News Summary
Generated by OK AI. Editorially reviewed.- दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई ४० हजार रुपैयाँसहित सम्मान गरेको छ।
- बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरिन्।
- १२औं एक्सेल्सियर कप प्रतियोगितामा ८२ टिम सहभागी छन् र माघ २३ गतेसम्म सञ्चालन हुनेछ।
१४ माघ, काठमाडौं । दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित सम्मान गरिएको हो ।
बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, एक्सेल्सियरकी अध्यक्ष शीतल राणा र एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले रेखालाई सम्मान पत्र, मायाको चिनो र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
नेपाली महिला फुटबल खेलको विकास, सशक्तिकरण र राष्ट्रिय पहिचान स्थापित गर्न रेखाले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको उल्लेख छ ।
प्रतियोगिताको सिनियर गर्ल्स बास्केटबलमा आयोजक एक्सेल्सियर र रिब्सले विजयी सुरुआत गरेका छन् । एक्सेल्सियरले ह्वाइटफिल्डलाई १४–७ ले पराजित गर्यो । एक्सेल्सियरको जितमा अकिना घिमिरेले १२ अंक योगदान गरिन् । सुप्रिया मल्लको १२ अंक सहयोगमा रिब्सले द चाँदबाग स्कुललाई २२–१२ ले हरायो ।
त्यस्तै ब्वाइज फुटसलको यू–११ मा बोधीवृक्षले बोधीसत्वलाई ५–०, लाइफ स्कुलले बोधीवृक्षलाई ११–० र एक्सेल्सियर (ब्लु) ले बाल दीक्षा सदनलाई १–० गोलले पराजित गरे ।
यू–१३ मा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई ४–० र रिब्सलाई ३–१ तथा रिब्सले बाल दीक्षा सदनलाई ४–२ गोलले हराए ।
स्वयम्भुस्थित आयोजकै हातामा भइरहेको प्रतियोगिताको यु–१६ मा बोधीसत्वले संस्कृतिलाई ३–० तथा एक्सेल्सियर (यल्लो) ले बाल दीक्षा सदनलाई १–० गोलले पाखा लगाए ।
माघ २३ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिम गरी ८२ टिम सहभागी छन् ।
प्रतिक्रिया 4