१४ माघ, पाँचथर । सदरमुकाम फिदिमबाट तीन घण्टाको कच्ची सडक छिचोल्दै अघि बढेपछि एउटा यस्तो संसार भेटिन्छ, जहाँ प्रकृतिले आफ्ना सबै रङहरू पोखेको छ । फालेलुङ गाउँपालिका-५ मा अवस्थित भैँसे, चारराते र झण्डा पोखरी क्षेत्र अहिले पर्यटकका लागि आकर्षक गन्तव्य सावित हुँदैछन् ।
भैँसे पुग्दा लाग्छ, यहाँ हिउँ परेको छ । तर, यो हिउँ नभई बाक्लो तुसारो हो जसले जमिनलाई छपक्कै छोपेको हुन्छ । यहाँबाट सुरु हुन्छ– गुराँसको वन, फराकिला चउर र उच्च पहाडी क्षेत्रको असली रोमाञ्च ।
झण्डा पोखरी पुग्दा एउटा अद्भूत दृश्य देखिन्छ । पोखरीको पानी हिउँझैँ जमेको छ । पर्यटकहरू पोखरीमा जमेको ‘सिसा’ जस्तो बरफ उक्काउँदै रमाएको देख्न सकिन्छ । यहाँका खोल्साखोल्सीहरू साना हिमालय जस्तै सेता देखिन्छन् ।
झण्डा पोखरीबाट १० मिनेटको दूरीमा रहेको चारराते पुगेपछि आँखै अगाडि हिमालको ताँती देखिन्छ । उत्तर-पूर्वमा कञ्चनजङ्घा र फक्ताङ्लुङ (कुम्भकर्ण) देखिन्छ भने उत्तर–पश्चिममा सगरमाथा र मकालु ।
यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ ।

अहिले गोठको सिजन नभएकाले लेकाली गोठहरू सुनसान छन् । तिम्बुङ पोखरीतिरबाट याक र चौँरीहरू चिसो छल्न तल झरेका छन् । नयाँ वर्षमा यहाँ ‘चौँरी महोत्सव’ लाग्छ, जसले यो क्षेत्रको पर्यटनलाई विश्वभर चिनाइरहेको छ ।
भारतको कोलकाताबाट आएकी पर्यटक सहेली चौधरी भन्छिन्, ‘यो मेरो तेस्रो भ्रमण हो । यहाँको शान्ति र सुन्दरताले मलाई पटक–पटक तान्छ ।’
सन्दकपुरबाट मात्र ६ किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा नेपाल र भारत दुवैतर्फका पर्यटकहरूको ओइरो लाग्ने गरेको छ ।
यस क्षेत्रका मुख्य आकर्षणहरू दुर्लभ हाब्रे (रेड पाण्डा) पाइने जंगल, जलजले पोखरी, होमस्टे र नजिकैबाट देख्न पाइने हिमाल हुन् ।
जलजले पोखरी स्थिर र आकर्षक छ जहाँ प्रकृतिको प्रतिबिम्ब देखिन्छ । अनि भैँसे र चाररातेमा स्थानीय स्वाद र सत्कार पाइने होमस्टेहरूको व्यवस्था छन् ।
सबै तस्वीरहरु : गिरिराज बास्कोटा/अनलाइनखबर






प्रतिक्रिया 4