+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १३:१५

८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् ।  महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए । ‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ,’ उनले अनलाइनखबरसँग भने ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे ।

थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसेले भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौं ।’

उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौंमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।

पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अन्य दलले पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर होमिएका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

कांग्रेसमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि शेरबहादुर देउवा सहितले असहमति जनाएका थिए । निवर्तमान सभापति देउवा समूहका नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरेको बताए पनि सभापति गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर धमाधम उम्मेदवारी दिएका छन् ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्चमा रिट समेत दायर गरेको छ । सर्वोच्चले उनीहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

विशेष महाधिवेशनबाट गगन थापासहितको कार्यसमिति निर्वाचित भएपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अरुलाई प्रवेश नदिने भन्दै त्यहीं बसेका थिए ।

अहिले भने उनीहरूले केन्द्रीय कार्यालय छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?