९ माघ, काठमाडौं । नेपाली कांग्रेसले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि आसन्न निर्वाचनमा सभापति गगनकुमार थापालाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको जनाएको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बस्न लागेको बैठकमा सहभागी हुन सानेपा पुगेका महामन्त्री प्रदीप पौडेलले सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाउनुको कारण खुलाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘नेपालभित्र सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि यो निर्वाचनमा हामीले नेपाली कांग्रेसको सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेका छौं,’ उनले सञ्चारकर्मीहरूसँग भने ।
मधेश प्रदेशलाई देशको जगका रूपम व्याख्या गर्दै महामन्त्री पौडेलले सभापति थापालाई मधेशमा उभ्याएर कांग्रेसले देश निर्माण गर्न चाहेको पनि जिकिर गरे ।
‘नेपालको जग मधेश हो । हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौं,’ उनले भने, ‘मधेशको जगबाट नेपालको घर निर्माण गर्न चाहन्छौं ।’
सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर फर्किएपछि देश नयाँ संकल्पका साथ अगाडि बढ्ने महामन्त्री पौडेलको भनाइ थियो ।
महामन्त्री पौडेलले मधेशका मुद्दाबारे ध्यान आकृष्ट हुने परिस्थिति बन्ने विश्वासका आधारमा सभापति थापालाई मधेशबाट उम्मेदवार बनाएको पनि बताए ।
‘यसले मलाई लाग्छ देशलाई एकीकृत गर्न मद्दत गर्ने छ । नयाँ भावनाको सिर्जन गर्ने छ। मधेशको महत्वलाई अझ बढी स्थापित गर्ने छ,’ उनले भने, ‘मधेशका मुद्दाहरूलाई अझ बढी प्रष्ट पार्ने, प्राथमिकताम राख्ने र मधेशका मुद्दाबारे ध्यानआकृष्ट हुने परिस्थिति बन्छ भन्ने विश्वासका आधारमा हामीले हाम्रो सभापतिलाई मधेशबाट उम्मेदवार बनाएका हौं ।’
प्रतिक्रिया 4