News Summary
Generated by OK AI. Editorially reviewed.- खुम्बु ल्होसार कपको १५औं संस्करण माघ २४ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ।
- प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् र प्रथम हुने टिमलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
- खेलहरू काठमाडौंको एन्फा कम्प्लेक्स फुटबल मैदानमा आयोजना हुनेछन् ।
१३ माघ, काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कपको १५औं संस्करण यही माघ २४ गतेदेखि सुरु हुने भएको छ।
शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) को अवसर पारेर विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताको १५औँ संस्करण महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम ले आयोजना गर्न लागेको हो।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिँदै यसको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रूचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु रहेको बताए।
यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको खुम्बु ल्होसार कपको १५औं संस्करण यसपटक माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा हुनेछन्। हाल सहभागी टिमहरूले प्रशिक्षण सुरु गरिसकेको आयोजकले जनाएको छ।
‘खुम्बुमा अहिले चिसो माैसम जाडोले कारणले धेरै जसो काठमाडौंमा छन् सबै जना । त्यसैले काठमाडाैँमा एन्फामा गर्न लागेको हो यो पटक’ अध्यक्ष शेर्पाले भने ।
प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। सहभागी टोलीहरूमा महेन्द्र ज्योति एक्स-स्टुडेन्ट फोरम, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ क्लब, खुन्दे कम्युनिटी क्लब, ठमिछोवा फुटबल क्लब, अमादब्लाम युथ ग्रुप, खुम्बु याम्बु शेर्पा समाज र गाउँपालिकाभरिका वरिष्ठ खेलाडी समेटिएको खुम्बु युनाइटेड टिम छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ८० हजार र तेस्रो हुने टिमलाई ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताका दौरान नेपाली महिला राष्ट्रिय टिमकी सदस्य प्रीति राईलाई सम्मान पनि गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । प्रीति सोलुखुम्बुकै हुन् ।
प्रतियोगिताले खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ। ल्होसार पर्व र फुटबल उत्सव एकसाथ मनाइने यो प्रतियोगिता युवाहरू र समुदायलाई जोड्ने साझा उत्सवका रूपमा स्थापित भइसकेको बताइएको छ ।
शेर्पाका अनुसार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए। प्रतियोगिताले फुटबल अभ्यासलाई प्रोत्साहन गर्नुका साथै प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
ल्होसार पर्वको अवसरमा आयोजना हुँदै आएको खुम्बु ल्होसार कप युवा पुस्ता मात्र होइन, सम्पूर्ण समुदायका लागि साझा सांस्कृतिक तथा खेलकुद उत्सवको रूपमा विकसित हुँदै आएको अध्यक्ष शेर्पाले बताए। सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता यसअघि सानो गाउँचेन मैदानमा हुँदै आएको थियो। तर विभिन्न कारणले सन् २०२५ मा प्रतियोगिता आयोजना हुन सकेन। त्यसैले सन् २०२६ मा खुम्बु ल्होसार कप एन्फा मैदानमा आयोजना गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
खुम्बु ल्होसार कप–२०२६ को शीर्ष प्रायोजकका रूपमा १४ पिक्स एक्सपेडिसन प्रा.लि. रहेको छ भने सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङल्हामु गाउँपालिका रहेका छन्। यसका साथै अन्य विभिन्न प्रायोजकहरूको समेत सहयोग रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको अनुमानित बजेट ६५ लाख रहेको छ । खुम्जुङ युथ क्लब प्रतियोगिताको पछिल्लो पटकको विजेता टोली हो ।
प्रतिक्रिया 4