News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलअन्तर्गत त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
- खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएको भए पनि सदुपयोग गर्न सकेनन्।
- बराबरीपछि आर्मी र प्लानिङ ब्वाइज दुवैको समान ४ अंक पुगेको छ।
६ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।
खेलको ३५औं मिनेटमा प्लानिङ ब्वाईजका एलेक्सले हानेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले पन्च गर्दै बचाएका थिए। ६५औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको हेडर प्लानिङ ब्वाइजका किपर योगेश धिमालले मुस्किलले रोके।
त्यसपछि ६९औं मिनेटमा प्लानिङ ब्वाईजका रोमन भुजेलको प्रहार क्रसबारमा लागेको थियो। ७९औं मिनेटमा आर्मीका जिलेस्पीजंग कार्कीले पेनाल्टी बक्सको लाइनबाट हानेको बल पनि बारमा लागेर फर्कियो।
खेलको अन्त्यतिर ८३औं मिनेटमा एलेक्सको क्रसमा रोमन भुजेलले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार फ्रेममा पर्न सकेन।
दुवै टोलीको प्रतियोगितामा पहिलो बराबरी हो। यसअघि आर्मीले आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ५–० ले पराजित गरेको थियो भने प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई हराएको थियो।
बराबरीपछि आर्मी र प्लानिङ ब्वाइज दुवैको समान ४ अंक पुगेको छ।
प्रतिक्रिया 4