दत गर्न सकिन्छ । तर पसिना बगाएर होइन । योगा, साउना वा तातो स्टुडियोमा वर्कआउट गर्ने कुरा अहिले निकै लोकप्रिय छ, तर पसिनासँगै शरीरबाट विषाक्त तत्त्वहरू बाहिर निस्कन्छ भन्ने दाबीमा वैज्ञानिकहरू शंका गर्छन् ।
पसिनामा मुख्य रूपमा पानी हुन्छ र यसको मुख्य काम शरीरको तापक्रम नियन्त्रण गर्नु र हामीलाई चिसो राख्नु हो । शरीरबाट टक्सिनहरू निकाल्ने मुख्य काम कलेजो र मिर्गौलाले गर्छन् । व्यायामले यी अंगहरूमा रक्तप्रवाह बढाउँछ र फोहोर छान्ने क्षमता बढाउँछ ।
अतिरिक्त बोसोले कलेजोको सफाइ क्षमता कमजोर बनाउँछ र व्यायामले यसलाई कम गर्न सकिन्छ । रक्सी पिउँदा फ्याटी लिभरको समस्या लामो समयसम्म कलेजोलाई हानि पुर्याउँछ । रेजिस्टेन्स ट्रेनिङ र एरोबिक व्यायामबाट कलेजोको बोसो कम हुन्छ ।
अर्को अध्ययनले लामो समयसम्म हाई–इन्टेन्सिटी इन्टरभल ट्रेनिङ गर्दा वृद्धहरूमा मिर्गौलाको क्षमता घट्ने क्रम ढिलो हुने देखायो । किड्नी रिसर्च युकेका अनुसार छिटो हिँड्ने, पौडी खेल्ने र साइकल चलाउने मिर्गौलाको स्वास्थ्यका लागि सबैभन्दा राम्रा व्यायामहरू हुन् । बगैंचाको काम, घरको काम वा लिफ्टको सट्टा सिँढी चढ्नु पनि लाभदायक हुन्छ।
तर यी सबै उपाय र व्यवहारले तब मात्रै नतिजा दिन्छन्, जब यसलाई लामो समयसम्म पालना गरिन्छ ।
बीबीसीबाट
प्रतिक्रिया 4