१२ माघ, काठमाडौँ। कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (केएआईएसटी) का अनुसन्धानकर्ताहरूले करिब एक सेकेन्डमै गम्भीर रक्तस्राव रोक्न सक्ने अर्को पुस्ताको ‘हेमोस्टेटिक एजेन्ट’ (रक्तस्राव रोक्ने तत्व) विकास गरेको घोषणा गरेका छन्।
‘एडभान्स्ड फसनल मटेरियल्स’ जर्नलमा विस्तृत रूपमा प्रकाशित यो आविस्कारलाई युद्धमैदान र नागरिक आपत्कालीन उपचार दुवैका लागि जीवन बचाउने प्रविधिमा एक ठूलो फड्को भनिएको छ । यस परियोजनाको नेतृत्व सामग्री विज्ञान र इन्जिनियरिङ विभागका प्रोफेसर स्टिभ पार्क र जैविक विज्ञान विभागका प्रोफेसर साङयोङ जोनले गरेका थिए।
अनुसन्धान टोलीमा रिपब्लिक अफ कोरिया आर्मीका सक्रिय सैनिक अधिकारी र केएआईएसटीका पीएचडी विद्यार्थी मेजर क्युसुन पार्क पनि सामेल थिए। उनको सैन्य अनुभवले प्रयोगशालाको विज्ञान र वास्तविक युद्धमैदानको आवश्यकताबीचको खाडललाई कम गर्न मद्दत पुर्याएको छ।
रगत रोक्न प्रयोग गरिने परम्परागत उपचारहरू प्रायः प्याच-टाइप ड्रेसिङमा भर पर्छन्, जसले युद्ध वा औद्योगिक दुर्घटनामा हुने गहिरो घाउहरूमा राम्रोसँग काम गर्न सक्दैनन्।
हाल बजारमा उपलब्ध धेरै उत्पादनहरू ताप र ओसप्रति संवेदनशील हुन्छन्, जसका कारण तिनीहरूलाई युद्ध वा विपद् क्षेत्रमा भण्डारण गर्न गाह्रो हुन्छ।
यी समस्याहरू समाधान गर्न केएआईएसटी टोलीले ‘एजिसी’ पाउडर विकास गरेको हो। यसको नाम यसमा प्रयोग भएका तत्वहरू– अल्जिनेट, गेलान गम र चिटोसनको पहिलो अक्षरबाट राखिएको हो। शारीरिक रूपमा मात्र रगत सोस्ने पुराना पाउडरहरूभन्दा फरक, यो पाउडरले आयनिक प्रतिक्रियाको प्रयोग गर्दछ।
जब यो पाउडर रगतको सम्पर्कमा आउँछ, यसले रगतमा हुने क्याल्सियम आयनहरूसँग तत्काल प्रतिक्रिया गरी एक बलियो ‘हाइड्रोजेल’ निर्माण गर्दछ।
यो द्रुत प्रतिक्रियाले गर्दा पाउडर लगाइएको एक सेकेन्डभित्रै घाउ बन्द हुन्छ। यस पाउडरको बनावट अत्यन्तै सोस्ने खालको छ, जसले आफ्नो तौलभन्दा ७ गुणा बढी (७२५ प्रतिशत) रगत सोस्न सक्छ।
अनुसन्धानमा सुरक्षा र दीर्घकालीन रूपमा निको हुने प्रक्रियालाई मुख्य प्राथमिकता दिइएको छ। पूर्ण रूपमा प्राकृतिक र जैविक सामग्रीबाट बनेको हुनाले यस पाउडरको ‘सेल भायबिलिटी रेट’ ९९ प्रतिशतभन्दा बढी छ र यसले ९९.९ प्रतिशतसम्म एन्टिब्याक्टेरियल प्रभाव देखाउँछ।
कलेजोमा गम्भीर चोट लागेका जनावरहरूमा गरिएको परीक्षणमा यस पाउडरले हाल बजारमा उपलब्ध अन्य उत्पादनहरूभन्दा उत्कृष्ट नतिजा देखाएको छ। यसले रगत रोक्ने समय र रगतको क्षतिलाई घटाउनुका साथै कलेजोको कार्यक्षमतालाई दुई हप्ताभित्रै सामान्य अवस्थामा फर्काएको पाइएको छ।
अनुसन्धानले यो पाउडरले घाउ भएको ठाउँमा नयाँ रक्तनली र कोलाजेनको विकासलाई प्रोत्साहन गरी तन्तुहरूको पुनर्जन्ममा मद्दत गर्ने पनि देखाएको छ।
यो प्रविधिको व्यावहारिक प्रयोगको तयारी नै यसको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। मेजर क्युसुन पार्कले आधुनिक युद्धको मुख्य लक्ष्य ‘मानवीय क्षतिलाई कम गर्नु’ भएको बताएका छन्। यही लक्ष्यका साथ विकास गरिएको यो उत्पादन कोठाको तापक्रम र बढी ओस भएको वातावरणमा पनि दुई वर्षसम्म खराब हुँदैन।
यस आविष्कारले २०२५ केएआईएसटी क्यू-डे राष्ट्रपति पुरस्कार र २०२४ केएआईएसटी-केएनडीयू राष्ट्रिय रक्षा एकेडेमिक सम्मेलनमा पुरस्कार समेत प्राप्त गरिसकेको छ। सुरुमा रक्षा प्रयोजनका लागि डिजाइन गरिएको भए तापनि अनुसन्धान टोलीले यसलाई नागरिक क्षेत्रमा पनि ठूलो सम्भावना भएको प्रविधिको रूपमा हेरेको छ।
यसले शल्यक्रिया कक्ष, आपत्कालीन विभाग र स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम क्षेत्रहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4