+
+
Shares

कांग्रेस विभाजनमा ओलीको प्रश्न- कसले गराइरहेछ यो काम ?

‘विशेष महाधिवेशन किन भनेको ? नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिवेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि ?’ उनले प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १७:००

२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनमा पुग्नु मुलुकको लोकतन्त्रको लागि चिन्ताको विषय भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै ओलीले विशेष महाधिवेशन भनेर पार्टीको विधानलाई लत्याएर सडकबाट बहुमत पुर्‍याउने कुराले मुलुकमा लोकतन्त्र र सिंगो समाजलाई नै अराजकतातर्फ डोहोर्‍याउने प्रपञ्च रचिएको जिकिर समेत गरे ।

‘विशेष महाधिवेशन किन भनेको ? नेपाली कांग्रेसले महाधिवेशन नगरेर विशेष महाधिवेशन किन भनेको ? ४, ५ वर्ष कार्यकाल सकिएर महाधिवेशनको मिति तोकिएको थियो । कसले बोलाउने भन्ने पनि त थिति होला नि ?’ उनले प्रश्न गरे ।

ओलीले अगाडि थपे, ‘बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि ? बहुमत, अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ? कसैले सडकमा बहुमत पुर्‍याए भनेर भनेको भरमा बहुमत पुग्यो कि पुगेन ?’

ओलीले शान्ति, सुशासन र मुलुकको लोकतन्त्रका लागि सानातिना असन्तुष्टिलाई थाँती राखेर एकताबद्ध भएर अघि बढ्न पार्टी पंक्तिलाई समेत सचेत गराए ।

‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुःखद कुरा हो नेपालको डेमोक्रेसीका लागि । नेपाली कांग्रेसका नेताहरू जानीबुझी यो सब काम किन गरिरहेका छन ? म आश्चर्य चकित भएको छु,’ उनले भने, ‘हामी चिन्तित छौं ।’

कांग्रेस विशेष महाधिवेशनविरुद्ध तर्क गरेका ओलीले संविधान मिचिएको बेला कांग्रेस आपसी लडाइँमा अल्मलिएको टिप्पणी गरे । ‘नेपाली कांग्रेस यस्तो बेलामा जतिबेला डेमोक्रेसी कुल्चिएको छ, मिचिएको छ । प्रणाली घायल बनाइएको छ । संविधान मिचिएको छ,’ उनले भने, ‘यस्तो बेलामा यसका निम्ति लडनुपर्ने नेपाली कांग्रेस अनावश्यक आपसी लडाई गरेर पार्टी फुटने, फुटाउने स्थितिमा पुगेको छ ।’

उनले प्रश्न गरे, ‘नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई चिन्ता हुनुपर्ने विषय होइन यो ? कसले गराउँदै छ यी काम ? किन हुँदैछन यस्ता कुरा ?’

कांग्रेसको विभाजन देखाउँदै उनले एमाले पंक्तिलाई भने, ‘कुनै सानातिना असन्तुष्टि मनमा छन् भने छोडिदिनुस् । अहिले असन्तुष्टि संकलन गरेर, चाङ लगाएर हिँडने बेला होइन, अहिले देश र लोकतन्त्रका लागि लड्ने बेला हो ।’

ओलीले थपे, ‘यतिबेला हामीले सानातिना कुरा मनराखेर चित्त बुखाएर असन्तुष्ट भएर होइन, दिल खोलेर हामी देशका लागि लड्ने, जनताका लागि लड्ने, लोकतन्त्रका लागि लड्ने, शान्ति, सुशासन र विकासका लागि लड्ने पार्टी सबै कुरा छोडेर यसका निम्ति लड्दछौं ।’

लोकतन्त्रको हुर्मत लिइएको भन्दै यस्तोमा बौद्धिक जगतले पनि उपयुक्त भूमिका खेल्न नसकेको ओलीले टिप्पणी गरे । उनले प्रश्न गरे, ‘के लोकतन्त्र हामीलाई मात्रै चाहिएको छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?