८ माघ, स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति लिएर राखिएका निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचन शान्त, निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनबाट अनुमति प्राप्त सबै किसिमका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय स्याङ्जा, नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउनुपर्ने प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न यो निर्णय गरिएको हो । उनले शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
प्रशासनले तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने स्पष्ट पारेको छ । बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन र मापदण्डअनुसार नै हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले समयमै हातहतियार नबुझाएमा वा निर्देशनको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । साथै निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन नागरिक, राजनीतिक दल तथा सरोकारवाला सबैलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरिएको छ ।
प्रतिक्रिया 4