१३ माघ, काठमाडौं । विश्व बैंकले सार्वजनिक गरेको ‘वेस्ट म्यानेजमेन्ट इन द मिडल इस्ट एण्ड नर्थ अफ्रिका’ नामक नयाँ प्रतिवेदनले मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा बढ्दो फोहोर उत्पादनप्रति गम्भीर चेतावनी दिएको छ।
प्रतिवेदनका अनुसार यस क्षेत्रले विश्वव्यापी औसतभन्दा बढी फोहोर उत्पादन गरिरहेको छ, जसले प्रत्येक वर्ष करिब ७.२ अर्ब अमेरिकी डलर बराबरको वातावरणीय क्षति भइरहेको छ।
हाल यस क्षेत्रमा वार्षिक १५.५ करोड टन फोहोर उत्पादन हुने गर्दछ। यदि वर्तमान अवस्थामा सुधार नआएमा सन् २०५० सम्ममा यो परिमाण दोब्बर पुग्ने प्रक्षेपण गरिएको छ। फोहोरको यो बढ्दो थुप्रोले जनस्वास्थ्य र वातावरणलाई मात्र नभई यस क्षेत्रको मुख्य आर्थिक मेरुदण्ड मानिने पर्यटन उद्योगलाई समेत संकटमा पारेको छ।
यस क्षेत्रमा ८० प्रतिशत फोहोर संकलन गरिए पनि त्यसको उचित व्यवस्थापन र पुन:प्रयोगको अवस्था भने दयनीय छ। संकलित फोहोरमध्ये १० प्रतिशतभन्दा कम मात्र ‘रिसाइकल’ गरिन्छ भने दुई-तिहाइभन्दा बढी फोहोर अव्यवस्थित रूपमा
फालिन्छ।
यस कारण वायु, माटो र जल प्रदूषण तीव्र गतिमा बढिरहेको छ। समुद्री प्रदूषण, विशेषगरी प्लास्टिक चुहावटमा यो क्षेत्र विश्वकै अग्रपंक्तिमा छ। भूमध्य सागर विश्वकै सबैभन्दा प्रदूषित समुद्रमध्ये एक बन्न पुगेको छ।
विश्व बैंकका निर्देशक अलमुड वेट्जले सहरहरूलाई विकासको केन्द्र बनाइराख्न फोहोर व्यवस्थापन सेवामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। अर्का निर्देशक मेस्की बर्हानेका अनुसार, फोहोर उत्पादनमा मात्र १ प्रतिशत मात्र कटौती गर्दा पनि यस क्षेत्रले वार्षिक १५ करोड डलर जोगाउन सक्छ।
प्रतिवेदनका अनुसार संकलित फोहोरको झन्डै ८३ प्रतिशत भागलाई पुन:प्रयोग गर्न वा ऊर्जा उत्पादनमा लगाउन सकिन्छ। यसरी फोहोरलाई स्रोतको रूपमा उपयोग गर्दा वातावरणीय रक्षा मात्र नभई नयाँ रोजगारीका अवसरहरू समेत सिर्जना हुने र दिगो आर्थिक विकासमा मद्दत पुग्ने देखिन्छ।
(विश्व बैंकको प्रतिवेदनमा आधारित)
प्रतिक्रिया 4